प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको बहुमत छ: अर्थमन्त्री पौडेल

ओली समूहको नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार नै अझै दुई वर्ष टिक्ने दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउन गरिएका क्रियाकलाप निरर्थक हुने र बाँकी दुई वर्ष पनि ओलीकै नेतृत्वमा सरकार हुने उनले बताए। बिहीबार बुटवल आएका पौडेलले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै ओलीलाई सरकारबाट हटाउन गरिएका सबै षडयन्त्र र कोशिश निरर्थक, व्यर्थ र असफल हुने बताए।
‘नेकपाको संसदीय दलमा मात्रै होइन, प्रधानमन्त्री ओलीका पक्षमा प्रतिनिधिसभामा पनि बहुमत छ, प्रतिनिधिसभाको बाँकी २ वर्षको कार्यकाल ओलीकै नेतृत्वमा अगाडि बढ्छ र उहाँलाई हटाउने कोशिश निरर्थक, व्यर्थ र असफल हुन्छन्,’ पौडेलले भने।
पौडेलले आफूहरू अहिले नै निर्वाचनमा जान चाहे पनि प्रतिनिधिसभा पुनर्स्थापना भएपछि दुई वर्षको लागि त्यो टरेको भए पनि निर्वाचन पछि पुनः ओली नेतृत्वको नेकपा नै मुलुक सम्हाल्ने प्रमुख शक्तिको रूपमा स्थापित हुने जिकिर गरे।
अहिले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि ढिलोमा दुई वर्षभित्र निर्वाचन हुन्छ, त्यो बेला यो पार्टीलाई मुलुक सम्हाल्ने प्रमुख शक्तिका रूपमा जनताले स्थापित गर्नेमा हामी विश्वस्त छौं,’ पौडेलले भने।
पौडेलले लोकतन्त्रमा कुनै पनि राजनीतिक दललाई प्रमुख शक्तिको मान्यता प्रदान गर्ने र स्थापित गर्ने अन्तिम अधिकारी जनता रहेको उल्लेख गर्दै नेपाली जनताले ओली नेतृत्वको नेकपालाई आफूहरूको र मुलुकको बागडोर सम्हाल्ने पार्टीको रूपमा देख्न चाहेको बताए।
मुलुकको सबैभन्दा शक्तिशाली र बलियो रहेको तत्कालीन एमालेको १५ वर्ष नेतृत्व गर्दा माधव नेपालले तेस्रो स्थानमा पुर्याएकाले अहिले पनि उनलाई नेकपा शक्तिशाली बनेको चित्त नबुझेर नेकपालाई फुटाउने विभाजनकारी भूमिका खेलेको पौडेलको आरोपछ।
‘माधव नेपालले १५ वर्षे आफ्नो नेतृत्वमा देशको प्रमुख पार्टीलाई तेस्रोमा धकेलिदिनुभयो, ओलीले तेस्रो भएको पार्टीलाई पहिलोमा स्थापित गरेको उहाँलाई पचेन त्यसैले पहिलो पार्टीलाई दोस्रो, तेस्रो, चौथो र पाँचौंसम्म पुर्याइदिन्छु भनेर विभाजनको धन्दामा लाग्नुभएको छ,’ उनले भने।