Mar 30, 2023

गृहमन्त्री थापाको सांसदसँगै गुम्यो मन्त्री पद

Apr 18 , 2021

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद गुमेको छ।

नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गरेका हुन्। तिमिल्सिनाको निर्णयपछि संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ।

थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए। अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा थापाले एमाले रोजेका थिए।

थापाको पद गुमेपछि अब उनले पुन: मन्त्री बन्न संविधानअनुसार सपथ लिनुपर्छ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका प्रतिनिधि सभाका सांसदहरूको पद पनि खारेज भएको थियो।

मन्त्रीसमेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको हो। सांसद पद गुमेपछि प्रधानमन्त्री ओलीले उनीहरूलाई फेरि ६ महिनाका लागि मन्त्री बनाएका छन्।

२०७४ मा राष्ट्रिय सभा सदस्य बनेका थापाको कार्यकाल ६ वर्ष थियो। चिठ्ठा तान्दा उनको कार्यकाल ६ वर्ष परेको थियो। ओलीतिर लागेको भनेर पार्टीले कारबाही गरेपछि उनको राष्ट्रिय सभा सदस्य तीन वर्षमै सकिएको छ।