अमेरिकामा यात्रुको हातपातमा परेका नेपाली उबर ड्राइभरका लागि उठ्यो २३ हजार डलर, घटनाको छानबिन पनि हुँदै

अमेरिकाको सान फ्रान्सिस्कोमा यात्रुको दुर्व्यवहार भोगेका नेपाली उबर ड्राइभर शुभाकर खड्कालाई सहयोग उठाउन थालिएको छ।
गोफन्डमी डट ओआरजी मार्फत् उनका लागि सहयोग उठाउन थालिएको हो। खड्का अहिले पनि तनाव डरमा रहेकाले उनी काममा फर्किन नसक्ने भएकाले सहयोग गर्न आग्रह गरिएको छ। उनका लागि २० हजार अमेरिकी डलर उठाउने अभियान चलेको थियो। बुधबार बिहानसम्म २३ हजार डलरभन्दा बढी रकम उठिसकेको छ।
ललितपुरका खड्का आठ वर्षअघि अमेरिका गएका थिए। उनी सानफ्रान्सिस्को शहरमा गत आइतबार यात्रुको दुर्व्यवहारमा परेका थिए।
उनको गाडीमा चढ्न आएका तीन जना महिलामध्ये एकले मास्क लगाएकी थिइनन्।
मास्क नलगाएकी उनलाई खड्काले मास्क लगाउन भने। मास्क किन्न उनले एउटा ग्यास स्टेशनमा गाडी रोके।
उबरको मापदण्डअनुसार हरेक यात्रुले मास्क अनिवार्य लगाउनु पर्छ। त्यही भएर खड्काले मास्क लगाउन जोड दिएका थिए।
ती महिला यात्रुले भने मास्क लगाउन अस्वीकार गर्दै खड्कामाथि हातपात गरेकी थिइन्। उनले खड्काको फोनमा खोसेकी थिइन् भने मास्क पनि निकालिदिएकी थिइन्। ती महिलाले उनको अनुहारमा बेलाबेलामा खोकेको पनि भिडिओमा देखिन्छ।
यात्रुले यस्तो दुर्व्यवहार गरेपछि खड्काले उनीहरूलाई गाडीबाट निकालिदिएका थिए। गाडीबाट निस्कने बेलामा ती यात्रुहरूले खुर्सानीको धुलो छर्केका थिए।
पछि उबरले खड्कालाई गाडी सफा गर्न १२० अमेरिकी डलर दिएको थियो। उबर र अर्को राइड सेयरिङ कम्पनी लिफ्टले ती यात्रुहरूलाई आजीवन आफ्नो कम्पनीको सेवा प्रयोग गर्न प्रतिबन्ध लगाएका छन्।
एसियाली मूलका भएकाले खड्कामाथि हातपात भएको भन्दै अहिले यो घटनाले संसारभरि चर्चा पाइरहेको छ।
‘म अरू कोही मानिस भएको भए तिनीहरूले मलाई त्यस्तो व्यवहार गर्दैनथे। मैले उनीहरूसँग कुरा गर्न जब मुख खोलें। उनीहरूले मलाई आप्रवासी ठानेर डराउन सक्छौं भन्ने ठाने,’ एक अमेरिकी सञ्चारमाध्यमसँग खड्काले भनेका छन्,’अर्को मानिससँग यस्तो व्यवहार गर्ने तिमीहरू जनावर हौ।’
सानफ्रान्सिस्को प्रहरीले खड्कामाथि भएको हातपातको अनुसन्धान भइरहेको जनाएको छ।
पछिल्लो समय अमेरिकामा एसियन र अन्य आप्रवासीमाथिको दुर्व्यवहार बढ्दै गएको छ। केही दिनअघि सानफ्रान्सिस्कोमै एक जना एसियाली मूलका ९१ वर्षका वृद्धलाई पनि दुर्व्यवहार भएको थियो।