Oct 22, 2021

हजुरबुवा सडकमा जुत्ता सिउँथे, नाति अहिले उद्योग चलाउँछन्

Mar 22 , 2021

धनगढी, कैलालीका वीरेन्द्र रम्तेलका हजुरबुवा जुत्ता सिउँथे। उनका बुवाले यही काम गरे। वीरेन्द्रले पनि सुरूसुरूमा आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिए।

सडकमा बसेर अरूका जुत्ता सिउँदै आएका बाजेबुवाको कामलाई वीरेन्द्रले अहिले उद्यम बनाएर नयाँ उचाइमा लगेका छन्। उनी अहिले जुत्ता उद्योगका मालिक हुन्।

‘बाजे पुरानो राष्ट्र बैंक भएको भवनअगाडि सडकमा बसेर जुत्ता सिउने काम गर्नुहुन्थ्यो,’ वीरेन्द्रले सम्झिए।

यो उद्यमको बीउ भने उनका हजुरबुवाले नै रोपेका थिए। जुत्ता सिलाउने कामबाट मात्र परिवारको आर्थिक भार खेप्न पुग्थेन। हजुरबुवाले गाउँमै जुत्ता बनाउने काठको साँचो (फ्रेम) बनाउन लगाए। उतिबेला बाहिरबाट सामान ल्याउनेबारे थाहै थिएन। त्यही काठको साँचोमा हालेर हजुरबुवाले आफैं छालाका जुत्ता बनाउन थालेका थिए।

‘हजुरबुवा दिनभरी सडकमा फाटेका जुत्ता सिउनुहुन्थ्यो। बचेको समयमा आफैं जुत्ता बनाउनुहुन्थ्यो। हप्तामा दुई-चार जोर बिक्थे,’ यी कुरा वीरेन्द्रलाई उनका बुवा राजेन्द्रले सुनाएका हुन्।

वीरेन्द्रका अनुसार त्यसबेला खासगरी सरकारी कर्मचारीहरूले जुत्ता अर्डर गर्थे।

‘उनीहरूले लगाउने बुटहरू एक-दुई जोर अर्डर आएपछि मात्रै बनाउनुहुन्थ्यो,’ आफ्ना बुवाका भनाइ सम्झिँदै वीरेन्द्रले सुनाए।

वीरेन्द्र ५ वर्षका छँदा हजुरबुवा बिते। उनका बुवा राजेन्द्रलाई यो काममा खास रूचि थिएन। राजेन्द्र १४ वर्षकै उमेरमा काम गर्न भनेर भारत गए। भारतमा फर्निचर बनाउने ठाउँमा काम गर्थे। तर रम्तेल परिवारको गरिबीको उक्सेन। झन् धेरै चपेटामा पर्‍यो।

१७ वर्ष जति उतै काम गरेपछि राजेन्द्रले आफ्नै देश फर्किने निधो गरे। अर्काको देशमा मजदुरी गर्नुभन्दा आफ्नै गाउँमा बुवाको पेसालाई अपनाएर गुजारा चलाउने सोचे।

‘बुवाले जुत्ता बनाउने कामलाई नै निरन्तरता दिने सोचेर फर्किनुभएछ,’ वीरेन्द्रले भने, ‘आएर धनगढीकै एक जुत्ता बनाउने उद्योगमा काम गर्न थाल्नुभयो।’

एकदिन राजेन्द्रले जुत्ता बनाउँदै गर्दा आरो भाँचियो। साहुले आरोको पैसा तिर्न लगाए, दस रूपैयाँ। राजेन्द्रसँग त्यति पैसा थिएन।

‘त्यतिखेर बुवालाई ती साहुले निकै अपमान गरेछन्,’ वीरेन्द्रले भने।

यो २०६३ सालको कुरा हो।

मालिकको अपमान सहनुपरेपछि उनका बुवालाई लागेछ, आफ्नै व्यवसाय भए त कसैको गाली सुन्नु पर्थेन।

राजेन्द्रले व्यवसाय सुरू गर्न आफन्तसँग दस हजार रूपैयाँ ऋण लिए। २०६३ सालमा बसपार्कमा एउटा टहरो बनाएर बुवाबाट सिकेकै सीप उपयोग गरे, जुत्ता सिउने र बनाउने।

विस्तारै ग्राहक बढ्न थाले। जुत्ता बनाउन भ्याइनभ्याइ भयो। कम्तीमा दुई जना कालिगड चाहिने भयो।

‘कामदार नपाइएपछि समस्या पर्‍यो। पछि अरूतिर काम गर्नेहरू नै उताको ड्युटी सकेर रातितिर हाम्रो काममा आउँथे,’ वीरेन्द्रले सम्झिए।

विस्तारै पहाडतिरबाट पनि जुत्ताको माग आउन थाल्यो। टहरो खोलेको दुई वर्षमै राजेन्द्रले सटर भाडा लिए र पसल राखे। रम्तेल परिवारको उद्यम यतिमै रोकएन। २०६६ सालमा राजेन्द्रले बैंकबाट ऋण निकालेर ‘आर सुज उद्योग’ नै सञ्चालनमा ल्याए।

उद्योग खुलेपछि थप कामदार चाहियो। उनले महिला र पुरूष गरी चार दर्जनलाई जुत्ता बनाउने तालिम दिन थाले। २०६८ सालसम्म आइपुग्दा आर सुजमा २२ जना कालिगड तयार भइसकेका थिए।

यिनै २२ जनामध्ये एक वीरेन्द्र आफैं थिए। भर्खर तालिम पाएका करिब दुई दर्जन कालिगडका हात फटाफट चल्न चालेपछि आर सुजले महिनामा पाँच सयदेखि एक हजार जोर जुत्ता उत्पादन गर्न थाल्यो। बनाइएका जुत्ता पुरानो पसलमा होलसेल भाउमा बिक्री गर्न थाले।

‘पछि माग अझै बढ्दै गयो। बसपार्क नजिकै मैले पनि अर्को पसल सुरू गरेँ,’ वीरेन्द्रले भने।

अहिले भने उद्योग नै उनको काँधमा छ। बुवा पसल चलाउँछन्। कुनै बेला गरिबीले सताएको रम्तेल परिवारको अहिले आफ्नै पक्की घर छ, जमिन छ।

‘पहिले ऋण माग्न पर्थ्यो। अहिले अरूलाई समस्या पर्दा पैसा सहयोग दिन सक्ने भएका छौं,’ उनले भने।

आर सुजमा अहिले दैनिक ६० जोरसम्म जुत्ता बन्छ। यी जुत्ता सुदूरपश्चिमका नौ वटै जिल्लामा पठाउने गरेको उनले बताए। सुरूमा धेरै भए पनि लकडाउनपछि ११ जना मात्र कामदार छन्। उनका अनुसार एकजनाले महिनामा १५ देखि २५ हजार रूपैयाँ पाउँछन्।

‘हामीले गाउँकै दाजुभाइलाई रोजगारी दिएका छौं,’ उनले भने, ‘क्याम्पस पढ्ने विद्यार्थीहरू पनि फुर्सदका बेला आफ्नो केही खर्च निकाल्न काम गर्न आउँछन्।’

यसरी आउनेहरूले जोर जुत्ताका आधारमा पारिश्रमिक पाउँछन्, ८५ देखि एक सय २० रूपैयाँसम्म।

आर सुजमा काम गर्ने धनगढी–३ का वीरबहादुर सिरमाल गाउँमै काम पाएपछि बाहिर जानु नपरेको बताउँछन्।

‘स्कुल पढ्दादेखि नै कमजोर आर्थिक स्थिति थियो। बुवा नभएकाले काम गर्नुपर्थ्यो। अनि दाइहरूसँग एक/दुई घन्टा लाग्दै काम सिकेँ,’ उनले भने, ‘घर नजिकै काम पाउँदा सजिलो भएको छ।’

यहाँ काम सिकेर बाहिर जानेलाई पनि यही सीपले सहज बनाएको वीरबहादुरको भनाइ छ।

आफ्नै हात खियाउँदै राजेन्द्र र वीरेन्द्रले आर सुजलाई ब्रान्ड बनाउन सफल भइसकेका छन्। तर विदेशी सामानसँगको प्रतिस्पर्धा ठूलो चुनौती बनेको छ।

‘हातले बनेका जुत्ता टिकाउ, बलियो र सस्तो हुन्छन्। विदेशी देख्नमा झिलिक्क राम्रा हुन्छन्,’ वीरेन्द्रले भने, ‘अझै पनि धेरै ग्राहकका आँखा त्यस्तैमा जान्छन्।’

त्यसैले वीरेन्द्र बजारमा मागअनुसार जुत्ता दिन आधुनिक मेसिन र प्रविधि भित्र्याउन लागि परेका छन्। सरकारले जुत्ता बनाउने तालिम दिँदा आफ्ना कामदार पठाउँछन्। स्थानीय तहको नीतिमा जुत्ता उद्योग पर्दा उनको खुसी बढेको छ।

जिल्लाका केही स्थानीय तहले यस्ता उद्योगमा रोजगारी अवसर बढाउने भन्दै आफ्ना नीति तथा कार्यक्रमको प्राथमिकतामा पारेका छन्। धनगढी उपमहानगर, टीकापुर नगरपालिका लगायतले जुत्ता उद्योग खोल्न नागरिकलाई तालिम लगायत सहयोग गर्छन्।

टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्ला आर्थिक वर्ष २०७७/७८ मा जुत्ता उद्योगलाई प्राथमिकता दिइएको बताउँछन्, ‘रोजगारी सिर्जना गर्न र उद्योगमा लागेकालाई टिकाइराख्न सहयोग पुगोस् भनेर श्रम अभियान सञ्चालन गरिएको छ।’

धनगढी उपमहानगरको सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख हरिसिंह साउदले पनि यस वर्ष पुराना जुत्ता व्यवसायीलाई क्षमता स्तरवृद्धिको तालिम दिइने बताए। यस्तै, पछिल्लो समय माग बढी आएको विवाहको जुत्ता बनाउने तालिम महिला उद्यमीलाई दिने कार्यक्रम रहेको उनले जानकारी दिए।