जसपाले आज संसदीय दलको विधान पारित गर्दै, दलको नेता को?

जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दै छ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर छलफल गरिरहेको जसपाको आजको संसदीय दलको बैठकमा मुख्यगरी दुइटा एजेन्डामा छलफल हुने एक नेताले जानकारी दिए। संसदीय दलको विधान छलफलपछि पारित गर्ने र संसदीय दलको नेता चयन गर्ने आजका बैठकका एजेन्डा छन्।
‘हाम्रो पार्टीका सांसदहरूलाई संसदीय दलको विधान अध्ययनका लागि दिइएको छ। उहाँहरू अध्ययन गरेर आउनुहुन्छ, आजको बैठकमा छलफलपछि उक्त विधान पारित गरिन्छ,’ ती नेताले सेतोपाटीसँग भने, ‘विधान पारितसँगै संसदीय दलको नेता चयन गर्ने प्रक्रिया चल्छ।’
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपालबीच एकीकरण भए पनि अहिलेसम्म एकीकृत पार्टीको संसदीय दलको नेता चयन भएको थिएन।
गत वैशाख १० गते राजपा र समाजवादी पार्टीको एकतापछि नाम जसपा राखिएको थियो। त्यसबेला उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीले राजपासँग एकीकरण गरेको थियो।
पार्टी विभाजन गर्न सजिलो हुने गरी त्यसबेला सरकारले अध्यादेश ल्याएपछि छोटो समयमै राजपा र समाजवादी पार्टीबीच एकीकरण भएको थियो।
जसपाका एक नेताका अनुसार अब संसदीय दलको नेता पनि चयन गर्नुपर्नेछ। संसदमा चौथो ठूलो दल रहेको जसपामा ३४ मध्ये अहिले ३२ सांसद छन्। दुई सांसद निलम्बनमा छन्।
‘पार्टी एकीकरणकै बेला जसपा संसदीय दलको नेता राजेन्द्र महतोलाई बनाउने सहमति भएको थियो। त्यही सहमति कार्यान्वयन हुन्छ होला,’ ती नेताले सेतोपाटीसँग भने, ‘अहिलेसम्म अरू नेताले संसदीय दलको नेता म हुन्छु भन्नुभएको छैन। सम्भवत: आजै संसदीय दलको नेता चयन हुन्छ।’
एकता हुनुअघि राजपामा महन्थ ठाकुर र संघीय समाजवादी फोरममा उपेन्द्र यादव संसदीय दलका नेता थिए। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले फोरमसँग एकता गरेपछि समाजवादी पार्टी बनेको थियो।
नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले बहुमत गुमाएको खण्डमा ओलीलाई बहुमत जुटाउन अर्को दलको साथ चाहिन्छ। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा छ।
यसैबीच जसपाका शीर्ष नेताहरूले बिहीबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए। जेलमा रहेका सांसद रेशम चौधरीलाई छोड्ने, नेता/कार्यकर्तालाई लगाइएको मुद्दा फिर्ता लिने र संविधान संशोधन गर्न तयार भए सहकार्य हुन सक्ने जसपा नेताहरूले प्रधानमन्त्री ओलीलाई बताएका छन्।
ओली सरकारमा जाने कि नजाने भन्नेमा पनि जसपाभित्र मतभेद छ। संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई ओली सरकारमा जान नहुनेमा छन्। संसदमा नेकपा (एमाले) को १२१ सिट छ। बहुमत १३८ पुर्याउन जसपा सहयोगी बन्न सक्छ। तर जसपाका नेताहरूले आफ्ना माग पूरा हुनुपर्ने बताइरहेका छन्।