May 31, 2023

झिटीमिटी बोकेर देश छोड्न खोजेका म्यानमारीको पीडा (तस्बिरहरू)

Mar 30 , 2021

आफ्नो देशमा बसौं सेनाले गोली बर्साउँछ, छिमेकी देशले छिर्नै दिँदैनन्

कूमार्फत् सत्ता हत्याएको म्यानमारको सेनाले आफ्ना नागरिकहरूमाथि हवाई आक्रमण पनि गर्न थालेको छ।

सेनाले हवाई आक्रमण गरेपछि दक्षिणपूर्वी प्रान्त करेनका तीन हजार जना म्यानमारी शरण खोज्दै थाइल्याण्डको सीमामा पुगेका छन्। तर थाइल्यान्डका अधिकारीहरूले उनीहरूलाई देशभित्र प्रवेश गर्न दिएका छैनन्।

समाचार संस्था रोयटर्सका अनुसार थाई अधिकारीहरूले उनीहरूलाई सीमामै रोक्ने र कुनै पनि सहायता समूहको सम्पर्कमा आउन नदिने रणनीति लिएका छन्।

सेनाले आफ्नो गाउँमा आकाशबाट हमला गर्न थालेपछि  करेनका वृद्धवृद्धादेखि बालबालिकासम्म ज्यान जोगाउन साल्विन नदी पार गरेर थाइल्यान्ड जान खोजेका छन्।

गाउँ छोडेर हिँडेकाहरूले बाटैमा खाना पकाएर खाने गरेका छन् भने एक जना महिलाले भुँइमा सुतेर सलाइन पानी चढाएका तस्बिर सार्वजनिक भएका छन्।

यता म्यानमारको अर्को छिमेकी भारतले पनि शरण खोज्दै आउनेलाई प्रवेश नदिने निर्देशन दिएको छ। म्यानमारसँग सीमा जोडिएको मणिपुर सरकारले पाँच जिल्लाका अधिकारीहरूलाई पत्र लेख्दै म्यानमारबाट आउनेहरू छिर्न नदिन र उनीहरूलाई खान बस्नका लागि क्याम्प नखोल्न पनि निर्देशन दिएको टाइम्स अफ इन्डियाले जनाएको छ।

यसअघि म्यानमारका प्रहरीसहित केही नागरिक भागेर भारतको मिजोरम आइपुगेका थिए।

फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सत्ता हत्याएको सेनाले गरेको दमनमा अहिलेसम्म ५ सय म्यानमारीको मृत्यु भइसकेको छ। पछिल्लो समय सेनाले क्रुरतापूर्वक दमन गरिरहेको छ।