Oct 17, 2021

बाइडेन र मोदीबीच टेलिफोन, इन्डो-प्यासेफिक र म्यानमारबारे चर्चा

Feb 09 , 2021

अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ।

जनवरी २० मा अमेरिकाको राष्ट्रपति बनेका बाइडेन पहिलो पटक भारतीय प्रधानमन्त्री मोदीसँग कुराकानी गरेका हुन्।

सोमबार भएको टेलिफोन वार्ताका क्रममा दुई नेताहरूबीच क्षेत्रीय भू-राजनीति, समसामयिक विश्व परिवेश, जलवायु परिवर्तन र आपसी सहकार्यका विषयमा छलफल भएको नयाँदिल्ली र वासिङ्टनले जनाएका छन्।

भारतीय प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै मोदीले बाइडेनलाई बधाई र सफल कार्यकालका लागि शुभकामना दिँदै भारत-अमेरिका रणनीतिक सहकार्यका लागि काम गर्न आतुर रहेको बताएको उल्लेख गरेको छ।

‘उहाँहरूबीच क्षेत्रीय विकास र  समग्र भू-राजनीतिक विषयमा कुराकानी भयो। दुबै जनाले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र स्वतन्त्र, खुला र समावेशी इन्डो-प्यासेफिकका लागि उस्तै सोच राख्ने देशहरूबीचको सहकार्यको महत्वलाई दोहोर्‍याउनुभयो,’ विज्ञप्तिमा भनिएको छ।

कुराकानी क्रममा मोदीले पेरिस जलवायु सम्झौतामा अमेरिका फेरि जोडिने र आगामी अप्रिलमा जलवायु सम्मेलन गर्ने बाइडेनको निर्णयको स्वागत गरेका थिए।

अमेरिकी राष्ट्रपति कार्यालयले ह्वाइटहाउसले पनि विज्ञप्ति जारी गर्दै दुई नेताबीच कोभिड-१९ विरूद्धको लडाइँमा सहकार्य गर्ने, जलवायु परिवर्तनका विषयमा दुई देशबीचको सहकार्यलाई नवीकरण गर्ने, दुबै देशका जनतालाई फाइदा पुग्ने गरी विश्व अर्थ व्यवस्था बनाउने र विश्व आतंकवादका विरूद्ध एक ठाउँमा उभिने विषयमा कुरा भएको उल्लेख गरेको छ।

दुई नेताहरू नेभिगेसनको स्वतन्त्रता र भौगोलिक एकतासहित स्वतन्त्र खुला र इन्डो-प्यासेफिक क्षेत्र बनाउनका लागि सहकार्य बढाउने कुरामा सहमत भएको ह्वाइटहाउसले जनाएको छ।

‘राष्ट्रपति बाइडेनले संसारभरि प्रजातान्त्रिक संस्था र मूल्यमान्यताको रक्षा गर्ने आफ्नो चाहनामा जोड दिँदै प्रजातान्त्रिक मान्यताप्रतिको प्रतिवद्धता नै अमेरिका-भारत सम्बन्धको आधार भएको उल्लेख गर्नुभयो,’ विज्ञप्तिमा भनिएको छ।

दुई नेताहरू म्यानमारमा कानुनी शासन र प्रजातान्त्रिक प्रक्रिया लागु हुनु पर्ने कुरामा पनि ‌एकमत भएको उल्लेख गरिएको छ।

म्यानमार  गत साता सेनाले कूमार्फत् सत्ता हत्याएको छ।