Oct 25, 2021

हिरासतबाट छुटेर सुमन सायमिले छोरीहरूलाई अँगाल्दै भने- राम्रो काममा हतकडी लगाएको, डराउनुपर्दैन

Mar 03 , 2021

एक साताअघि बालाजुका सडक विस्तार पीडितहरूको हकका लागि संघर्ष गर्दा जेल परेका अभियन्ता सुमन सायमिसहित आठ जनालाई मंगलबार सर्वोच्च अदालतले रिहा गर्‍यो। मंगलबारै साँझ ५ बजे इन्द्रचोकमा नेवा: भूमि अतिक्रमण र भाषिक-सांस्कृतिक दमनविरूद्ध मैनबत्ती र्‍याली थियो। सायमि र अन्य अभियन्ता जसै सर्वोच्च अदालतबाट इन्द्रचोक पुगे, मैनबत्ती र्‍याली विजय जुलुसमा परिणत भयो।

त्यहाँ हर्षोल्लासका साथ उनीहरूलाई अबिर-माला र खादाले स्वागत र सम्मान गरियो। विरोध कार्यक्रमका सहभागीले सायमिको रिहाइमा जितको नारा लगाए। सायमिले ‘मलाई नेपाल भाषा बोल्दा जेल कोचियो’ भनेर लेखिएको प्लेकार्ड बोेकेका थिए। कार्यक्रमका सहभागीमा उनीसँग तस्बिर खिच्न तँछाडमछाड थियो। कति उनको सन्चो-बिसन्चो सोध्न झुम्मिएका थिए भने कति त उनलाई पृष्ठभूमिमा पारेर आफ्नै सेल्फी खिच्दै थिए।

केही बेरमा मैनबत्ती र्‍याली इन्द्रचोकबाट अघि बढ्यो र नरदेवी, छत्रपाटी, वसन्तपुर हुँदै कालिमाटी पुग्यो। यसबीच ठाउँ-ठाउँमा स्थानीयहरू सुमन लगायत सडक-पीडित अभियन्ताहरूसँग भेट्न र कुराकानी गर्न आइरहेका थिए। उनीसँग तस्बिर खिच्ने क्रम पनि चलिरहेकै थियो।जुलुस जसै कालिमाटी चोक पुग्यो, त्यहाँ पहिलेदेखि कुरेर बसेका सुमनका दुई जना छोरी आफ्ना बाबालाई अँगालो मार्न आए। छोरीहरूले यसरी अंगाल्दा सुमन भक्कानिए।

हामी इन्द्रचोकदेखि नै सुमनलाई पछ्याउँदै जुलुस सँगसँगै हिँडेका थियौं। छोरीहरूलाई अँगालेपछि सुमनले हामीतिर हेर्दै भने, ‘मैले छोरीहरूलाई कहिल्यै यसरी छाडेको थिइनँ। मलाई पुलिसले समातेको थाहा पाउँदा यिनीहरू एकदमै डराएका थिए। सानी छोरीले त हतकडी लगाएको देखेर चोर-डाँकालाई पक्रेजस्तो ठानिछन्। मैले उनलाई ‘यो हतकडी राम्रो कामका लागि लगाएको हो, त्यसैले डराउनुपर्दैन’ भनेर सम्झाएको थिएँ।’

सुमनले आफ्ना दुई छोरीको नाउँ नेपाल भाषामा राखेका छन्- २१ वर्षकी सुता र १६ वर्षकी अजं।

यो उनको मातृभाषा हो। बुधबार बालाजुबाट पक्राउ गरिएका ६ जना सडक-पीडितलाई प्रहरी कार्यालयमा भेट्न जाँदा सुमन र अर्का अभियन्ता विरोचन श्रेष्ठले यही भाषा प्रयोग गरेका थिए। प्रहरीले नबुझ्ने भाषामा कुरा गरेको भन्दै उनीहरूलाई पनि समाते।

‘म त उनीहरूको हालखबर बुझ्न गएको थिएँ। उनीहरूलाई केही चाहिएको छ कि, चिया-खाना खायो कि खाएन, उपचार गर्‍यो कि गरेन भनेर सोध्न गएको थिएँ। हामी सबै नेवा: भएकाले सजिलोका लागि नेपाल भाषामा कुराकानी गरेका थियौं। एक जना प्रहरीले नबुझ्ने भाषा नबोल्नू भन्नुभयो,’ सुमनले हामीसँग भने, ‘मलाई प्रहरीले त्यसो भनेको मन परेन। मैले कुन भाषामा कुरा गर्ने भनेर प्रहरीले आदेश दिने होइन। हाम्रो मातृभूमिमा नेपाल भाषा बोल्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो। यही कुरा प्रहरीलाई भन्दा उनीहरूले धरपकड गर्न थाले।’

सुमनले सडक विस्तार पीडितहरूको हक-अधिकारको आवाज उठाउन थालेको छ वर्ष भयो। उनी उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष छन्।

काठमाडौं उपत्यकाका रैथाने नेवा:हरूलाई विकासका नाममा पुर्ख्यौली घरजग्गाबाट उठिबास लगाउने जुन प्रवृत्ति जारी छ, उनी त्यसको विरोधमा उपत्यकाभरि दौडधूप गर्छन्। हरिसिद्धिमा डोजर चल्दा हरिसिद्धि पुग्छन्, खोकनाको मुद्दा उठे खोकनातिरै लम्किन्छन्।

स्थानीय अधिकारको पक्षमा वकालत गर्ने भएकाले उनी काठमाडौंको रैथाने आवाज बनेका छन् र निकै सम्मानित पनि छन्। उनलाई पक्रेको विरोधमा आइतबार बिहान १० देखि १२ बजेसम्म कालिमाटी चोकदेखि सोल्टीमोडसम्मको बजार पूरै ठप्प भएको थियो। स्थानीयले स्वतस्फुर्त पसल बन्द गरेका थिए। कार्यक्रम असफल पार्न प्रहरीहरू एकतर्फी रूपमा पसलको सटर खोल्दै हिँडेको देखिन्थ्यो। त्यसको भोलिपल्ट माइतीघर मण्डलमा आयोजित विरोध कार्यक्रममा पनि हरिसिद्धिदेखि खोकना र बालाजुदेखि थानकोटसम्मका स्थानीय आएका थिए।

यसरी भूमि अतिक्रमणको विरोधमा पूर्णकालीन रूपले लाग्नुअघि सुमन आफ्नो पुर्ख्यौली व्यापारमै रमाइरहेका थिए। उनको परिवार राजनीतिक पृष्ठभूमिको भए पनि उनलाई राजनीतिमा खासै रूचि थिएन।

सुमन कालिमाटीका चर्चित वामपन्थी नेता जीवनराम मानन्धरका छोरा हुन्। कालिमाटीमै उनीहरूको पुरानो मिठाइ पसल र होलसेल पसल छ। वडा नम्बर १३ का बासिन्दामा जीवनरामको मिठाइ भनेपछि नाम नसुन्ने कमै छन्। सुमनले आफ्नो बाबुबाट राजनीतिमा धेरै संघर्ष गर्नुपर्छ भन्ने देखेका र बुझेका थिए। त्यही भएर उनमा राजनीतिभन्दा व्यापारतिरै बढ्ता लगाव थियो।

एकदिन यस्तो आयो, उनी नचाहेर पनि भूमि अतिक्रमणको मुद्दा उठाउँदै सडकमा आउन बाध्य भए।

उनको जिन्दगीको यो ‘टर्निङ प्वाइन्ट’ छ वर्षअघि आएको थियो, जब कालिमाटीका घरहरूमा डोजर चलाएर सडक विस्तार गर्न खोजियो। उनको आफ्नै घर पनि त्यसमा पर्थ्यो।

यसरी पुर्ख्यौली थातथलो नै उजाडिने भएपछि सुमन जुर्मुराए।

नरम र गुलियो मिठाइ बेच्दै आएका उनी नेवा: भूमि अतिक्रमणको विरोधमा चर्को र खस्रो नारा लगाउँदै सडकमा आए।

‘मलाई जहिले पनि ठूलो सडक चाहिन्छ भन्ने लाग्थ्यो। कसैले पनि यो विकास होइन, विनाश हो भन्ने बुझाएका थिएनन्,’ मंगलबार मैनबत्ती र्‍याली सकिएपछि राति अबेरसम्म हामीसँग लामो कुराकानी गर्दै सुमनले भने, ‘जब मेरो आफ्नै घरमा डोजर चल्ने अवस्था आयो, बल्ल म झल्याँस्स भएँ।’

उनले अगाडि भने, ‘त्यति बेलासम्म मलाई डोजर चलाइने भनेको कागजपत्र नभएका वा मापदण्ड मिचेर बनाइएका घरहरूमा होला भन्ने लाग्थ्यो। तर, म गलत रहेछु। हाम्रो घर कानुनी रूपमा पक्का छ। सबै कागजपत्र छ। कुनै मापदण्ड हामीले मिचेका छैनौं। त्यस्ताे ठाउँमा पनि दिनदहाडै कानुन उल्लंघन गरेर, हामीसँग भएका सरकारी कागजपत्रको बेवास्ता गर्दै सरकार आफैं डोजर चलाउन र हामीलाई सुकुम्बासी बनाउन कस्सिन्छ भने हाम्रो अधिकारको रक्षा कसले गर्ने? सारा नियम-कानुन लत्याएर पुलिस आफैं आतंक मच्चाउन आउँछ भने हाम्रो हकको पक्षमा को बोल्ने? यही सोचेर म सडकमा आउन बाध्य भएँ।’

उनले यो पनि भने, ‘त्यो घटनाले मलाई सिकायो, मान्छेको भावना भनेको आफ्नो घर र आफ्नो जग्गासँग जोडिएको हुँदो रहेछ। अनि मैले सडक विस्तारको मुद्दालाई गम्भीरतापूर्वक लिएँ।’

त्यसपछि त एउटा सिलसिला नै चल्यो। उनी काठमाडौं उपत्यकाभरि जहाँ जहाँ सडक विस्तारले मान्छेको उठिबास हुन्छ, त्यहाँ त्यहाँ पुग्न थाले। राज्यले अन्यायमा पारेका स्थानीय नेवा:हरूलाई आफ्नो भावनात्मक र संघर्षको आडभर दिए। कहीँ उनीहरूसँगै आन्दोलनमा होमिए, कहीँ उनीहरूलाई संगठित गरेर आन्दोलन गर्न सघाए।

उनले काठमाडौं उपत्यकाभरि विस्तार गर्ने उद्देश्यले सडक विस्तार पीडितहरूको संघर्ष समिति गठन गरे। अहिले यो समिति त्रिपुरेश्वर, कलंकी, थेँचो, हरिसिद्धि, थली, साँखु, सुन्दरीजल लगायत ३२ ठाउँमा विस्तार भएको छ।

‘म पेसाले व्यापारी हुँ। व्यापारले सामूहिकता सिकाउँछ,’ उनले भने, ‘व्यापार होस् या संघर्ष, सामूहिक रूपमा अघि बढे मात्र लक्ष्यमा पुग्न सकिन्छ। हाम्रो शक्ति भनेकै हाम्रो एकता हो।’

बालाजु बाइपासको मुद्दा भने यो संघर्ष समिति खुल्नुभन्दा अगाडिकै हो। समिति गठन २०७३ सालमा भएको थियो भने बाइपासमा डोजर आतंक सुरू भएको २०७० सालबाटै हो। त्यसैले आफ्नो संस्थाले चाहेर पनि त्यहाँको सडक विस्तार समस्यामा धेरै काम गर्न नपाएकोमा उनलाई दु:ख छ।

‘बाइपासबाट ३९ घरपरिवारलाई बिनामुआब्जा विस्थापन गरियो,’ सुमनले भने, ‘आफू जन्मे-हुर्केको घर उजाडिनुको यस्तो पीडा कसैले भोग्नु नपरोस्।’

यस्ता गैरन्यायिक सडक विस्तारविरूद्ध आवाज उठाउने गरेकाले उनी अहिलेसम्म पाँचपटक पक्राउ परिसके। हरेकचोटि बिनाआधार पक्राउ गरिएकाले उनी एकदिनमै रिहा हुन्थे। यसपालि पहिलोपटक सात दिन हिरासतमा बस्नुपरेको उनी बताउँछन्।

‘जेलमा कोचे पनि मलाई कुनै डर लागेन, किनभने दुःख नभई सुख हुँदैन भन्ने मलाई थाहा छ। यहाँ आफैं नउठेसम्म केही हुँदैन भन्ने मैले बुझिसकेको छु। हामीले आफ्नो भूमि, आफ्नो भाषा, आफ्नो संस्कृति र आफ्नो पहिचानको रक्षाका लागि दुःख नगरी हुन्न,’ उनले भने।

आफूलाई यसपालि नेपाल भाषा बोलेकै कारण पक्राउ गरिएकाले अब काठमाडौंमा भाषिक आन्दोलन सुरू गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

‘अब म जुनसुकै प्रशासन, जुनसुकै कार्यालयमा जोसुकैसँग नेपाल भाषामै कुरा गर्छु। मैले बोलेको नबुझे उनीहरूले अनुवाद गर्ने मान्छे राखून्। मलाई मेरो मातृभाषा बोल्ने हक हाम्रो संविधानले दिएको हो। कि यो राज्यले संविधान मान्दिनँ भन्नुपर्यो कि हामीले आफ्नो संवैधानिक हक उपभोग गर्न पाउनुपर्यो। संविधानमा जे छ त्यो हामी लिएर छाड्छौं र नपुगेको थप्छौं पनि,’ उनले भने।

उनले अगाडि थपे, ‘जुन लिपि, भाषा र संस्कृतिले हामी विश्वसामु चिनियौं, त्यसैमा प्रतिगमन गर्ने? हामीले यसलाई जोगाएनौं भने पछि पछुताउनुको विकल्प रहँदैन।’

सहरको विकासबारे पनि उनको प्रस्ट धारणा छ। स्थानीय समुदायको जीवनको मूल्यमा कुनै पनि विकास स्वीकार्य नहुने उनी बताउँछन्।

‘सहर विकास गर्दा त्यो ठाउँ कसरी बनेको छ, त्यहाँ के-के सम्पदा स्थल छन्, सडक आवश्यक छ कि छैन, सडक फराक पार्दा जात्रापर्वहरू बच्छ कि बच्दैन, त्यहाँको समुदायलाई असर पुग्छ कि पुग्दैन लगायत सबै विषयमा मिहिन अध्ययन हुनुपर्छ। मूलबासी नै विस्थापन हुने गरी सहर विकास गरेर के काम? त्यो विकास कसका लागि?’ उनले भने।

‘कुनै पनि नयाँ योजना ल्याउँदा त्यसले स्थानीयलाई राम्रो हुँदैन, उनीहरूको भलो हुँदैन र उनीहरू त्यसलाई अस्वीकार गर्छन् भने राज्यले उनीहरूको अस्वीकारलाई स्वीकार गर्नुपर्छ। स्थानीय आवाज व्यवस्थापन नगरी टेन्डर खोल्ने, कानुनी प्रक्रिया पूरा नगरी डोजर आतंक सुरू गर्ने प्रवृत्तिको हामी विरोध गर्छौं।’

उनले प्रस्तावित स्मार्ट सिटीको उदाहरण पनि दिए।

‘स्मार्ट सिटी अवधारणाले कति धेरै उत्पादनशील भूमि सखाप पारेको छ। ती भूमि नरहेपछि हामी कसरी आत्मनिर्भर हुन सक्छौं? के सत्तामा बस्नेले जनताको भूमि खोसेर सधैं उनीहरूलाई दास बनाइरहने? के यही हो हामीले चाहेको विकास? सरकारले सुकुम्बासीलाई खोला किनारमा घर बनाउन दिने अनि यहाँको मूलबासीको घरखेत चाहिँ खोस्ने, के यही हो अग्रगमन?’

उनले एकपछि अर्को प्रश्नै प्रश्न गरे, जसको जवाफ नखोजी यो आन्दोलन नरोकिनेमा उनी दृढ छन्।

पृथ्वीनारायण शाहको पालामा राज्य एकीकरणको नाममा होस् या राणाकालमा अधिग्रहणको नाममा वा शिक्षा, स्वास्थ्य, प्रशासनका नाममा- यहाँ सधैं रैथाने नेवा:हरूको जग्गा अतिक्रमणको सिलसिला चलिरहेको सुमन बताउँछन्।

‘विकासको नाममा विनाशको यो क्रम जारी छ। हामीलाई भूमिहीन बनाउने र हाम्रो पहिचान समाप्त पार्ने विकास अब हामीलाई चाहिएको छैन। काठमाडौं जाग्दैछ, यहाँका नेवा:हरू जाग्दैछन्। राज्यले अब पनि हाम्रो आवाज सुनेन भने यसकाे ठूलो मूल्य चुकाउनुपर्नेछ,’ उनले भने।

छुट्टिने बेला हामीले सोध्यौं, ‘तपाईं हिरासतमा भएको बेला तपाईंको नाम कालिमाटी बजार नै बन्द भयो नि!’

जवाफमा उनले भने, ‘तपाईंले समुदायलाई जे दिनुभयो, समुदायबाट त्यस्तै पाउने हो। तपाईंलाई मैले सम्मान दिएँ भने मैले पनि तपाईंबाट सम्मान पाउँछु। हामीले नागरिकको मौलिक हकको कुरा उठायौं, नागरिकहरूले देखाएको यो माया त्यसैको परिणाम हो। मान्छेको भावनासँग जोडिएको घर बचाउन हामी लडेकाले उनीहरू खुसी भएका हुन्।’

सुमन सायमिसँग अन्तर्वार्ता सकेर हामी घर फर्कंदा झन्डै रातको ९ बजिसकेको थियो। कालिमाटी चोक सुनसान थियो। फाट्टफुट्ट मात्र गाडी देखिन्थे। इन्द्रचोकबाट सुरू मैनबत्ती र्‍याली कालिमाटीको जुन ठाउँमा आएर सभामा परिणत भयो, त्यहाँ पोखिएको अबिरको रातो सडकबत्तीको प्रकाशले टलक्क टल्किएको थियो।