जिडिपी मापनको आधार वर्ष फेरियो, अर्थतन्त्रको आकार बढ्ने

नेपालको अर्थतन्त्र मापनको आधार वर्ष परिवर्तन भएको छ।
केन्द्रीय तथ्यांक विभागले कूल ग्राहस्थ उत्पादन (जिडिपी) को वार्षिक मापनको आधार वर्ष परिवर्तन गर्ने घोषणा गरेको छ। हालसम्म आर्थिक वर्ष सन् २०००/२००१ को मूल्यमा कूल ग्राहस्थ उत्पादनको मापन हुँदै आएको थियो। बीस वर्ष पुरानो मूल्य आधारबाट अहिलेको वास्तविक अर्थतन्त्रको मापन कठिन भएको भन्दै विभागले आधार वर्ष परिवर्तन गरेको हो।
अर्थतन्त्रमा नयाँ क्षेत्र उदाउँदै आएको र परिवेश पनि फेरिएको भन्दै विभागले सन् २०१०/२०११ लाई नयाँ आधार वर्ष निर्धारण गरेको छ।
यो नयाँ आधार वर्ष लागू भएपछि हालको अर्थतन्त्रको आकार पनि केही बढ्ने विभागले अनुमान गरेको छ।
अन्तर्राष्ट्रिय मापदण्ड र सिद्धान्तअनुसार नै आधार वर्ष परिवर्तन गरिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए।यो नेपालको इतिहसमा पाँचौं आधार वर्ष हो ।