Mar 16, 2023

वनदेवीको पूजा गरेर वन मन्त्रीले सुरू गर्दैछन् गैंडा गणना

Mar 22 , 2021

दुर्लभ एक सिंगे गैंडाको गणना सोमबारबाट सुरु गरिँदैछ।

पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वन मन्त्री प्रेमबहादुर आलेले वनदेवीको पूजा गरी गैंडा गणनाको सुरुवात गर्ने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

देशका चार वटा निकुञ्जमा पाइने एक सिंगे गैंडा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी छन्। त्यसैले गणनाको नेतृत्व पनि चितवन निकुञ्जले नै गर्नेगर्छ।

३०० सयभन्दा बढी मानवीय जनशक्ति र ६० वटा हात्तीसहितको टोलीले सोमबारबाट गैंडाको गणना सुरु गर्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।

त्यसमध्ये चितवनमा मात्रै २०० सय बढी मानवीय जनशक्ति र ४० वटा हात्तीको प्रयोगगरी २२ भागमा विभाजन गगरेर गणना गरिँदैछ।

यसका लागि निकुञ्जले गणक, माउतेलाई तालिम दिएको थियो भने स्वास्थ्य शिविर नै सञ्चालन गरेर योग्य हात्तीहरु छनोट गरेको थियो।

चितवन राष्ट्रिय निकुञ्जका अलावा पर्सा, बर्दिया र शुक्लाफाँटा बन्यजन्तु आरक्षमा मात्रै गैंडा छन्।

यअघि सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैंडाको गणना गरिएको थियो। गत वर्षकै चैतमा गणना गर्ने तयारी भएपनि लकडाउनका कारण अन्तिम समयमा स्थगन गरिएको थियो।

पछिल्लो गणनामा चितवन निकुञ्जमा ६०५ वटा एक सिंगे गैंडा भेटिएका थिए। उक्त गणनामा देशभरमा ६सय ४५ वटा गैंडा भेटिएका थिए।

त्यसपछि चोरी शिकारबाट मर्नेको संख्या नगन्य भएपनि प्राकृतिक कारणले मर्नेको संख्या भने बढेर गएको थियो। यस आर्थिक वर्षमा मात्रै चितवन निकुञ्जमा ४ वटा चोरी सिकारबाट र २२ वटा प्राकृतिक कारणबा गैंडा मरे।

निकुञ्जकाअनुसार गैंडाहरु पश्चिम क्षेत्रहुँदै भारततर्फ प्रवेश गर्नेक्रम पनि पछिल्ला दिनमा बढेको छ। यस पटक गैंडा गणनाका लागि १ करोड रुपैयाँ भन्दा बढी खर्च लाग्ने निकुञ्जले जनाएको छ।

सोमबारबाट सुरु भएर २९ गतेसम्ममा गणना सम्पन्न गरी चार वटै निकुञ्जको तथ्यांक वैशाख महिनामा सार्वजनिक गर्ने तयारी छ निकुञ्जको छ।

विश्वमै दुर्लभ मानिएको एक सिंगे गैंडा हेर्न ठूलो संख्यामा पर्यटकहरु चितवन आउने गर्छन्। यहाँको पर्यटनको ठूलो हिस्सा वाइल्डलाइफ पर्यटनमा आधारित छ।

तर चोरी सिकारी नरोकिने, बासस्थान अतिक्रमण बढ्ने, सीमित कर्मचारी, पर्याप्त बजेट नहुनु आदिले यसको संरक्षणमा भने चुनौती देखिँदैछ।

निकुञ्जले गणनाबाट आउने नतिजालाई विश्लेषण गरी आगामि दिनका लागि प्रभावकारी कार्ययोजना तर्जुमा गरेर संरक्षण अभियान चलाउनु आवश्यक रहेको बताएको छ।

सन् २०१५ को गणनायता चितवन निकुञ्जमा १६१ वटा गैंडा मरेका छन्। यो अवधिमा ६ वटा गैंडा सिकारीले मारेको र बाँकी सबै प्राकृतिक कारणले मरेको चितवन निकुञ्जले जनाएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!