उपचार गर्न भारत गएकी छन् एमाले अध्यक्ष सन्ध्या तिवारी, महासचिव भन्छन्- निर्वाचन आयोगको पत्र हेरेर कदम चाल्छौं

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको नाममा भएको फैसला गर्दै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको नेकपालाई पुरानै अवस्थामा फर्काइदिएपछि नेपाली राजनीतिमा नयाँ तरंग आएको छ।
सर्वोच्चले नेकपाको एकीकरण नै खारेज गरेर पूर्वएमाले र माओवादी केन्द्र ब्युँताइदिएको छ। सर्वोच्च अदालतले आइतबार यस्तो फैसला गर्दा यी नाममा निर्वाचन आयोगमा अर्कै व्यक्तिका नाममा पार्टी दर्ता भइसकेका थिए। सन्ध्या तिवारीका नाममा नेकपा (एमाले) र गोपाल किराँतीको नाममा माओवादी केन्द्र आयोगमा दर्ता छन्।
किराँतीले २०७६ असोजमा गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह राखेर पार्टी दर्ता गरेका थिए भने तिवारीले २०७७ असारमा पहाडबाट उदाउँदै गरेको सूर्य चुनाव चिन्ह राखेर दर्ता गरेकी थिइन्।
तिवारीले एमाले दर्ता गर्न लागेका बेला प्रचण्डले नेकपा सचिवालय बैठकमै प्रधानमन्त्री ओलीले उक्त पार्टी आयोगमा दर्ता गर्न लगाएको आरोपसमेत लगाएका थिए।
सर्वोच्चको फैसलापछि तिवारी र किराँतीका पार्टीलाई निर्वाचन आयोगले मंगलबार पत्र पठाउन लागेको छ। सर्वोच्चले ती नाममा पुरानै पार्टीलाई ब्युँताइदिएको पत्र प्राप्त भएकोले त्यसबारे आयोगले किराँती र तिवारीलाई जानकारी दिँदै नाम र चुनाव चिन्ह परिवर्तन गर्नेबारे जानकारी दिन लागेको हो।
तिवारी नेतृत्वको एमालेका महासचिव मनिष उपाध्यायले निर्वाचन आयोगले पार्टीलाई पत्र पठाउनेबारे जानकारी सञ्चारमाध्यमहरूबाट पाएको बताए।
‘मलगायत साथीहरू पार्टीकै कामले उपत्यकाबाहिर छौं। निर्वाचन आयोगले पार्टीलाई पत्र पठाउने तयारी गरेको भन्ने समाचार पढेँ। पत्र हेरेपछि पार्टीले आवश्यक निर्णय लिन्छ,’ उनले सेतोपाटीसँग भने, ‘पर्सि हाम्रो पार्टीको केन्द्रीय समिति बैठक बस्ने तयारी पनि छ।’
उनले नेकपा नामबारे सर्वोच्चले आइतबार गरेको फैसलालाई भने मान्दिनँ भन्न नमिल्ने बताएका छन्।