Oct 22, 2021

भवानसिंहले श्रीमतीलाई एउटा मिर्गौला दिए, तर बचाउन सकेनन्

Apr 06 , 2021

अछाम, मंगलसेन नगरपालिका-११ का ४९ वर्षीय भवानसिंह रावल २२ वर्षअघि रोजगारका लागि भारत गएका थिए। आफन्तका अनुसार उनी भारतको महाराष्ट्रमा सेक्युरिटी गार्डको काम गर्थे।

भारत गएको एक वर्ष नपुग्दै उनी सवारी दुर्घटनामा परे। बायाँ खुट्टा काट्नुपर्‍यो। त्यसयता नेपाल फर्केर श्रीमती जानकी रावलको रेखदेखमा बसिरहेका थिए।

अपांगता भएका श्रीमान्, दुई छोरा र एक छोरीको दायित्व जानकीले एक्लै सम्हालिरहेकी थिइन्।

घरको आर्थिक अवस्था नाजुक बन्दै गएपछि जेठा छोरा तिलक पनि चार वर्षअघि कामको खोजीमा महाराष्ट्र गए। उनी त्यति बेला १० कक्षा पढ्थे।

बीस वर्ष श्रीमानको रेखदेख गरिरहेकी जानकीलाई आफू शारीरिक रूपमा गल्न थालेको पत्तै भएन। न परिवारका अन्य सदस्य र गाउँलेले जानकी अस्वस्थ भएको थाहा पाए।

दुई वर्षअघि हातखुट्टा डम्म सुन्निन थालेपछि बल्ल उनले जेठा छोरा तिलकलाई गुहारिन्।

तिलकले आमा जानकीलाई उपचार निम्ति महाराष्ट्रमै पुर्‍याए।

उपचार क्रममा थाहा भयो, जानकीका दुवै मिर्गौलाले काम गर्न छाडिसकेको रहेछन्।

जानकी नेपाल फर्किएर मिर्गौला उपचारमा धाउन थालिन्। उनको नियमित डायलासिस भेनस अस्पतालमा भइरहेको थियो। स्वास्थ्यमा अत्यन्तै समस्या देखिएपछि गत असारमा भक्तपुरको मिर्गौला प्रत्यारोपण केन्द्रमा उनको एउटा मिर्गौला झिकियो। तर, उनको स्वास्थ्यमा खासै सुधार आएन।

आमाको उपचारमा सहयोग हुन्छ भनेर कान्छा छोरा रमेश त्यही बेला रोजगारका लागि गुजरात गए। त्यसपछि उनको उपचारका लागि भतिजा धनबहादुर रावल धाउन थाले।

यसरी मिर्गौला फेल भएका बिरामीलाई स्वस्थ पार्ने उपाय डायलासिस होइन, मिर्गौला प्रत्यारोपण नै थियो।

प्रत्यारोपणका लागि धनबहादुरले दाता खोज्न थाले। जानकीकै ४९ वर्षीय श्रीमान् भवानसिंह श्रीमतीलाई मिर्गौला दिएर बचाउन कस्सिए।

यो गत चैत महिनाको कुरा थियो। त्यही बेला कोरोना महामारीका कारण मिर्गौला प्रत्यारोपण रोकियो।

‘जहिले भए पनि प्रत्यारोपण त गर्नु नै थियो, हामीले तयारी गरिरहेका थियौं,’ भतिजा धनबहादुरले भने, ‘अस्ति कात्तिक-मंसिरमै प्रत्यारोपण गर्न खोजियो। तर, कहिले के कहिले के भएर रोकियो।’

गत फागुन १० बाट भने जानकीलाई प्रत्यारोपण केन्द्रमै राखेर डायलासिस गरिँदै थियो। स्वास्थ्य जाँच गर्दै प्रत्यारोपणको अनुकूल समय मिलाउन थालिएको थियो।

‘एकपटक डायलासिस गरेको २५ सय रुपैयाँ खर्च गरेर केन्द्रमा राख्यौं,’ धनबहादुरले भने, ‘चिकित्सकले अनुकूल समय पारेर अप्रेसन गर्ने भनिरहनुभएको थियो।’

यसबीच कहिले अन्तर्राष्ट्रिय महिला दिवस त कहिले शिवरात्रि परेर प्रत्यारोपण सरेको सर्‍यै भयो। चैत २ गते बल्ल केन्द्रका प्रमुख डाक्टर प्रेमराज ज्ञवालीको नेतृत्वमा भवानसिंहको मिर्गौला झिकेर जानकीको शरीरमा प्रत्यारोपण गरियो।

मिर्गौला झिकिएका भवानसिंह स्वस्थ नै थिए। अप्रेसन गरेको दिन सोमबार जानकी पनि बोलिरहेकी थिइन्। उनको स्वास्थ्यमा सुधारको संकेत देखिँदै थियो।

तर बुधबार रातिबाट अकस्मात् जानकीको स्वास्थ्य बिग्रिन थाल्यो। उनी छट्पटाउन थालिन्।

उनको शरीरमा बगिरहेको रगतले विस्तारै काम गर्न छाडेको चिकित्सकले बताए। यता उनलाई भेन्टिलेटरमा राखियो, उता जानकीका आफन्त रगतको खोजीमा लागे।

त्यसयता ११-१२ दिनसम्म जानकीको शरीरमा २१ पिन्टसम्म रगत चढाइयो, तर उनको स्वास्थ्यमा कुनै सुधार आएन।

त्यसपछि डाक्टरले मस्तिष्कमा समस्या छ कि भनेर सिटिस्क्यान गरे। सिटिस्क्यान गरेपछि मस्तिष्कघात भएको निष्कर्ष निकालियो।

चैत २० गते भेन्टिलेटरमै जानकीले अन्तिम सास फेरिन्।

अपांगता भएको शरीर, त्यसमाथि एउटा मिर्गौला निकालिएको र श्रीमतीसँग बिछोडको चोट बोकेर भवानसिंह यही चैत २२ गते अछाम फर्किएका छन्।

श्रीमतीलाई बचाउने उनको सपना बिथोलिएको छ। उनले पत्नीलाई मिर्गौला त दिए, तर प्राण जोगाउन सकेनन्।

‘परिवारमा मृत्यु संस्कार चलिरहेको छ, यस्तो बेला मैले काकालाई हिजो प्लेन चढाएर पठाएँ,’ धनबहादुरले भने।

भवानसिंहको सहारा अब छोराछोरी मात्र छन्। जेठा छोरा तिलक आमाको काजकिरियामा बसेका छन्। भारतमै रोजगारी गरिरहेका बेला आमाको मिर्गौला प्रत्यारोपण तय भएपछि उनी नेपाल आएका थिए।

कान्छो छोरा रमेश भारतमै छन्। कोरोना महामारी बेला उनी केही समय नेपाल आएका थिए। परिस्थिति सहज भएपछि भारत फर्के।

दुवै छोरा एसएलसी पास नगर्दै गरिबीका कारण रोजगारका लागि भारत गएका थिए। कान्छी छोरी मनिषाले पनि १० कक्षा पढ्दा पढ्दै पोहोरबाट पढाइ छोडिन्।

जानकीको उपचारमा संलग्न डाक्टर प्रेमराज ज्ञवाली ‘ब्रेन ह्यामरेज’ कै कारण उनको निधन भएको बताउँछन्।

उनका अनुसार भवानसिंहले दिएको मिर्गौलाले दुई साता काम दिएकै थियो। ‘हामीले अन्तिममा बिरामीको सिटीस्क्यान गर्दा ब्रेन ह्यामरेज भएको देखियो,’ ज्ञवालीले भने, ‘त्यसपछि उहाँलाई बचाउन सकिएन।’

जानकीको मृत्युपछि परिवार र आफन्त विक्षिप्त छन्। विपन्नताकै बीच उनीहरूले जानकीको उपचारमा ठूलो धनराशी खर्च गरे।

‘काकीको उपचारका लागि नेपालमै हामीले ७-८ लाख रूपैयाँ खर्च गर्‍यौं, काका आफैंले मिर्गौला दिनुभयो,’ धनबहादुर भन्छन्, ‘यस्तो परिस्थितिमा राज्यबाट केही न केही राहत पाइएला कि भन्ने हाम्रो अपेक्षा छ।’

त्यो राहत भवानसिंह रावलको स्वास्थ्य र बाँकी जीवनका लागि हो। उनले अपांगतासँगै अब एउटा मिर्गौलाबाट बाँकी जीवन जिउनुपर्नेछ।