Oct 22, 2021

राष्ट्रिय टिमका उदयीमान फरवार्ड अभिषेक आइलिग क्लब आइजोलमा आबद्ध

Feb 08 , 2021

नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अभिषेक रिजाल भारतको आइलिग क्लब आइजोल एफसीमा आबद्ध भएका छन्।

अभिषेकको मेन्टरको रुपमा काम गर्दै आएका रवीन्द्र चन्दका अनुसार २०२०-२१ सिजनको बाँकी खेलका लागि आबद्ध भएका हुन्।

यसअघि गत भदौमा अभिषेक भारतको अर्को क्लब मोहमेडन स्पोर्टिङ् क्लबमा आबद्ध भएका थिए।

कोरोना महामारीका बीच चन्द बदर्स प्रालिको पहलमा भएको सम्झौतामा मोहमेडन आइलिगमा बढुवा हुन नसके रिजालले अन्य क्लबबाट खेल्न सक्ने शर्त राखिएको थियो।

यद्यपी मोहमेडन छनोटमा च्याम्पियन बन्दै आइलिगमा बढुवा भएको थियो। जसका कारण अभिषेकका लागि आइलिग खेल्ने ढोका खुलेको थियो।

तर मोहमेडनले बंगलादेशका जमाल भुयानलाई भित्र्याएपछि अभिषेकको लिग खेल्ने सम्भावना सकिएको थियो।

त्यसपछि अन्य क्लबबाट आइलिग खेल्ने प्रयास गरेका अभिषेक मिजोरम राज्यको राजधानीको क्लब आइजोलमा आबद्ध भएका हुन्।

सिजनको आइलिगमा आबद्ध हुने अभिषेक तेस्रा नेपाली खेलाडी हुन्।

राष्ट्रिय टिमका पहिलो रोजाइका गोलकिपर किरण चेमजोङ पञ्जावबाट खेलिरहेका छन्। अघिल्लो साता मिडफिल्डर प्रकास बुढाथोकी नेरोकामा आबद्ध भएका थिए।

जारी लिगमा पाँच खेल खेलेको आइजोल २ जित र २ बराबरी खेल्दै ८ अंक जोडेर च‍ौथो स्थानमा छ।

 नेपाली राष्ट्रिय टिमका उदयीमान युवा फरवार्ड अभिषेक

नेपाली राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय खेलमा गोल गर्न नसकेको ६ खेल भइसकेको थियो। २०१८ को साफ च्याम्पियन्सिपपछि नेपालले जुन २०१९ गोल गर्न सकेको थिएन। साफमा घरेलु टिम बंगलादेशलाई २-० ले हराएपछि नेपाली फरवार्डहरू अन्तर्राष्ट्रिय खेलमा लगातार चुकिरहेका थिए।

यो अवस्थामा नेपालले जुन २०१९ मा चाइनिज ताइपेईसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै थियो। ताइपेई फिफा वरीयतामा नेपालभन्दा ३६ स्थान माथि १२५औं स्थानमा थियो।

सो खेल १-१ गोलको बराबरीमा सकियो। खेलमा नेपालले झण्डै ६ सय मिनेटपछि अन्तर्राष्ट्रिय गोल गरेको थियो। गोलको खडेरी तोड्न सफल भएका थिए युवा फरवार्ड अभिषेक रिजाल।

रिजाल १२ वर्षको उमेरमा आफ्नो बुबाको हात सामेतर एन्फाको यु-१२ छनोटमा सहभागी हुन आएका थिए। आफ्नो क्षमताका कारण उनी छनोटमा भाग लिएका १६ सय प्रतिस्पर्धीलाई पछि पारेर उत्कृष्ट ३० जनामा पर्न सफल भए।

काठमाडौंका बासिन्दा रिजाल बच्चैदेखि पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई आदर्श मान्थे। उनी आफू राष्ट्रिय टिमबाट खेल्ने सपना बुन्थे।

‘मेरो बुबा र सिनियहरू देशको लागि खेल्ने कुरा गर्थे। तर म उनीहरुको कुरा बुझ्दिन थिए। तर पनि देशका लागि कुनै दिन खेल्ने आसा गर्थे,’ रिजालले अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारीक वेव पोर्टलमा भनेका थिए,’अहिले मैले त्यो आसा पूरा गरेको छु। राष्ट्रिय टिमबाट खेल्दा गर्व लाग्ने र सम्मान पाइने कुरा अहिले बल्ल बुझेँ।’

एन्फा एकेडेमीमा हुर्किएका उनले सुरुमा बी डिभिजन लिग खेले। ब्याइज युनियनबाट बी डिभिजन खेल्नका लागि उनलाई शुभन तन्डुकारले भनेका थिए।

ब्याइज युनियबाट रिजलले धनगढीमा आयोजना भएको खप्तड गोल्डकप पनि खेले। प्रतियोगितामा उनको प्रदर्शनबाट नेपाल पुलिस क्लब प्रभावित भयो।

त्यसपछि पुलिसमा आबद्ध हुँदै उनले बुढासुब्बा गोल्डकप खेले।

‘क्लबमा डेब्यू मेरो लागि विशेष बन्यो। मैले डेब्यू खेलमा दुई गोल गरेको थिए,’ रिजालले भने,’ब्याइज युनियन र नेपाल पुलिस क्लब दुवै मेरा लागि विशेष छन्।’

ए डिभिजन लिगमा उनले पुलिसबाट खेल्दा ६ गोल गरेका थिए।

नेपाल पुलिस क्लबबाट लिग खेलेपछि उनी लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबमा लोनमा आबद्ध हुन सफल भए। मनाङले २०१९ को एएफसी कपमा आफ्नो टिम बलियो बनाउन रिजाललाई अफर गरेको थियो। प्रतियोगितामा रिजालले गोल गर्दै एएफसी कपमा नेपाली कपका लागि गोल गर्ने पहिलो खेलाडी बनेका थिए।

क्लब स्तरमा गरेको प्रदर्शनपछि उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइए। राष्ट्रिय टिमका तत्काल प्रशिक्षक योहान कालिनलाई अग्रपंतिमा आक्रामक खेलाडी चाहिएको थियो जसले विपक्षीलाई अप्ठेरोमा पर्न सकोस्। त्यहीँ पोजिसनमा रिजाल फिट भए।

गत वर्ष मेलसियासँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट रिजालले राष्ट्रिय टिममा डेब्यू गर्न सफल भए।

लगत्तै भएको ताइपेईँविरुद्धको मैत्रीपूर्ण खेलमा त उनी पहिलो रोजाइमै खेले। जुन खेलमा उनले गोल गर्न सफल भए। ६४ मिनेटमा सन्तोष तामाङको फ्रिकिङमा उनले हेडमार्फत गोल गरेका थिए।

‘त्यो क्षण मेरो लागि विशेष क्षण हो। सधैं सम्झिरहने छु, जतिबेला मेरो देशका लागि पहिलो गोल गरेका थिएँ,’ रिजालले भने।

रिजाल आफ्नो सफलता सिकाइको वातावरण र मिहिनेतबाट प्राप्त भएको बताउँछन्।

‘मैले एन्फा एकेडेमीमा हुँदा धेरै सिक्न पाएकोमा भाग्यमानी ठान्छु। मेरा सिनियर, प्रशिक्षकहरूले मलाई धेरै सिकाउनु भयो र सहयोग गर्नु भयो। उहाँहरूले मलाई अगाडिको बाटो देखाउँनु भयो जसलाई मैले पछ्याएँ,’ उनले भने।

राष्ट्रिय टिमका प्रशिक्षक कालिनले पनि रिजालमाथि आसा राखे।

‘प्रशिक्षण गर्दा उनको मनोदृष्टि पहिलो दिनदेखि नै एकदम राम्रो हुन्छ। खेलाडीको रुपमा आफ्नो प्रदर्शन सुधार गर्नमा मिहिनेत गर्छ,’ कालिनले रिजालको बारेमा भने,’धेरै खेलाडीसँग क्षमता हुन्छ। तर सबै मानसिक रुपमा अब्बल हुँदैनन्। रिजाल जहिले पनि कडा परिश्रम गर्न तत्पर हुन्छन्।’

घरेलु लिगमा क्षमता देखाएसँगै रिजालले माल्दिभ्समा खेल्ने अवसर पाए। अहिले उनी कोलकताको मोहमेडन स्पोर्टिङ क्लबमा आबद्ध छन्।’उनको लगाव र कडा परिश्रम आगामी पुस्ताका लागि रोल मोड बन्न सक्छ। उनले कडा परिश्रम र सकारात्मक सोच राखेर अघि बढे उनी जस्ता युवाले अझ धेरै आफ्नो क्षमता अभिबृद्धि गर्न सक्छन्,’ रिजालको आगमनले राष्ट्रिय टिममा पनि सुधार आउने र उपाधि सहयोग पुग्ने विश्वास गर्दै कालिनले भनेका थिए।