पहिरोले क्षति भएको सडक नबन्दा तातोपानी भन्सारले नष्ट गर्दैछ चीनबाट आएको ६१ हजार किलो स्याउ

पहिरोले क्षति भएको सडक नबन्दा तातोपानी भन्सारले नष्ट गर्दैछ चीनबाट आएको ६१ हजार किलो स्याउ
तातोपानी भन्सार क्षेत्रभित्र प्रवेश पाए पनि बाटो बिग्रेका कारण सवारीसाधन रोकिएका छन्।
असार २ गते बाढी-पहिरोले क्षतिग्रस्त बनाएको बाटो र पुल नबन्दा झन्डै डेढ महिनादेखि भन्सार संकलन प्रभावित भएको हो।
चीनबाट नेपाल प्रवेश भइसकेको ठूलो मात्रामा मेडिकल सामग्री, अक्सिजन प्लान्ट, हाइड्रो मेसिनरीलगायत बाटोमै रोकिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ।
भन्सार प्रमुख नारद गौतमका अनुसार कोदारीमा पहिरोले सडक क्षतिग्रस्त बनाएको छ। लिपिङ पुल बाढीले क्षतिग्रस्त बनाए पनि बनिसकेको छैन।
कोदारीमा सडकको ट्रयाक खोलिए पनि मालवाहक गाडी पास हुन सकेका छैनन्। यसैगरी, लिपिङमा त क्रेनको सहायताले सामग्री ल्याउनु परिरहेको छ।
‘अक्सिजन प्लान्ट चीनबाट आएर रोकिएका छन्, प्लान्ट क्रेनबाट यता ल्याउन सम्भव पनि छैन,’ गौतमले भने।
चीनले रसुवातर्फबाट ‘डाइभर्ट’ गरी सामान पठाइरहेकोमा अहिले भने तातोपानी नाकातर्फ पठाइदिएको छ।
‘चीनबाट हाम्रो भन्सार क्षेत्रभित्र प्रवेश गरे पनि बाटो र पुल नबन्दा भन्सारसम्म आइपुगेर जाँचपास दिन सकिएको छैन,’ गौतमले सेतोपाटीसँग भने।
कोरोनाको तेस्रो लहर आउने जोखिम बढिरहेका बेला मेडिकल सामग्री र अक्सिजन प्लान्ट रोकिने अवस्था आएको छ। तातोपानी छिरिसकेका गाडी उता फर्काउन पनि नसकिने भएकाले बाटो र पुल तुरुन्तै मर्मत नभए सामग्री त्यहीँ रोकिइरहने सम्भावना बढी छ।
चीनबाट भन्सार जाँचपास भएको सात कन्टेनर स्याउ कुहिएको छ। ती कन्टेनरमा आएको ६१ हजार किलो स्याउ भन्सारले बुधबार नष्ट गर्दैछ। तर, सडक विभाग समस्या देखाएर बाटो बनाउन नसकेको तर्क गरिरहेको छ।
सडक विभागले पहिरो गएको ठाउँ जोखिमपूर्ण रहेकाले हेभी मेसिन लगाएर काम गर्न नसकेको बताउँदै आएको छ।
‘ठूलो जनशक्ति पनि खटाउन सकिएको छैन, हामीले काम गरिरहेका छौं,’ विभागका महानिर्देशक अर्जुनजंग थापा भन्छन्, ‘हाम्रो जनशक्तिले काम गरिरहेको छ, कहिलेसम्म सकिन्छ भनेर भन्न सकिँदैन।’
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले सडक विभागले एक महिनादेखि बाटो र पुल बनाइरहेको बताए। पानी परिरहेकाले र जोखिमपूर्ण ठाउँ भएकाले बाटो बनाउन कठिन भएको विभागले बताइरहेको पोखरेलले जनाए।
‘लामो समयदेखि सडक नबन्दा मेडिकल सामग्री, अक्सिजन प्लान्ट, हाइड्रो मेसिनरी, स्याउलगायतको आयात रोकिएको छ। बाटो बन्ने आशमा छौं,’ भन्सार प्रमुख गौतमले भने।
कोदारीमा करिब ५० मिटर बाटो पहिरोले बगाएको थियो। लिपिङको पुलमा करिब १० मिटर क्षति भएको छ।