Sep 23, 2023

बुटवल सम्मेलन केन्द्रको काम धमाधम, सम्झौताभन्दा अघि नै सकिने

Mar 16 , 2021

भौतिक पूर्वाधारका हिसाबले तीव्र विकास भइरहेको रूपन्देहीमा अबको केही महिनामै अर्को संरचना निर्माण सम्पन्न हुँदैछ।

दुई चरणमा निर्माण पूरा गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता गरिएको बुटवल सम्मेलन केन्द्रको पहिलो चरणको काम ९७ प्रतिशत पूरा भएको छ।

पहिलो चरणको काम अन्तिम चरणमा पुगेका बेला दोस्रो चरणको काम पनि झन्डै ५० प्रतिशत सकिएको छ। त्यस्तै सम्मेलन केन्द्रको पश्चिमतर्फ अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र पनि निर्माण भइरहेको छ। बुटवल- १० रामनगरस्थित बुटवल मण्डपमा निर्माणाधीन बुटवल सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रको निर्माणसँँगै सो क्षेत्र आकर्षक देखिएको छ।

बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइका प्रमुख इञ्जिनियर शिखर लामाले आगामी असोज महिनाभित्र सभा हलको सम्पूर्ण काम पूरा हुने दाबी गरे।

‘सभाहलको पहिलो चरणको ९७ प्रतिशत पूरा भएको छ भने दोस्रो चरणको पनि भौतिक संरचना निर्माणको काम सकिएको छ, अब रङरोगन, सभाहल भित्र जिप्सन, कुर्ची, विद्युत र सिसिटिभी जडानको काम बाँकी छ। ती काम पनि ६-७ महिनाभित्रै सकिन्छन्,’ लामाले भने।

कोभिडका कारण केही महिना काम प्रभावित भए पनि चालु आर्थिक वर्षको सुरूदेखि नै तीव्र गतिमा काम भइरहेको र बजेट अभाव नभए तोकिएको समयभन्दा पहिले नै निर्माण कार्य पूरा गर्ने लक्ष्य रहेको लामाले बताए। ठेक्का सम्झौतामा २०७८  पुस मसान्तसम्म सभा हल बनाइसक्ने उल्लेख छ।

सम्मेलन केन्द्रको पहिलो चरणको कामलाई २३ करोड र दोस्रो चरणको कामलाई ८० करोड गरी १ अर्ब ३ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। लामाका अनुसार अब सजावट र फिनिसिङको काम बाँकी रहेकाले करिब ५० करोड रकम आवश्यक छ।

भौतिक संरचनाको काम पूरा भइरहँदा सतहबाट हेर्दा ब्लकअनुसार फरक-फरक संरचना देखिने बुटवल सम्मेलन केन्द्र माथिल्लो तहमा पुगेपछि तीन वटै ब्लकहरू आपसमा जोडिएर नेपालको झण्डा आकारको देखिन्छ।

आयोजना प्रमुख लामाका अनुसार पहिलो चरणमा निर्माण गरिएको मुख्य सभा हल झण्डाको माथिल्लो भागको सूर्यअंकित डिजाइनमा निर्माण गरिएको छ भने दोस्रो चरणमा निर्माण गरिएको भवन झण्डाको तल्लो चन्द्रअंकित डिजाइनमा तयार गरिएको छ।

सूर्य आकारमा मुख्य सभा हलको भौतिक संरचना निर्माणको सबै काम पूरा भएको छ भने सभा हलमा तल र माथि गरी १ हजार १ सय मानिस बस्न मिल्ने गरी कुर्ची जडान गरिने छन्। अहिले सभा हलमा जिप्सन लगाउने, रङरोगन गर्ने र विद्युत तथा सिसिटिभी जडानको काम भइरहेको छ।

पहिलो चरणमा रविना समानान्तर चन्द्र सूर्य जेभी कम्पनीले निर्माणको काम गरेकोमा दोस्रो चरणको काम भने आशिष निर्माण सेवाले गरिरहेको छ। पहिलो चरणमा ११ सय क्षमताको मुख्य सभा हल रहेको भवन, दुइटा लेक्चर हल, ६ वटा मिटिङ हल, भिआइपी, भिडिओ अडियो, ट्रान्सलेटरलगायतका कक्ष रहेका छन्।

 

दोस्रो चरणमा निर्माण भएको चन्द्र आकारको भवनमा दुइटा ५०-५० र दुइटा १-१ सय क्षमताका हल छन्। भौतिक पूर्वाधारको हिसाबले पहिलो चरणमा मुख्य भवन निर्माण गरिए पनि रङरोगन, सजावट, कुर्ची टेबल, विद्युत, सिसिटिभी जडान, प्रवेशद्वारलगायत संरचना दोस्रो चरणमा निर्माण गर्ने भएकोले दोस्रो चरणमा लागत रकमसमेत बढी रहेको छ।

दोस्रो चरणमा सभा हल परिसरको ग्रिनरीसहितको बाटो, फुटपाथ, क्यान्टिन ब्लक, शौचालय, कर्मचारीको लागि तिनतलाको छुट्टै आवास गृह, पार्किङ स्थल, पोखरी, बगैंचालगायतका संरचना निर्माण भइरहेका छन्।

साढे दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी २०७१ साल माघ १५ गते सम्मेलन केन्द्रको पहिलो चरणको ठेक्का सम्झौता गरिएको थियो। पहिलो चरणमा रूख कटानमा ढिलाइ हुँदा र नाकाबन्दीका कारण निर्माण सामग्री अभाव भएपछि निर्माणको काम पछाडि धकेलिए पनि दोस्रो चरणको भने निर्माण अवधिभन्दा पहिले नै काम पूरा हुने लामाले दाबी गरे। २०७८ पुस मसान्तसम्म निर्माणको अवधि रहे पनि असोजभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।

‘ठेक्का सम्झौता गरेको सुरूवातमै रूख कटानमा समस्या भयो, त्यसलगत्तै भएको नाकाबन्दीका कारण निर्माण सामग्रीको अभाव भयो, गत वर्ष पनि कोरोना महामारीका कारण केही ढिलाइ भए पनि अहिले काम तीव्र रूपमा अगाडि बढेको छ,’ उनले भने।

लुम्बिनी क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटन प्रवर्द्धन गर्ने भन्दै तत्कालीन सरकारले ग्रेटर लुम्बिनीको अवधारणा अनुरूप देशकै ठूलो सम्मेलन केन्द्र निर्माणको योजना अघि सारेको थियो।

योजना निर्माण गर्दा दोस्रो प्राथमिकतामा परेको सम्मेलन केन्द्र निर्माणको योजनालाई योजना आयोगबाट पहिलो प्राथमिकतामा पारी निर्माण प्रक्रियाको काम अघि बढाइएको थियो।

बुटवल मण्डपमा रहेको साढे १६ विघा जग्गामध्ये ९.६ विघा क्षेत्रफलमा निर्माण भइरहेको सम्मेलन केन्द्र स्थलमा १ सय ३६ वटा विभिन्न प्रजातिका बोटविरूवा कटान गरिएकोले त्यसको पूर्ति गर्ने गरी ग्रिनरी बनाइने छ। आयोजनाले सम्मेलन केन्द्र परिसरमा पर्ने आकाशे पानीलाई समेत त्यही जमिनमा रिचार्ज हुने गरी संरचना बनाइएको जनाएको छ।

‘सकेसम्म भवनको लागि कम जमिन प्रयोग गरी बढीभन्दा बढी हरियो बगैंचा बनाउन सकियोस् भनेर त्यही अनुरूपको डिजाइन गरिएको छ, जहाँबाट रेन वाटरसमेत जमिनमुनि नै गई रिचार्ज भइरहोस्,’ लामाले भने।

बुटवल उपमहानगरपालिकाले संरक्षण गर्दै आएको बुटवल मण्डपमा पूर्वतर्फ बुटवल सम्मेलन केन्द्र र पश्चिमतर्फ अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने गरि २०६५ सालमा सरकारले निर्णय गरेको थियो।

त्यस्तै २०७६ जेठ १३ गते शिलान्यास गरी काम अगाडि बढाइएको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको पनि करिब २५ प्रतिशत काम पूरा भएको छ। बुटवल मण्डपको १६ विघामध्ये पश्चिमतर्फको ६.४ विघा क्षेत्रमा एक अर्ब दुई करोडको लागतमा बुटवल प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ।

शहरी विकास तथा भवन निर्माण विभागमार्फत् निर्माण भइरहेको प्रदर्शनी केन्द्र सरकारी स्तरको नेपालको सबैभन्दा ठूलो प्रदर्शनी केन्द्र रहेको दाबी गरिएको छ।

हाल प्रदर्शनी केन्द्रको ३ वटा ब्लकमध्ये ए ब्लकको करिब ८० प्रतिशत निर्माणको काम पूरा भइसकेको छ। आयोजना प्रमुख लामाका अनुसार ए ब्लकको ट्रष्ट निर्माणको ८० प्रतिशत काम पूरा भएको छ भने बी र सी ब्लकको पनि स्टिलको पिल्लर राख्ने काम भइरहेको छ।

२७ महिनामा निर्माण सम्पन्न गर्नेगरी क्यापासिट इन्फ्रा प्रोजेक्ट्स (गौरी–पार्वती जेभी कम्पनी)ले ठेक्का सम्झौता गरेकोमा ढिलो गरि रूख कटानको अनुमति पाएकोले निर्माण कार्यमा ढिलाइ भएको लामाले बताए। तर अहिले भने निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेकोले २०७९ असार महिनासम्म निर्माण सम्पन्न हुने उनले दाबी गरे।

Facebook Notice for EU! You need to login to view and post FB Comments!