Mar 19, 2023

केटुमा विश्व रेकर्ड बनाएका पुर्जा भन्छन्- मेरो सफलता झुक्किएर हैन है

Feb 10 , 2021

पोखराको सडकमा सोमबार उल्लास थियो। उत्तरतर्फ सेता दन्तलहर खुलेर हाँसेका थिए। गत साता परेको हिउँ पग्ली सकेको थिएन। वर्षाले पखालेर आकाश निलो बनेको थियो। काठमाडौंबाट उडेको जहाज हिमालको बाटो भएर पोखरा ओर्लियो। पोखरा विमानस्थलमा जहाज चढेर आएका यात्रुको स्वागतमा पोखरेली उद्यमी, व्यवसायीदेखि स्थानीय आरोही उत्रिए।

विमानस्थलमा काठमाडौंबाट त्यही जहाजमा आएका अन्य यात्रु पनि थिए। पोखरेलीले भने ८ जना यात्रुलाई ठम्याइहाले।

स्वागत सत्कार गरेर गाडीमा राखे। फूलमाला लगाएर पोखरा घुमाए। त्यही गाडीको अगाडि-पछाडि मोटरसाइकल र अन्य सवारीको लाइन थियो। यसरी पोखरेलीले उनीहरूको अभिनन्दन गरे। किनकी उनीहरूले संसार जितेर आएका थिए।

यसरी अभिनन्दित हुनेहरूमा आरोही निर्मल पुर्जा र उनका साथीहरू थिए। जसले १६ जनवरीमा हिमाल आरोहणमा नयाँ विश्व किर्तिमान बनाए। पुर्जालाई उनका ‘सर्कल’का साथीहरूले उनलाई निम्स भन्छन्। उनकै नेतृत्वमा १० जना नेपालीले एकै पटक यो जाडोमा विश्वको दोस्रो अग्लो चुचुरो काराकोरम अर्थात केटु उक्लिए। नेपालको राष्ट्रिय गीत गाए अनि देशका झन्डा फहराए।

नेपाली आरोहीहरूको यो टोलीका १० जना नै एउटा-एउटा क्षेत्रका किर्तिमानी आरोही थिए। कोही कम उमेरमा आरोहण गर्न सफल त कोही छोटो समयमा धेरै हिमाल आरोहण गर्ने। निम्स पनि ६ महिनामा विश्वका १४ वटै ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको किर्तिमान बनाएका थिए।

निम्सको टिममा रहेका किर्तिमानी आरोहीहरू मिङ्मा डेविट शेर्पा, मिङ्मा तेञ्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्माजी शेर्पा, दावा तेञ्जिङ शेपा, किलु पेम्बा शेर्पा र सोना शेर्पा थिए। जसमा २ जना भने सोमबार पोखरा आउन पाएनन्। बाँकी ८ जनाले पोखराले दिएको सम्मान ग्रहण गरे।सगरमाथा पछिको दोस्रो अग्लो हिमाल केटुको उचाइ समुन्द्री सतहदेखि ८ हजार ६११ मिटर छ। यी आरोहीसँगै सगरमाथाको उचाइ नापेका नापी अधिकृत खिमलाल गौतम र यही जाडोयाममा मुस्ताङको धम्पुस पिक हिमाल आरोहण गरेका आरोही पनि सम्मानित भए। सम्मान पाएपछि सगरमाथाको उचाइ नापेका गौतमले भने, ‘हिमाल आरोहण गर्नु भनेको मृत्युसँग जिस्कनु हो।’

मुस्ताङको ६ हजार १२ मिटर अग्लो हिमाल माघ ३ गते पोखराबाट गएका ७ जनाको टोलीले आरोह गरेका थिए। उक्त हिमाल आरोहण गरेकी हिराकुमारी मल्लले भनिन्- हिमाल चढ्नु भनेको ट्रेकिङ गर्नुजस्तो सजिलो रै’नछ, त्यहीमाथि यो जाडोयाममा एकदम दुख हुँदो रैछ।’

उनी यसअघि पर्यटक गाइड बनेर हिमालका फेदसम्म पुगेकी थिइन्।

यो दु:खको हिमाल चढ्न पाकिस्तान पुगेका थिए निम्स र उनका साथीहरू। आरोहणका लागि निकै कठिन मानिने केटु हिमाल चढ्न गएका धेरै आरोही घर फर्कन सक्दैनन्।

आरोही निम्सले भने, ‘केटु चढ्न गएका प्रत्येक ४ जना आरोहीमा १ जनाको ज्यान जान्छ, हाम्रै टिममा रहेका ३ जना अहिले पनि हराइरहेका छन्। त्यसभन्दा अघि २ जनाले ज्यान गुमाइसकेका थिए।’

यसरी हराएका र ज्यान गुमाएका आरोही भने नेपाली थिएनन्। आरोहणका क्रममा भेटिएका उनीहरू आरोहण पूरा नहुँदै हराए। अहिलेसम्म कहाँ छन्? कुन हालतमा छन् कसैले पत्तो पाउन सकेका छैनन्। धेरै आरोहीको बाटोमै मृत्यु हुने भएकाले यस हिमाललाई ‘किलर’ हिमाल भनिएको आरोहीले बताए।

निम्सको टोलीमा रहेका १० जनामध्ये केही नेपाली आरोही भने छुट्टै आरोहणमा गएका थिए। मिङ्माजी शेर्पाका दाजुभाइसहित ३ जना आरोहणकै क्रममा हिमालमै निम्सको टोलीसँग भेटिएका थिए। त्यही भेटपश्चात उनीहरू सँगसँगै आरोहण गर्न थाले। निम्सका लागि आएको ‘स्पोन्सर’ उनले साथीहरूका लागि पनि साझा गरे। अब सँगै आरोहण गर्ने र सँगै फर्कने गरी उनीहरूले मन मिलाए।

निम्सको यो जम्बो टोलीलाई केटु अरोहण गर्न २१ दिन लाग्यो। पहिल्यै सल्लाह गरेर गएको भए दुई सातामै आरोहण गर्न सकिने अवस्था देखिएको निम्स बताउँछन्।

‘पहिला त प्रतिस्पर्धाजस्तै थियो, त्यहाँ गएर भेटिएपछि उहाँ (मिङ्माजी)को सोच पनि उस्तै, मेरो पनि उस्तै’ उनले भने, ‘व्यक्तिगत स्वार्थ केही पनि थिएन, त्यही भएर हामी मिल्यौं।’

विश्वमा ८ हजार मिटरभन्दा अग्ला हिमाल जम्मा १४ वटा छन्। जसमा ८ वटा त नेपालमै छन्। यसअघि केटु बाहेकका यी हिमालमा हिउँद र वर्षा दुबै सिजनमा आरोही चढिसेका छन्। अब हिउँदमा पनि केटु हिमाल आरोहण गर्न सकेको पहिलो विश्व रेकर्ड नेपालीको नाममा आएको छ। त्यही पनि एकसाथ १० जनाको नाममा।

यो हिमाल हिउँदयाममा चढ्न यसअघि प्रयास नभएका होइनन्। झन्डै ४० वर्षयता विश्वभरका साहसी आरोहीले हिउँदयाममा केटु चढेर किर्तिमान राख्न चाहेका थिए। जसमा कोही पनि सफल हुन सकेका थिएनन्। कसैले त ज्यान नै गुमाएका थिए।

त्यसो भए निर्मल (निम्स) पुर्जा र उनका साथीहरू के मर्नका लागि केटु चढ्न गएका थिए त?

‘मलाई पनि मर्न मन लाग्दैन नि,’ निम्सले भने।

ब्रिटिस आर्मीको स्पेशल फोर्समा ‘कमान्डो’ थिए निम्स।

‘ब्रिटिस आर्मीमा गोर्खा भर्ती लिन थालेको दुई सय वर्षको इतिहासमा ‘एसबिएस’ कोर्स गर्ने पहिलो गोर्खाली हुँ म’, उनले पोखरामा पत्रकारसँग भने, ‘त्यो कोर्स पैसाले किन्न सकिन्थेन, आफ्नो क्षमतामा भर पर्थ्यो, गोली खाएर पनि बाँचेको मान्छे हुँ म।’

आर्मीमै रहँदा पनि उनले केही हिमाल आरोहण गरे र रेकर्ड पनि बनाए। तर आर्मी भित्रका कुरा बाहिर आउन पाएनन् वा ल्याउन चाहेनन्। उनका नातेदारका अनुसार आर्मीमा रहँदा नै हिमाल चढेपछि उनमा हिमाल मोह चढेको थियो। त्यही मोहले १६ वर्ष पूरा गरेको जागिर २०१९ मा छाडिदिए। हिमाल चढ्ने नेपाल फर्किए।

ब्रिटिस आर्मीमा रहँदा निम्सले ब्रिटेनका लागि केही महत्वपूर्ण मिसन पूरा गरेका थिए। जुन उनलेमात्र होइन, ब्रिटिस आर्मीले पनि बाहिर ल्याउँदा खतरा रहने भनेको उनका नातेदार बताउँछन्। स्पेशल फोर्समा काम गर्दाको अनुभव सुनाउँदै उनले भने- स्पेशल फोर्समा काम गर्दा कसैलाई सलुट गर्नु पर्दैनथ्यो। सबैलाई नामले नै बोलाए पुग्थ्यो। कपाल पालेर हिँड्थें। आर्मी मिसनका लागि कयौं पटक लामो यात्रा प्लेनमा एक्लै गरेको छु। एउटा मिसनमा जाँदा मलाई पनि गोली लागेको थियो। साना जहाज उडाउने र सामन्य शल्यक्रिया पनि आफैं गर्थें।

आर्मीमा रहँदा उनले अपनाएको तरिका आरोहणमा पनि अपनाए।

‘स्पेशल फोर्समा प्रत्येक प्लानको ब्याकअप प्लान हुन्छ, ब्याकअप प्लानको पनि ब्याकअप। यो हामीले केटु आरोहणमा अप्लाई गर्‍यौं। रेकर्ड ब्रेकमा अक्सिजनसहित र अक्सिजनरहित दुबैमा नेपालको नाम थियो। तल फर्कँदै गर्दा एक जना भए पनि महिला भएको भए महिला आरोहीको रेकर्ड पनि ब्रेक हुने थियो भन्ने मनमा लाागेको थियो,’ उनले भने।

सन् २०१९ मा विश्वका १४ वटै ८ हजार मिटरभन्दा अग्ला हिमाल ७ महिनाभित्र चढेर सक्ने लक्ष्य उनले तोके।

त्यही लक्ष्य पछ्याउन उनले पेन्सन निस्कने बेला भएको ब्रिटिस आर्मीको जागिर छाडिदिए।

‘आरोहणका क्रममा यसपालि केटु हिमाल आरोहणको योजना भने नभएको उनले सुनाए।

‘विश्व प्लेटफर्ममा मलाई केही गर्नु थियो’, उनले भने, ‘त्यही भएर अन्तिममा रेकर्ड ब्रेक गर्न केटु आरोहणको निर्णय लिएँ,’ उनले भने।

जब उनले पेन्सन आउन ६ महिनामात्र भएको जागिर छाडेर हिमाल चढ्ने अठोट लिए, त्यतिबेला धेरैले पत्याएनन्।

‘संसारभर मलाई बहुला भन्थे, स्पोन्सर पनि कसैले दिन्थेन’, निम्सले भने, ‘मैले घरलगायत सम्पत्ति बेचेर हिमाल चढ्ने प्रोजेक्ट बनाएँ।’

केटु आरोहणमा विश्व रेकर्ड राख्न उनका अर्को कारण पनि छन्। विश्वमा ‘हिमालको घर’ भनेर चिनिने नेपालमा विश्वका सर्वोच्च सगरमाथादेखि अधिकांश हिमाल रहे पनि धेरै रेकर्ड विदेशीको नाममा थियो। उनलाई मनभित्रै लाग्यो, नेपालीको नाममा पनि त विश्व रेकर्ड हुनुपर्‍यो नि।

‘घरमा जति खोके पनि बाहिरका साथीहरू, विदेशीले नचिनेपछि के गर्ने?,’ उनले भने, ‘आफ्नो घरमा त जो पनि हिरो हुन्छ, तर मलाई केही गर्नु थियो।’

‘किलर माउन्टेन’ चढेर विश्व रेकर्ड राख्ने महत्वकांक्षा पूरा गर्न सजिलो थिएन। हिमाल चढ्नु आफैंमा अप्ठ्यारो थियो, त्यहीमाथि अप्ठ्यारो हिमाल ‘अफ सिजन’मा। निम्सले केटु चढ्न जाँदा हिमालको तापक्रम माइनस ६५ डिग्री थियो। त्यो भनेको ५ मिनेटमात्र शरीरका कुनै पनि अंग बाहिर देखियो मात्र भने पनि जाम भइहाल्थ्यो। निम्सको पनि खुट्टा जाम भएको छ। उनका साथीहरू कसैका गाला डढेका छन् त कसैका अरू अंग।

आरोहण गरेर फर्केपछि जाम भएका अंगहरू सुधार हुँदै आएको निम्सले बताए। हिमाल आरोहणका ती बाहिरबाट देखिने दु:ख थिए । आरोहण गर्दा अक्सिजनको अभाव, बेजोड चल्ने हावा, अत्याधिक चिसो र अप्ठ्यारो हिमालको वर्णन सुनाएर उनीहरूलाई साध्य छैन।

‘एक पाइला टेक्दा स्याँस्याँ र फ्याँ फ्याँ हुन्छ, आफ्नोभन्दा धेरै तौलका भारी बोकेर किन आको धत गधा भन्ने कुरा पनि आउँछ’, निम्सले भने, ‘जब आफ्नो लक्ष्य, उद्देश्य आफ्नो व्यक्तिगत स्वार्थभन्दा ठूलो हुन्छ, तब यस्ता काम गर्न सकिन्छ।’

केटु आरोहण गर्न बेलायतमा डोनेसन उठाउने क्रममा धेरै नेपालीले सहयोग गरे। केहीले आफ्नो लागि काम गर्न लागेको भन्दै आलोचना पनि गरे। सबै कुरा त्यागेर हिमाल आरोहणमा लागेका निम्स आफू धेरै पटक मरें मरें भनेर बाँचेको सम्झिन्छन्। नेपालमै एउटा हिमाल आरोहण गर्दा त १०० मिटर तल खसेर पनि बाँचेको उनले सम्झिए।

‘म आज भगवानलाई भन्छु। जन्म हाम्रो भइहाल्यो, मृत्यु पनि निश्चित छ। मरिन्छ एक दिन। जतिसुकै कमाए पनि, जति पैसा भए पनि मरेर त लगिदैन। तथ्य हो यो। हामीले यो तथ्य बिर्सन्छौं कहिलेकाहीँ,’ उनले भने।

केटु हिमाल आरोहणपश्चात विश्वभरकै धेरै मानिसले निम्सलाई पछ्याएका छन्। उनीहरूको टोलीले केटुमा सफलता पाउँदा संसारकै ध्यान खिचेको थियो। अहिले उनलाई युवाहरूले सन्देश पठाउने गरेका छन्।

‘मेरो कथा अहिलेका युवा पुस्तालाई प्रेरणाको स्रोत बनेको छ’, उनले भने, ‘कति मान्छेले त मेरो यस्तो समस्याले आत्महत्या गर्न लागेको थिए, तपाईंको कथा पढेपछि मलाई त केही दु:ख रहेनछ भनेर म्यासेज गर्छन्।’

देशको राजनीति सत्ता स्वार्थमा अलमलिएको देख्दा उनलाई विरक्त लाग्दो हो।

‘हाम्रो देशमा राजनीतिक स्थायित्व छैन, दाजुभाइ आफैं-आफैं लड्छौं’, उनले भने।

उनले केटु आरोहणमा स्वार्थमा नभई एकतामै बल भएको सन्देश दिन चाहेको बताए।

‘यो आरोहणमा मैले पहिला खर्च गरेको म पहिला चढ्छु, म फर्स्ट हुन्छु भन्न पनि सक्थें’, उनले भने, ‘कति स्वार्थी हुने के कति स्वार्थी?’

उनले नै सबैजना सँगै चढ्ने र सँगै रेकर्ड बनाउन योजना बुने। चुचुरोमा पुग्नुभन्दा करिब १० मिटर तल सबै जना रोकिने। दाजुभाइ (अन्य आरोही) टक्क अँगाले मार्ने। अनि समिटमा सँगसँगै जाने।

‘ल दाजुभाइ हो, सबैले बराबर दु:ख गरेको छ यहाँ। सबैले भारी एउटै बोकेको छ। सबैको ‘रिस्क’ एउटै हो। मेरो परिवार छ भने मेरो दाजुभाइको पनि परिवार छ। किन काम सबैले गर्ने नाम एक जनाले लाने? हामीले यसरी रेकर्ड बनायौं,’ निम्सले भने।

उनले यसरी विश्वभरलाई एकजुट हुन सन्देश दिन चाहेको बताए। एकजुट भएर सबैका लागि राम्रो काम गरौं भन्ने नै आफूहरूको सन्देश भएको निम्सले बताए। उनले केटु आरोहण गरेर अर्को सन्देश पनि दिन चाहेका छन्। विश्वभर अहिले कोरोनाभाइरसको महामारी छ। विश्वमा धेरै मानिसले ज्यान गुमाएका छन्, धेरैको रोजीरोटी खोसिएको छ। योभन्दा पनि ठूलो समस्या जलवायु परिवर्तनको रहेको निम्सले बताए।

‘प्रकृतिसँग कसैले पनि सक्दैन। डाइनोसर जलवायु अनुकूल हुन नसकेर खतम भयो। हाम्रो मानवीय गतिविधिमा जलवायु परिवर्तनलाई ‘फोकस’ गरेनौं भने हामी पनि जान्छौं, त्यतिबेला हामी कहाँ हुन्छौं’, उनले भने।

म्याग्दीको दानामा जन्मिएर विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला चुचुरा चुमिसकेका निम्स आफ्ना भगवान नै लक्ष्य भएको बताउँछन्। संसारकै गहिरो गल्छीका रूपमा प्रख्यात कालीगण्डकी गल्छी नजिकै जन्मिएर हुर्किएका उनी हाइस्कुल पढ्न चितवन झरेका थिए। अहिले पनि उनका बुबा चितवनमा छन् भने आमाको गत वर्ष निधन भइसकेको उनका नातेदार चौबहादुर गुरुङ बताउँछन्।

उनका चार दाजुभाइ छन्। जेठो र साइलो दाजु ब्रिटिस आर्मीमा छन् भने माइलो दाजु शिक्षक भएर पेन्सन निस्किएका छन्। उनका बुबा भारतीय सेनाबाट अवकाश प्राप्त हुन्। निम्सका एक जना बहिनी छन्। उनी अहिले अष्ट्रेलियामा नर्स रहेको गुरुङले बताए। ब्रिटिस आर्मीमा भर्ती भएपछि निम्सले बेलायतमै चौबहादुरकी डेन्टिष्ट भतिजीसँग प्रेम विवाह गरेका थिए।

कडा मेहनत गरेदेखि कुनै पनि कुरा असम्भव नभएको उनी बताउँछन्। आफूलाई ब्रिटिस आर्मीमा भर्ती हुन इच्छा लाग्दा राति २ बजे नै उठेर दौडिन जाने र बिहान हुने बेला ६ बजे आएर कोठामा सुत्ने गरेको विगत उनले सुनाए। कतिपय मानिसहरू मेहनत गर्न छाडेर अरूलाई दोष दिने गरेकोमा उनको चित्त बुझ्दैन।

‘यसको त बाबुआमा धनी छ र त भयो। यसको त आफ्नो मान्छे मन्त्री थियो र त ‘चान्स’ पायो भन्छौं, बहाना बनाउँछौ। अवसर आफैंले सिर्जना गर्ने हो। त्यसका लागि मेहनत चाहिन्छ। धनी बाबु आमाको छोरा वा मन्त्रीका मान्छेले भन्दा १०-२० गुणा बढी मेहनत गर्नुपर्ला। तर असम्भव कुरा केही छैन,’ उनले भने।

आफू पनि गाउँमा खाली खुट्टा नै हुर्किएको उनले दाबी गरे।

पहिलो पटक हिमाल चढ्दा नै आफू मोहित बनेको निम्सले बताए।

‘मलाई पहिलो पटक हिमाल चढ्दा के लाग्यो भने यो एकदम इमान्दार छ, प्रकृतिले मलाई यो भनिराखेको छ,’ उनले भने, ‘मलाई यो फिलिङ एकदम मन पर्‍यो।’

हिमाल चढ्न छाडेर घरमै सोफामा बसिरहेको भए आफूले जीवनको महत्व नै नबुझ्ने उनले बताए।

‘सोफामा बसिरहेको भए एकदिन ठ्याक्क मरिन्थ्यो के, जीवनको मूल्य नै थाहा हुन्थेन’, उनले भने, ‘जब धन्न मरेको भन्ने थाहा हुन्छ नि त्यतिबेला बुझिन्छ जीवनको महत्व।’

जीवनको महत्व बुझ्न पनि लक्ष्य र उद्देश्य तोकेर कडा मेहनत गर्न उनले सुझाव दिए।

‘निम्स सक्सेसफुल, निम्स सक्सेसफुल भन्छन्, मेरो सक्सेसचाहिँ झुक्किएर भएको हैन है’, निम्सले भने, ‘यसको पछाडि कति मेहनत पर्छ, कति आँशु बगेको छ, कति रगत बगेको छ, कति दु:ख छ, त्यो मलाई थाहा छ।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!