किसान र उपभोक्ताका लागि मोबाइल एपमै निःशुल्क ‘हाट-बजार’

तपाईं आफ्ना कृषिजन्य उत्पादन नबिकेर चिन्तित हुनुहुन्छ? या कृषि फर्म खोल्न जग्गा, खेती गर्न चाहिने मेसिन खोजिरहनुभएको छ? ताजा फलफूल-तरकारी सस्तोमा कता पाइन्छ भनेर अलमल हुनुहुन्छ कि?
किसान र उपभोक्ताका रूपमा यस्तै समस्या छन् भने तपाईंले यसको समाधान मोबाइल एप ‘हाट-बजार’ मा पाउन सक्नुहुनेछ।
ट्राभहिल डट कमका सञ्चालक द्रोण श्रेष्ठ र विश्व खनालले हालै यो एप सञ्चालनमा ल्याएका हुन्। कृषि उत्पादन खरिद–बिक्री हुने यो एपले किसान र उपभोक्ताबीच पुलको काम गर्ने कम्पनीको भनाइ छ।
लकडाउनमा बजार बन्द हुँदा किसान र उपभोक्तालाई परेको समस्याले यो एपको आइडिया फुरेको हो। कम्पनीका पब्लिक रिलेसन अफिसर सुजल श्रेष्ठका अनुसार किसानलाई इ-कमर्श प्लेटफर्ममा जोड्ने उद्देश्यले एप सञ्चालनमा ल्याइएको हो।
‘लकडाउनमा सबै बजार बन्द भयो। किसानले उचित मूल्य पाएनन्। इ-कमर्श व्यवसायी भने फस्टाए। अबको डिजिटल युगमा किसानलाई पनि इ-कमर्शमा किन नजोड्ने भनेर एप सञ्चालनमा ल्याएका हौं,’ उनले भने।
सुजलका अनुसार हाट-बजार एप एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममा उपलब्ध छ र निःशुल्क डाउनलोड गरी चलाउन सकिन्छ। डाउनलोड गरिसकेपछि प्रयोगकर्ताले एपमार्फत् सामान किन्न वा बेच्न परे ‘युजर लगइन’ गर्नुपर्छ। प्रयोगकर्तालाई सहज होस् भनेर मोबाइल नम्बरबाटै लगइन गर्न मिल्ने बनाइएको सुजलले बताए। थप बुझ्न यसको वेबसाइट हेर्न सकिन्छ।
यो एपमा किसान र उपभोक्ता मात्रै होइन, व्यापारी पनि जोडिन सक्छन्।
‘कुनै किसानको उत्पादन धेरै हुन्छ। उपभोक्ताले किसानका सबै उत्पादन किन्न सक्दैनन्। त्यही भएर व्यापारीलाई पनि हामीले यसमा जोडेका छौं,’ उनले भने, ‘धेरै परिमाणमा सामान चाहिने व्यापारीले पनि एप्लिकेसनबाट किन्न सक्छन्।’
एपबाट एउटा जिल्लाको सामान अर्को जिल्लामा किनबेच गर्न सम्भव छ त?
यसका लागि एपमा प्रदेशअनुसार सामान किन्न तथा बेच्न सकिने सुविधा राखिएको छ।
‘अहिले सातै प्रदेशअनुसार मिलाएर राखिएको छ। आफूलाई पायक पर्ने प्रदेशमा सामान किनबेच गर्न सकिन्छ,’ सुजलले भने, ‘पछि यसलाई स्थानीय तह अनुसार राख्ने योजना बनाएका छौं।’
यो एपमा सामान बेच्न राख्दा पैसा तिर्नु पर्दैन। किसानले निःशुल्क आफ्नो सामानको प्रचार गर्न पाउँछन् भने उपभोक्ताले किन्न सक्छन्। किसानले आफ्ना उत्पादन बजारका हाटमा जसरी बेच्न राख्छन्, त्यसैगरी यो एपमा बिक्रीका लागि राख्न सकिने उनले बताए।
‘किसानले मात्र होइन, उपभोक्ताले पनि आफूलाई आवश्यक सामान सिधै किसान वा बिक्रेतासँग मोल–मोलाइ गरी किन्न सक्छन्,’ उनले भने।
एपमा किसान तथा बिक्रेताले आफ्नो सामानको मूल्य आफैं तोक्न मिल्ने सुविधा छ। कृषिजन्य उत्पादनको फोटो, मूल्य, पाइने स्थान, सामानका गुण, डेलिभरी सुविधा आदि प्रस्ट खुलाइ प्रचार गर्न सकिने उनले बताए।
‘यसरी किसानले बिक्रीमा राखेका सामान क्रेताले आफूलाई आवश्यक गुणस्तर हेरी मोलमोलाइ गरेर उचित लागे सिधै किसानबाटै लिन सक्छन्,’ उनले भने।
उनले एपको विशेषताबारे थपे, ‘किसानले आफ्नो उत्पादन जस्तै, धान, मकै, गहुँ, तरकारी, फलफूल, मरमसला, मासु, पशुपन्छी, माछा, बिउ, घरेलु उत्पादन, नर्सरी, कृषि सामग्री र खेतीका लागी जग्गा भाडामा लिन वा दिन परेमा निःशुल्क यो एपमा राख्न सक्छन्।’
त्यस्तै कुन किसानले के सामान बेच्न राख्यो भन्नेबारे पनि सबै एप प्रयोगकर्तालाई नोटिफिकेसन जाने उनले बताए। यो एपले किसानका सामान छिटो बेच्न मद्दत पुग्ने कम्पनीको विश्वास छ।
‘जुम्लामा भएको स्याउ कसैले एपमा बेच्न राखे उक्त सूचना देशभरका एप प्रयोगकर्तामा पुग्छ। स्याउको उचित मूल्य पाउने तथा छिटो बिक्री हुने सम्भावना हुन्छ,’ उनले भने।
सुजलका अनुसार एप प्रयोगकर्ताहरूः किसान, उपभोक्ता वा व्यापारीले आफूलाई चाहिएको सामान माग समेत गर्न सक्छन्।
जस्तै कुनै किसानलाई भैंसी, तरकारी-फलफूल वा ट्रयाक्टर चाहियो भने एपमा ‘मलाई यो चिज यति चाहियो’ भनेर सामानको नाम, परिमाण, डेलिभरी सुविधा, मूल्य सबै सोध्न सक्छन्। यो एप माध्यमबाट प्रयोगकर्ताको समय र यातायात खर्च बचत हुने र व्यापार बढाउन सघाउने उनको भनाइ छ।
कसैलाई बीचमा कमिसन दिन नपर्ने भएकाले एपको भरपुर प्रयोग गरेर फाइदा लिन सकिने सुजल बताउँछन्, ‘कृषि क्षेत्रमा भित्रिएका प्रविधिबाट किसान र व्यापारी टाढा नबसी फाइदा लिन सक्छन्।’