Oct 26, 2021

हात्ती चढेर गैंडाको गन्ती! (तस्बिरहरू)

Mar 22 , 2021

लहरै उभिएका हात्ती, त्यसमाथि माउते र गणक। एक सिंगे गैंडा गन्नका लागि जंगल पस्न ठिक्क परेका उनी पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा सोमबार सबेरै तयार थिए। पर्खाइ थियो त केवल निर्देशनको।

वन मन्त्री, मन्त्रालयका सचिव, वन विभागका महानिर्देशक, चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका सरोकारवाला निकायका अधिकारी पुगे लगत्तै माउतेले हात्तीलाई सतर्क बनाए।

केहीबेरमै वन मन्त्री प्रेमबहादुर आले हात्ती माथि चढेर जंगलभित्र जान तयार हात्तीहरूको समूहमा पुगे। चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सबै तयारी पूरा भएको संकेत गरेपछि मन्त्री आलेले सिठ्ठी फुके। सिठ्ठीको आवाजसँगै माउतेले हात्तीलाई अघि बढ्न आदेश दिए।

वनदेवीको पूजागरी पर्सा राष्ट्रिय निकुञ्जबाट सोमबार सुरू गरिएको गैंडाको गणना चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म पुगेर चैत मसान्तसम्ममा सक्ने तयारी छ।

यसअघि पछिल्लो पटक सन् २०१५ मा गैंडाको गणना गरिएको थियो। त्यसअघि पनि सन् १९९४, २०००, २००५ र २०११ मा गैंडाको गणना गरिएको थियो। उक्त गणनामा चितवन निकुञ्जमा ६०५ वटा एक सिंगे गैंडा भेटिएका थिए भने देशभरमा ६ सय ४५ वटा गैंडा भेटिएका थिए।

त्यसपछि पनि चितवन निकुञ्जमा मात्रै १६१ वटा गैंडा मरिसकेका छन्। तीमध्ये ६ वटालाई सिकारीले मारेका थिए। अन्य प्राकृतिक कारणले मरेको निकुञ्जले बताउने गरेको छ। यस वर्षमात्रै प्राकृतिक कारणबाट २२ र सिकारीबाट ४ वटा गैंडा मरेका छन्।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालका अनुसार गैंडाहरू पश्चिम क्षेत्र हुँदै भारततर्फ प्रवेश गर्नेक्रम पनि पछिल्ला दिनमा बढेको छ।

‘बासस्थानको खोजी गर्दै नवलपुर क्षेत्रको नारायणी नदीको आसपासमा पुगेका गैंडाहरू बगेर भारततर्फ पुगेको खबर आइरहेका छन्,’ उनले भने, ‘हामीसामू बासस्थानको उचित व्यवस्थापन गर्दै गैंडा जोगाउनुपर्ने चुनौती छ।’

उनले गैंडा गणनाले अहिलेको गैंंडाको वास्तविक अवस्था पत्ता लाग्ने र त्यसलाई आधार बनाएर भावी रणनीति तय गर्न सहयोग पुग्ने उनले बताए।

विभागका पर्यावरणविद् हरिभद्र आचार्यले संकटापन्न जीवको आवधिकरूपमा तथ्यांक लिँदा उचित व्यवस्थापन गर्दै त्यसलाई जोगाउन सहयोग पुग्ने बताउँछन्।

‘अहिले कति गैंडा छन्, कति घटे वा बढे, कुन क्षेत्रमा बढी छन्, वयस्क कति छन् लगायतका विषयमा अनुमान मात्रै गर्न सकिन्छ,’ उनी भन्छन्, ‘गणना पछि पत्ता लागेको आधिकारिक तथ्यांकका आधारमा मात्रै भावी योजना तयार गर्न सकिन्छ।’

यसपटक सबै क्षेत्रमा गणनाका लागि ४० वटा हात्तीसहित करिब ३०० जना जनशक्ति परिचालन गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.दिपककुमार खरालले बताए।

पर्सा र चितवन निकुञ्जको क्षेत्रमा गणनाका लागि २०० जना भन्दा बढी खटिएका छन्। ४० वटा हात्तीमा गएका गणकहरूमध्ये ७ जना महिला छन्। यी निकुञ्जमा १९ वटा ब्लक छुट्टाएर गणना गरिँदैछ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालकाअनुसार गणनामा सहभागी हुनका लागि गणकहरुका लागि तीन दिनको तालिम दिइएको थियो भने स्वास्थ्य परीक्षणगरी योग्य हात्तीहरु छनोट गरिएको थियो।

नेपाल सरकारकै खर्चमा गैंडाको गणना हुन लागेको यो पहिलो पटक हो। यसअघिका गणनाहरू अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहयोगमा हुन्थे। गैंडा गणनाका लागि नेपाल सरकारले करिब १ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ। गत वर्ष नै गर्नुपर्ने गणना कोरोना भाइरसको महामारीका कारण स्थगित भएर एक वर्ष पछि धकेलिएको थियो।

गैंडा गणनाको शुभारम्भ गर्दै वन मन्त्री आलेले एक सिंगे गैंडा देशको पहिचान भएकाले यसको संरक्षणमा सरकारले आवश्यक काम गर्ने बताए।

‘सगरमाथा जस्तै एक सिंगे गैंडा पनि हाम्रो पहिचान हो, यसको संख्या घट्दै गएको आशंका गरिएको छ,’ उनले भने, ‘यसलाई जोगाउँदै पर्यटनको विकास गर्नका लागि सबै लाग्नुपर्छ। सरकारले पनि यसमा आवश्यक सहयोग गर्नेछ।’

विश्वमै दुर्लभ मानिएको एक सिंगे गैंडा हेर्न ठूलो संख्यामा पर्यटकहरू चितवन आउने गर्छन्।

यहाँको पर्यटनको ठूलो हिस्सा वाइल्डलाइफ पर्यटनमा आधारित छ। तर चोरी सिकारी नरोकिने, बासस्थान अतिक्रमण बढ्ने, सीमित कर्मचारी, पर्याप्त बजेट नहुनु आदिले यसको संरक्षणमा भने चुनौती देखिएको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले बताए।

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालकाअनुसार नेपालमा सन् १९५० को दशकमा ८०० वटा गैंडा थिए।

१९६० को दशकमा पुग्दा यो संख्या घटेर १०० मात्रै पुग्यो। सन् १९७३ मा मात्रै सरकारले गैंडा संरक्षणलाई प्राथमिकतामा राखेर चितवन राष्ट्रिय निकुञ्ज निर्माण गरेको थियो।

नेकपा माओवादीको जनयुद्धताका देशको ध्यान त्यसतर्फ मोडिँदा चितवन निकुञ्जमा चोरी सिकारी मौलाएको थियो। पछिल्ला दिनमा यो क्रममा कमी आए पनि प्राकृतिक कारणले गैंडा मर्नेक्रम भने बढेर गएको छ।