Oct 17, 2021

भक्तपुर, सिमरा, हेटौंडा र धनगढीमा बढ्यो वायु प्रदुषण

Mar 24 , 2021

पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदुषण बढ्न थालेको छ।

वातावरण विभागका अनुसार भक्तपुर, सिमरा, हेटौंडा र धनगढीमा वायुको गुणस्तर खस्केको हो।

वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ। एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि  जानुचाहिँ घातक हो।

विभागका प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार मंगलबार सिमराको एक्वुआई ३०० पुगेको थियो भने हेटौंडामा २५० पुगेको  थियो।

‘बुधबार बिहान भक्तपुरमा एक्वुआई २२० र धनगढीमा २२३ पुगेको छ, काठमाडौंमा पनि पछिल्ला दिनमा प्रदुषण बढ्दै बढ्दै गएको छ,’ जोशीले भने।

उनले प्रि मनसुन सिजनमा यसपालि वर्षा नभएको र तराई क्षेत्रमा भइरहेको आगलागीले प्रदुषण बढाएको बताए।

अमेरिकी अन्तरिक्ष संस्था नासाले आफ्नो वेवसाइटमा राखेका स्याटेलाइट तस्बिरहरूले चितवन र आसपासका जंगलमा भइरहेको आगलागीको असर हिमालसम्मै पुगेको देखाएको छ।

तस्बिरमा चितवन राष्ट्रिय निकुञ्जसहित चितवनका प्रायः वन क्षेत्र, पर्सा राष्ट्रिय निकुञ्ज, नवलपरासी, बर्दिया, सुर्खेतलगायतका ठाउँमा ठूलो क्षेत्रमा आगालागी भइरहेको देखिन्छ।

नासाको वेवसाइटमा रहेको उक्त स्याटेलाइट तस्बिरमा आगलागी भएको क्षेत्रमा रातो थोप्ला राखिएको छ। धेरै क्षेत्रमा आगलागी भएका चितवन आसपासका क्षेत्र तस्बिरमा रातै देखिएको छ। यसबाहेक तराईका अन्य ठाउँ र पहाडी क्षेत्रहरुमा पनि आगलागी भएको संकेत(रातो चिन्ह)हरु देखिएका छन्।

सोही तस्वीरमा मध्यपहाडी तथा हिमालको वरपरको आकास निलो धुवाँले ढाकिएको देखिन्छ। यसलाई चितवनलगायतका तराईका क्षेत्रमा लागेको आगोको प्रभाव ठानिएको छ। धुवाँ मिसिएको दुषित हावाले मानव स्वास्थ्यमा असर पार्ने विज्ञ बताउँछन्।

चितवन राष्ट्रिय निकुञ्जले ९५२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यसको अलावा चितवनमा जिल्ला वन कार्यालय मातहतमा पनि ठूलो क्षेत्रफल वनले ढाकिएको छ। चितवनसँग पर्सा राष्ट्रिय निकुञ्ज र नवलपरासी क्षेत्रमा रहेको राष्ट्रिय वन पनि जोडिएका छन्। फागुन देखि वैशाखसम्म यी क्षेत्रमा आगलागी निकै हुने गर्छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल घाँसका लागि मध्यवर्ती क्षेत्रको भर पर्नेहरुले पालुवाको लोभमा आगजनी गर्ने गरेको बताउँछन्। साथै चोरीका लागि निकुञ्ज छिर्नेले पनि आगो लगाउने गरेको पाइएको उनले बताए।

‘हामीले आगलागी नियन्त्रणका लागि मध्यवर्ती उपभोक्ता समितिहरुमार्फत पनि प्रयास गरिरहेका हुन्छौं तर यो समयमा आगलागी निकै हुने गरेको छ,’ उनले भने, ‘चैत, वैशाखमा प्रकृतिक रूपमै पनि आगलागी हुने गर्छन्।’

उनले विगतमा धेरै मान्छेहरु घर छाउनका लागि आवश्यक खरका लागि पनि निकुञ्जको भरपर्ने हुँदा यसका लागि आगो लगाउनेक्रम बढी भएकोमा पछिल्ला वर्ष घट्दै गएको दाबी गरे। ‘तैपनि घाँस, दाउराका लागि निकुञ्ज छिर्नेहरुले घाँसको लोभमा आगो लगाएको हुनसक्छ,’ उनले भने, ‘हामी यस्ता घटना हुन नदिन सजग भने छौं।’

अचेल राजमार्ग तथा शहरी क्षेत्रमै रहेका वनहरुमा पनि आगलागी भइरहेको देख्न सकिन्छ। भरतपुर र पूर्वी चितवनको टिकौलीलाई जोड्ने पूर्व-पश्चिम राजमार्गको वन क्षेत्रमा दिउँसै पनि आगलागी हुने गरेको छ। भरतपुरसँग जोडिएका सामुदायिक वनहरुमै आगलागी हुँदा पनि समयमै नियन्त्रणमा लिन कठिनाई हुने गरेको वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनाल बताउँछन्।

उनकाअनुसार भरतपुरमै रहेको राष्ट्रिय वन क्षेत्रको जखडीमाईमा अपरान्हबाट आगलागी भयो। तर त्यसलाई नियन्त्रणमा लिन घण्टौं समय लाग्यो।

‘कार्यालयबाट नजिकै भएकाले सक्दो छिटो भरतपुर महानगरपालिकाको दमकल लगेर प्रयास गर्दा पनि नियन्त्रणमा लिँदा रातिको १० नै बज्यो,’ उनले भने, ‘नजिकैको आगो नियन्त्रण गर्न त यति गाह्रो छ टाढाको कसरी निभाउने।’

भरतपुरसँगै जोडिएको रामवेल सामुदायिक वन, सतनचुली सामुदायिक वन, नारायणगढ–मुग्लिन सडक खण्डको राष्ट्रिय वनमा पनि पछिल्ला दुई दिनमा आगलागी भएको थियो। ‘जानकारी पाएपछि त्यसलाईयन्त्रणमा लिने प्रयास त हाम्रो रहन्छ तर स्रोत, साधन र जनशक्तिको अभावमा पूर्णरुपमा नियन्त्रणमा लिन सम्भव भइरहेको छैन,’ खनालले भने, ‘हामी हात बाँधेर बसेका छैनौं, तर नियन्त्रणमा लिन पनि सकिएको छैन।’

उनले पहाडी क्षेत्रमा बाटो र बस्ती भन्दा धेरै पर आगो लाग्ने गरेको बताए। अहिलेकै अवस्थामा ती क्षेत्रमा आगलागी हुँदा नियन्त्रण सम्भवै नहुने उनले बताए।

सहायक वन अधिकृत खनालकाअनुसार गत वर्ष चितवनमा ५०० हेक्टर क्षेत्रफलमा आगलागी भएकोमा करिब १०० हेक्टर क्षेत्रकोमात्रै समयमै नियन्त्रणमा लिन सकिएको थियो।

‘अन्यमा लागेको आगो नियन्त्रणमा लिन सकिएन, यसले क्षति पुर्‍यायो,’ उनले भने, ‘हरेक वर्ष यस्तै हुँदै आएको छ।’

आगलागी नियन्त्रणका लागि कार्यालयले गाउँ–गाउँमा सचेतना अभियान चलाइरहेको उनले बताए। आगो नियन्त्रणका लागि भनेर वन विभागले पठाएको ‘फारयर फाइटिङ’ सामग्रीहरु पनि सामुदायिक वन र वन क्षेत्रमा रहेका सुरक्षा पोष्टहरुलाई दिइरहेको खनालले बताए।

‘आगलागीबाट हुने क्षति र असरलाई राम्रोसँग बुझेका छौं,’ खनालले भने, ‘गत वर्ष लकडाउनको समयमा कार्यालयमा काम नहुँदा हाम्रो सम्पूर्ण ध्यान वनमा केन्द्रित थियो, त्यो समयमा आगलागी नियन्त्रण र चोरी नियन्त्रणमा धेरै काम गर्न सक्यौं तर अहिले कार्यालयमा सेवाग्राहीका काम पनि गर्नुपर्ने, सीमित स्रोत, साधन र जनशक्तिले धेरै काम गर्नुपर्ने भएकाले प्रभावकारी हुन सकिरहेको छैन।’