Sep 18, 2023

दलहरूलाई छलफलका लागि बोलायो निर्वाचन आयोगले

Feb 14 , 2021

निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्न लागेको छ।

निर्वाचन सम्बन्धी आचारसंहिताबारे छलफल गर्न आइतबार बिहान ११:३० बजे दलहरूलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

‘संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दलहरूलाई छलफलका लागि बोलाइएको हो,’ श्रेष्ठले सेतोपाटीसँग भने।

आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायत दललाई छलफलका लागि बोलाएको हो।

आयोगले निर्वाचन सम्बन्धी आचारसंहिताको मस्यौदा बनाइसकेको जनाएको छ। उक्त मस्यौदाबारे दलहरूसँग छलफल गर्न लागिएको हो।

सरकारले वैशाखमा निर्वाचन घोषणा गरेको छ। तर प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ। तर आयोगले कसैलाई पनि मान्यता दिएको छैन। ओली र प्रचण्ड-नेपाल समूहले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरेका थिए।

आयोगले आज गर्ने निर्वाचन सम्बन्धी छलफलमा आफूहरू उपस्थित हुने नेकपाका प्रचण्ड-नेपाल पक्षका नेता लिलामणि पोखरेलले सेतोपाटीलाई बताए।

Facebook Notice for EU! You need to login to view and post FB Comments!