Oct 26, 2021

‘हाम्रो गाउँ राजाले होइन, शंकर डाक्टरले जोगाएका हुन्’

Feb 28 , 2021

२०१७ सालको सेरोफेरोमा बहुसंख्यक नेपालीलाई अक्षर चिन्नै हम्मे थियो। सीमित शैक्षिक संस्था थिए, औंलामा गन्न सकिने विद्यार्थी।

त्यही बेला शंकरप्रसाद उप्रेतीले एमबिबिएसको पढाइ पूरा गरिसकेका थिए।

तेह्रथुमको हुनेखाने परिवारका सदस्य थिए उनी। जिन्दगीमा उनले जति पनि अभावका अफ्ठयारा भोग्नुपर्‍यो, ती सबै पढ्ने रहरका उपज थिए।

अभावका ती अफ्ठयारा दिनहरूलाई उनी ‘मौका’ भन्ने गर्थे।

‘मैले गरिबी, अभाव र त्यसको अफ्ठयारोलाई विद्यार्थीकालमै चिन्न पाएको थिएँ,’ ११ वर्षअघि झापा शनिश्चरेस्थित निवासमा नागरिक दैनिकका लागि मलाई अन्तरवार्ता दिँदा उनले भनेका थिए, ‘गरिबी र अभावको त्यही भोगाइले मलाई मान्छेहरूका दुःख चिन्ने मौका दियो। त्यसमा मैले गर्ने सहयोग भनेको उनीहरूलाई नि:शुल्क उपचार गरिदिएर हो। त्यही भएर बिरामी जाँचेको शुल्क मैले कहिल्यै नलिएको हो।’

करिब ५० वर्ष गाउँमा यसरी नि:शुल्क स्वास्थ्य सेवामा खटिएका र त्यही क्रममा नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि उल्लेख्य योगदान गरेका उनै ‘शंकर डाक्टर’ ले शनिबार राति ११ बजे जीवनको अन्तिम श्वास लिए।

उनको निधनको खबर फैलिएसँगै उनीबाट वर्षौंसम्म उपचार सेवा लिएका झापासहित मेची र कोशी पहाडका धेरै सर्वसाधारणले गुनिला डाक्टर गुमाएको अनुभव गरे। तिनैमध्ये एक हुन्, झापा खुदुनाबारीकी होमकुमारी सुवेदी।

‘डाक्टर बा खस्नुभएको सुन्दा आफ्नै बुबा बितेजस्तो भयो,’ उनले सेतोपाटीसँग फोनमा भनिन्, ‘हाम्रो गाउँघरका सबैको उपचार गरिदिने उहाँ नै हो।’

५९ वर्षीया सुवेदीका अनुसार उनी सानै छँदा ज्वरोले सिंगो गाउँ थला परेको थियो। उनीसहित परिवारका सात–आठ जना पनि इन्तु न चिन्तु थिए। ‘त्यो बेला गोरुगाडामा बसेर गएको सम्झना छ,’ उनले भनिन्, ‘उहाँले सबैको उपचार गराएर निको पार्दिनुभएको थियो।’

त्यसपछिका धेरै वर्ष गाउँलेले भन्थे रे, ‘हाम्रो गाउँ राजाले होइन, शंकर डाक्टरले जोगाएका हुन्।’

लामो समय नेपाली कांग्रेस झापाको नेतृत्व गरेका संविधानसभा सदस्य सुधीरकुमार सिवाकोटीका अनुसार डा. उप्रेती झापा र आसपासका बिरामीका लागि भरपर्दा अभिभावकजस्ता थिए।

‘उहाँकोमा उपचार गर्न जाने कसैले कहिल्यै पैसा नभएका कारण सेवा नपाएको गुनासो गरेनन्,’ सिवाकोटीले सुनाए, ‘जस्तोसुकै बिरामीले पनि उहाँको सानिध्य पाएपछि बिसेक भएको अनुभव गर्थे। हजारौंलाई स्वास्थ्य सेवा प्रदान गर्ने उहाँले झर्को मानेको वा अल्छी गरेको कहिल्यै थाहा भएन।’

झापाको शनिश्चरेलाई लामो समय कार्यथलो बनाएर पछिल्लो समय काठमाडौं बस्दै आएका उप्रेती १९९१ सालमा आठराई चुहानडाँडामा जन्मिएका थिए। त्यस बेला गिनेचुनेका धनाढ्यमा गनिन्थे उनका बुबा, मेदिनीप्रसाद उप्रेती। मेदिनीका काहिँला छोरा शंकरलाई सानैमा अभावको अफ्ठयारोसँग साक्षात्कार गराउने माध्यम चाहिँ उनीभित्रको पढ्ने हुटहुटी नै थियो।

‘असाध्यै पढ्ने रहर भए पनि पहाडमा त्यस्तो पढ्ने व्यवस्था थिएन। त्यसैले घरबाट भागेर विराटनगर आई एक जना उप्रेतीकै घरमा बालश्रमिक भई काम गर्न थाल्नुभयो,’ लेखक कृष्ण धराबासीले सेतोपाटीसँग भने, ‘राम्रो आर्थिक अवस्था हुँदाहुँदै पढ्ने रहरले अनेक हण्डर र ठक्कर भोग्नुभयो। हेर्दा उप्रेती परिवारको छोरो सुखसयलमा हुर्केको ठान्छन् तर उहाँले स्कुले जीवनमै जे भोग्नुभयो, त्यो चरम गरिबी र अभाव थियो।’

लेखक धराबासी डा. उप्रेतीको अभिभावकत्वमै हुर्केका व्यक्ति हुन्। शंकरका छोरा लेखक तथा नागरिक अभियन्ता सञ्जिव उप्रेतीका बालसखा पनि हुन् धराबासी। उनका अनुसार पढाइको सिलसिलामा विराटनगरमा छँदा २००४ सालको विराटनगर जुट मिलको मजदुर आन्दोलनमा उनी फुच्चे आन्दोलनकारी भएर सहभागी थिए।

‘उहाँलाई त्यहाँबाट भेटेर काठमाडौंमा बसेका माहिला दाइले ल्याउनुभो। तर, काठमाडौंमा पढाइमा फेल भएपछि त्यहाँबाट पनि भागेको मान्छे नुवाकोट, धादिङ, कताकता हुँदै महिनौं लगाएर भारतको कानपुर पुग्नुभयो। कम उमेर भएकाले त्यहाँ एउटा मिलमा पाउनै लागेको काम पनि पाउनुभएन,’ २०७२ सालको नेपाल म्यागजिनमा धराबासीले डा. उप्रेतीबारे लेखेका छन्, ‘अनि, एउटा असल मान्छेकहाँ पढ्न पाउने सर्तमा घरेलु कामदार भएर बस्नुभयो। अत्यन्त कठोर परिश्रमसँगै आफ्नो पढाइलाई अघि बढाउँदै एसएलसी उत्तीर्ण गर्नुभयो। आइएस्सी उत्तीर्ण गरी नेपाल आएका उहाँ कोलम्बो प्लानअन्तर्गत फेरि भारत नै पुग्नुभयो।’

धराबासीका अनुसार कोलम्बो प्लानमा पढ्ने अवसर पाएकै बखत शंकरले इरादा गरेका थिए- एमबिबिएससम्म मात्र पढ्नेछु, अनि जीवनभर गाउँमा बसेर सेवा गर्नेछु।

२०१७ देखि २०२२ सालसम्म भोजपुर र धनगढीमा सरकारी जागिरमा रहेपछि २०२६ सालमा उनी आफ्नै गाउँ झापाको शनिश्चरे फर्किए। त्यहाँ बसेर उनले जे जति गरे, अहिले शंकर डाक्टर र डाक्टर बा भनेर एउटा पुस्ताले श्रद्धापूर्वक सम्झने कारण त्यही हो।

उनको चिकित्सकीय जीवनका दुईवटा घटना आफूले कहिल्यै भुल्न नसक्ने धराबासी बताउँछन्।

‘एकदिन एउटा मानिस घाँस काट्न चढेको रूखबाट लड्दा चोके गर्धन छेडेर वारपार भएछ,’ उनले भने, ‘गोरुगाडामा हालेर उनलाई ल्याउनेहरूको लर्को थियो। बाच्ने आशा मारेका सबैको अनुमानविपरीत उहाँले चोके निकाल्नुभयो। ती मान्छेको ज्यान बच्यो। त्यो बेला उहाँलाई धेरैले देउता भने।’

सर्पले टोकेर बेहोस मानिसलाई उपचार गर्दिनँ भन्दाभन्दै आफन्तको करले उपचार गर्दा उनले प्रहरी खोरसम्म पुग्नुपरेको थियो। आफन्तकै करले एन्टी स्नेक भेनम लगाइदिए पनि बिरामी बाँचेनन्। जब तिनको मृत्यु भयो, आफन्तले प्रहरी गुहारे। प्रहरीले एकरात थुनेर छाडिदियो। त्यो दिनदेखि उनले सर्पले टोकेकाको उपचार कहिल्यै नगरेको धराबासीले बताए।

कांग्रेस झापाका सभापति उद्वव थापा डा. उप्रेतीले राजनीति र उपचार सेवालाई सधैं सन्तुलनमा राखेर अघि बढाएकाले आफू सदैव प्रभावित बनेको बताउँछन्। थापा झापाका त्यस्ता थोरैमध्ये पर्छन्, जसले लामो समय उनको उपचार सेवा र राजनीतिक छत्रछाया दुवै प्राप्त गरे।

‘२०३६ सालको जनमतसंग्रहमा उहाँले झापामा बहुदलीय व्यवस्थाका पक्षमा भएको आन्दोलनको नेतृत्व गर्नुभएको थियो,’ थापाले भने, ‘२०४६ को जनआन्दोलनमा पनि उहाँले कांग्रेस तर्फबाट सडकको नेतृत्व सम्हाल्नुभएको थियो।’

प्रजातन्त्र पुनःस्थापनालगत्तै भएको निर्वाचनपछि उनी राष्ट्रियसभा सदस्य बने। संसद अधिवेशनभर काठमाडौं बस्ने उनी संसद सकिएलगत्तै गाउँ आएर उपचार कर्ममा लागिहाल्थे। उनको यस्तो कर्मशीलता सधैं अनुकरणीय रहेको थापा बताउँछन्।

मधुमेहबाट पीडित उनी डेढ वर्षयता मस्तिष्कघातको चपेटामा परेर बोली लर्बरिने समस्या झेलिरहेका थिए। गाउँमा बसेर ५० वर्ष लामो उपचार सेवा गरेका डा. शंकरप्रसाद उप्रेतीले २०७६ सालमा स्वेच्छिक अवकाश लिएका थिए।

सर्वसाधारणको उपचारमा उदाहरणीय रूपमा जीवनभर होमिएका तिनै गुनिला डाक्टरले शनिबार जीवनबाट सदाका लागि अवकाश लिए।