May 30, 2023

प्रचण्ड-नेपालले जसपा नेताहरूलाई भने- प्रतिगमन सच्चियो, अब मिलेर जाऔं

Feb 25 , 2021

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय  पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले जनता समाजवादी पार्टीका नेताहरूलाई मिलेर जान प्रस्ताव गरेका छन्।

बिहीबार नेकपा कार्यालय पेरिसडाँडामा भएको छलफलका क्रममा प्रचण्ड-नेपालले जसपा नेताहरूलाई मिलेर जान प्रस्ताव गरेका हुन्।

छलफलमा नेकपाबाट प्रचण्ड र नेपाल सहभागी थिए भने जसपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी थिए।

छलफलमा सहभागी जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले प्रचण्ड-नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमन सच्चिएकाले अब मिलेर जान प्रस्ताव गरेको बताए।

‘उहाँहरूले प्रतिगमन सच्चियो अब मिलेर जाऔं भन्नुभयो,’ महतोले भने,‘हामीले ओलीले गरेको एउटा प्रतिगमन त सच्चियो तर संविधान जारी भएका बेला भएको प्रतिगमन सच्चिएको छैन भन्यौं।’

उनले आफूहरू संविधान जारी भएका बेलाको भएको प्रतिगमन पनि सच्याउने आन्दोलनमा रहेको बताए।

‘हाम्रो लडाइँ त जारी छ भन्यौं,’ उनले भने।

प्रचण्ड-नेपालले सरकारमा पनि सहकार्य गर्न प्रस्ताव गरेका थिए। जसपा नेताहरूले भने नेकपा नै आधिकारिक रूपमा विभाजित नभएकाले अन्यौल भएको बताएका थिए।