देउवा पक्षले पनि गर्यो जिल्ला सभापति भेला, भदौमै महाधिवेशन गर्न माग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले पनि जिल्ला सभापतिहरूको भेला गरेको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार र मंगलबार जिल्ला सभापति भेला गरेका थिए।
उक्त भेलापछि सभापति देउवा पक्षले पनि आफूनिकटका जिल्ला सभापति भेला गरेका हुन्।
बिहीबार देउवा पक्षको ललितपुरमा भेला भएको हो।
भेलामा सहभागी रहेका भक्तपुर कांग्रेस सभापति दुर्लभ थापाले महाधिवेशन सकेसम्म भदौमै गर्न सभापति देउवालाई सुझाव दिइने बताए।
‘काठमाडौंमा उपलब्ध भएका जिल्ला सभापतिहरूबीच छलफल गरेका हौं,’ सभापति थापाले भने, ‘केन्द्रीय सभापतिलाई भदौभित्रै महाधिवेशन गर्न सुझाव दिने तयारी छ।’
भौतिक रूपमा १८ जना सभापतिहरू छलफलमा सहभागी छन्। भर्चुअल रूपमा पनि जिल्ला सभापतिहरूले छलफलमा भाग लिएका थिए। देउवा पक्षका २७ जना सभापतिहरूले आज भेला गरेका हुन्।
उनीहरूले वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षका जिल्ला सभापतिहरूको भेला पटकपटक गरेकोमा आपत्ति पनि जनाएका छन्।
‘केन्द्रीय समितिमा सभापति देउवादेखि वरिष्ठ नेता र महामन्त्रीहरू नै भेट हुन्छ त्यही कुरा राखे हुन्छ नि किन जिल्ला सभापतिको भेला गरेर त्यहाँ वरिष्ठ नेताहरू जाने?,’ उनले प्रश्न गरे।
सभापतिका भेलाहरूमा गएर नेताले बोल्नुको अर्थ नहुने बरू केन्द्रीय समिति बैठकमै कुरा गर्न उनले सुझाव दिएका छन्।
पार्टीको १४ औं अधिवेशन समयमै गर्न बरू वातावरण बनाउन आफूहरूले सहयोग गर्ने कुरा सभापति देउवालाई जानकारी गराउने पनि उनले बताए।
कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भने पनि सार्ने संकेत गरेको छ। आज बूढानिलकण्ठस्थित सभापति देउवाको निवासमा केन्द्रीय समिति बैठक महाधिवेशन केन्द्रित छलफल गर्न बस्दैछ।