May 31, 2023

घर फर्किएको चार दिनपछि दुर्गाप्रसादले पाए नेपाली नागरिकता

Mar 25 , 2021

४० वर्षपछि भारतीय जेलबाट छुटेर आएका इलामका दुर्गाप्रसाद तिम्सिनाले बिहीबार नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्।

जिल्ला प्रशासन कार्यालय इलामले उनलाई वंशजको आधारमा नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए।

‘प्रदेश सरकारले उहाँलाई तत्काल नागरिकता दिएर उपचार गर्ने निर्णय गरेअनुसार नागरिकता दिइएको हो,’ खड्काले भने।

नागरिकता लिनका लागि दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले सनाखत गरेका छन्।

‘ठूलो बुवाले नागरिकता लिइसक्नुभयो। हाम्रो नाता पनि प्रमाणित भइसक्यो,’ गोपालले भने।

नागरिकतामा उनको नाम दुर्गाप्रसाद तिम्सिना नै लेखिएको छ। पश्चिम बंगालका जेल र कलकत्तास्थित उच्च अदालतका कागजातमा उनको नाम दीपक जैसी छ।

‘अब दीपक जैसी र दुर्गाप्रसाद तिम्सिना भन्ने व्यक्ति एउटै हो भन्ने पनि सिफारिस सिडिओ कार्यालयबाट बनाउँछौं,’ गोपालले भने। उनका अनुसार  दुर्गाप्रसाद घरमा बसेपछि अचेल बोल्न थालेका छन्।

‘ठूलो बुवा पहिलाभन्दा कुरा गर्न थाल्नुभएको छ,’ उनले भने।

दुर्गाप्रसादको स्वास्थ्य परीक्षणका लागि पनि एक जना डाक्टर झापाबाट उनको घर माई नगरपालिका-१० पुग्दैछन्।

‘कन्सल्टेन्टले आएर कुन ठाउँमा कुन डाक्टरलाई देखाउने भनेपछि उहाँहरूलाई हामी त्यही अस्पतालमा पुर्‍याइदिन्छौं,’ प्रजिअ खड्काले भने,‘त्यसको खर्च प्रदेशको सामाजिक विकास मन्त्रालयले व्यहोर्छ।’

यसअघि गत सोमबार कलकत्ता उच्च अदालतले दुर्गाप्रसादलाई क्षतिपूर्ति पाउनु पर्ने बताएको थियो।

प्रदेशको आन्तरिक मामिला मन्त्रालयले उनलाई क्षतिपूर्ति दिलाउने प्रक्रिया सुरू गर्ने पनि निर्णय भएको छ।

कलकत्तास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले क्षतिपूर्तिका लागि आफूले पनि पहल गर्ने बताए।

‘शनिबार कलकत्ता पुग्छु। परिवार र महावाणिज्यदूतावासको तर्फबाट यो मुद्दा लडिरहेका वकिलसँग छलफल गरेर अब कसरी अघि बढ्ने भन्नेमा लाग्छु,’ पौडेलले भने,‘म उहाँको परिवारसँग नियमित सम्पर्कमा छु। उहाँहरूलाई आवश्यक अन्य सहयोग पनि हामीले गर्छौं।’