Mar 17, 2023

माधव नेपाललाई सोधिएको स्पष्टीकरणको प्रश्न- प्रचण्डको मतियार भई पार्टी हित विपरीत कार्य गर्नुको कारण के हो?

Mar 23 , 2021

नेकपा एमालेले पार्टीका नेता माधवकुमार नेपालसहित चार जना नेतालाई स्पष्टीकरण सोधेको छ।

नेता नेपाललाई महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणमा ‘पुष्पकमल दाहाल प्रचण्डको मतियारसमेत भई पार्टी हित विपरीत कार्य गरेको र गराउनु पर्नाका कारण के हो?’ भन्ने प्रश्न पनि छ।

नेता नेपाललाई १० बुँदे स्पष्टीकरण सोधिएको छ। साथै अध्यक्ष केपी ओलीलाई पार्टी अध्यक्ष र साधारण सदस्यसमेतबाट के र कुन आधारमा निष्कासनको निर्णय गर्नु/गराउनु परेको भन्ने प्रश्न पनि नेपाललाई एमालेले सोधेको छ।

पार्टी विधान उल्लंघन गरेको देखिएको भन्दै एमालेका तर्फबाट महासचिव पोखरेलले सोधेको स्पष्टीकरणमा तीन दिनभित्र स्पष्टीकरणसहित लिखित जवाफ पेश गर्न भनिएको छ।

जवाफ पेश नगरे विधान र नियमावलीअनुसार कारवाही हुनेसमेत स्पष्टीकरणमा उल्लेख छ।

वरिष्ठ नेता झलनाथ खनाल र नेपालले पछिल्लो पटक फागुन २८ मा अध्यक्ष ओलीले एकलौटी निर्णय गरेर केन्द्रीय सदस्य थप गरेको र महाधिवेशन तोकेकोजस्ता विषयमा विरोध गरिरहेका छन्।

अध्यक्ष ओलीलगायत उनी पक्षले चैत ४ र ५ गते बसेको खनाल र नेपाल पक्षका नेता/कार्यकर्ताको राष्ट्रिय भेला पनि नगर्न भनेको थियो तर उक्त पक्षले भेला गरिसकेको छ।

यसैबीच सोमबार खनाल र नेपाल पक्षको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ राजनीतिक रूपमा सामुहिक दिने निर्णयसमेत गरेको छ।