Sep 23, 2023

भारत र चीनका विदेश मन्त्रीबीच ७५ मिनेट फोन-वार्ता

Feb 26 , 2021

अघिल्लो वर्ष सीमामा निकै तनावपूर्ण सम्बन्ध झेलेका भारत र चीनका विदेश मन्त्रीबीच टेलिफोनमा कुराकानी भएको छ।

बिहीबार भारतीय विदेश मन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यीबीच फोन वार्ता भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सीमा क्षेत्रमा सैन्य फौज घटाउने र तनाव कम गर्ने विषयमा भएको छलफल ७५ मिनेटसम्म चलेको थियो।

दुई विदेश मन्त्रीबीच पूर्वी लद्धाखको लाइन अफ एक्च्युल कन्ट्रोलबारे र अरू सबै सीमा क्षेत्रबारे कुराकानी भएको थियो।

जयशंकरले सीमाको मुद्दा सुल्झिन समय लाग्ने भए पनि  सीमा क्षेत्रमा हिंसा हुँदा सम्बन्धलाई बिगार्ने बताएका थिए।

दुई मन्त्री सीमा क्षेत्रबाट सैनिकहरू पछाडि हटेर अवस्था सामान्य भए पनि थप वार्ता गर्न पनि सहमत भएका छन्।

उनीहरूबीच निरन्तर सम्पर्कमा रहने र त्यसका लागि हटलाइन पनि खोल्ने सहमति भएको छ।

गत वर्षको जुनमा गल्वान भ्यालीमा दुई देशका सेनाबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो।  उक्त झडपमा मारिएका चार जना सैनिकबारे चीनले अघिल्लो सातामात्रै  जानकारी दिएको थियो।

१ अर्ब बढी जनसंख्या भएका विश्वका यी दुई आणवीक शक्ति राष्ट्रको सीमा निर्धारण हुन बाँकी छ। दुबै पक्षले पूर्वी र पश्चिम सेक्टरमा बेला-बेलामा एक अर्काले सीमा अतिक्रमण गरेको आरोप लगाउने गरेका छन्। सीमामा तैनाथ हुने दुबै देशका सैनिकसँग हतियार नहुने भएकाले उनीहरू धकेलाधकेल हुन्छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!