राष्ट्रिय टिमको क्लोज क्याम्पमा १५ वर्षीय अर्जुन, वाटमोरले भने- अझै छिटो ब्याटिङ गर

आगामी महिना ओमानमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका कान्छा खेलाडी हुन्, अर्जुन कुमाल।
१५ वर्षीय अर्जुन शनिबारदेखि सुरु भएको नेपाली राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागी हुन दिल्लीबाट नेपाल आएका हुन्।
भारतमा जन्मिएर उतै बस्दै आएका कुमाल प्रधानमन्त्री कप खेलेपछि दिल्ली फर्किएका थिए।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि घोषणा गरिएको टिम परेको खबर पाएपछि उनी आमासँग नेपाल आए।
आफूभन्दा सिनियर खेलाडीसँग अभ्यास गर्न पाउँदा उनी खुसी छन्। यस्तै राष्ट्रिय टिममा अनुभवी प्रशिक्षकमा डेभ वाटमोर भएकाले ब्याटिङमा सुधार आउने उनको अपेक्षा छ।
‘सिनियरसँग खेलिरहेको छु। प्रशिक्षक पनि राम्रो हुनुहुन्छ। त्यसैले ब्याटिङ राम्रो भइरहेको छ,’ उनले भने।
कुमालको ब्याटिङलाई प्रशिक्षक वाटमोरले पनि राम्रोसँग नियालेका छन्। वाटमोरले कुमाललाई सुधारका लागि सुझाव समेत दिइसकेका छन्।
‘प्रशिक्षकले मेरो ब्याटिङ हेरेपछि ‘वेल प्लेड’ भन्नु भयो। उहाँले अझै छिटो ब्याटिङ गर पनि भन्नु भएको छ,’ उनले भने।
श्रीलंका, बंगालदेश, पाकिस्तान र जिम्बावे जस्ता टेस्ट टिमको प्रशिक्षक भइसकेका वाटमोर यही महिनाको सुरूमा नेपाल आएका थिए। नेपाल आएपछि उनले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन नियालेका थिए।
प्रधानमन्त्री कपमा गरेको प्रदर्शनको आधारमा १५ वर्षीय कुमालसहितका खेलाडी समावेश गरेर प्रारम्भिक टिममा घोषणा गरिएको हो।
दिल्लीमा जन्मिएर उतै हुर्किएका कुमाल परिवारसँगै दिल्लीमा बस्दै आएका छन्। पुर्ख्यौली नेपालको गुल्मी भएका कुमाल घरेलु प्रतियोगिता खेल्न विगत चार वर्षदेखि नेपाल धाइरहेका छन्।
गत महिना भएको प्रधानमन्त्री कपमा गण्डकी प्रदेशको टिमबाट उनले प्रभावशाली ब्याटिङ गर्दै छनोटकर्ताको ध्यान तान्न सफल भए।
उनले आर्मीविरुद्धको पहिलो खेलमा ३६ रन हिर्काउँदा प्रदेश १ विरुद्ध ३५ रन जोडे। कर्णालीविरुद्ध ४६ रन जोडेका उनी एपिएफविरुद्धको अन्तिम खेलमा भने डकआउट भएका थिए।
सानै उमेरमा नेपाली क्रिकेटमा राम्रो छाप छाडेका उनले नेपालको यु१६ राष्ट्रिय टिमबाट पनि खेलेका थिए।
उनले नेपाली टिमबाट थाइल्यान्डमा भएको एसिसी यु१६ प्रतियोगिता खेलका थिए। त्यतिबेला पनि उनी टिमका सबैभन्दा कान्छा सदस्य थिए।
कुमालले दिल्लीको क्रिकेट एकेडेमीमा ७ वर्षको उमेरदेखि क्रिकेट सिक्न थालेका थिए।