देउवाले पदाधिकारी बैठक बोलाएपछि पौडेल पक्षको छुट्टै भेला

नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएको छ।
सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेका छन्।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्ने बताए।
सभापति देउवाले पदाधिकारी बैठक राखेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकटका नेतासँग आज छलफल गरेका छन्।
केहीबेर अगाडि सकिएको उक्त छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू रामशरण महत र मिनेन्द्र रिजाल सहभागी रहेको एक नेताले बताए।
पौडेल निवास बोहराटारमा बैठक बसेको थियो।
कोषाध्यक्ष सीतादेवी यादवले १४ औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे सामान्य छलफल भएको सेतोपाटीलाई बताइन्।
‘महाधिवेशन तयारीबारे कुराकानी भयो,’ उनले भनिन्, ‘विस्तृतमा यसबारे भोलि पार्टी कार्यालयमा छलफल गर्ने कुरा भएको छ।’
१४ औं महाधिवेशन भदौ ७ देखि तोकिए पनि तयारी नभएको, केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट बिदा गर्नुपर्ने प्रस्ताव अरू दलहरूबाट आइरहे पनि सभापति देउवाले अग्रसरता नदेखाएकोजस्ता विषयमा छलफल गरी ध्यानाकर्षण गराउन पौडेल पक्षले आज भेला राखेको थियो।
वरिष्ठ नेता पौडेलले अरू दलसँगको सहयोगमा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताइरहेका छन्।