Oct 24, 2021

दूधे बच्चा छोडेर काममा जाँदा कुपोषण, पोषण गृहमा उपचार

Feb 07 , 2021

२० वर्षमै आमा बनेकी उनलाई बच्चाको स्याहारसुसार कसरी गर्ने भन्ने धेरै थाहा थिएन। त्यसैमाथि स्वास्थ्य चौकी नगएर घरमै बच्चा जन्माउँदा स्तनपानबारे पनि उनले ज्ञान पाइनन्।

‘स्वास्थ्य चौकीमा सुत्केरीलाई स्तनपानबारे सिकाउँछन् होला तर मैले त त्यो थाहा पाइनँ,’ उनले भनिन्।

छोरी जन्मेको केही दिनमै उनी घरको कामकाजमा व्यस्त हुन थालिन्। उनले आफ्नी भर्खरकी छोरीलाई समयमा दूध खुवाउन र स्याहार गर्न पाइनन्।

काममा व्यस्त भएका बेला बच्चालाई परिवारका सदस्यले भैंसीको दूध खुवाउँथे।

‘आमाको भन्दा भैंसीको दूधमात्र बढी खुवाउँदा बच्चाको तौल घट्दै गयो,’ उनले भनिन्।

नाबालक शिशुको स्याहारबारे घरका अरू सदस्यलाई पनि थाहा नभएको उनले बताइन्।

‘गाउँघरमा बच्चालाई कसरी स्याहार गर्ने भन्नेबारे धेरै जानकारी छैन, बच्चालाई छोडेर मेलापात जानुपर्ने बाध्यता छ,’ उनले भनिन्।

जन्मेको एक महिना नपुग्दै उनको बच्चामा स्वास्थ्य समस्या देखियो।  सुरूमा तौल घट्न थाल्यो।

महाकाली अस्पतालमा उपचारका लागि लगेपछि स्वास्थ्यकर्मीले बच्चामा कुपोषण देखिएको बताए।

‘मैले बच्चालाई कुपोषण होला सोचेकी थिइनँ, न त कुपोषणबारे थाहा थियो। सुरूमा म आत्तिएँ,’ उनले भनिन्।

गर्भवती अवस्थामा उनले पनि खानपान र व्यायाममा ध्यान नपुर्‍याएकोले पनि बच्चामा कुपोषण देखिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ।

छोरीलाई कुपोषण देखिएपछि पुस २९ गतेदेखि उनी धनगढीको सेती प्रादेशिक अस्पतालको पोषण पुन:स्थापना केन्द्रमा छन्।

त्यहाँ स्वास्थ्यकर्मीको सल्लाहअनुसार उनी ढेड महिने छोरीलाई कुपोषणमुक्त गराउन लागिपरेकी छिन्।

त्यहाँ उनले दैनिक स्वास्थ्कर्मीको सल्लाहअनुसार सन्तुलित खाना खान्छिन्। स्तनपानबारे पनि जानकारी पाएको उनले बताइन्।

‘अहिले बच्चाको अवस्था सुधार हुँदैछ,’ उनले भनिन्।

कामको लोभले बच्चा र आफ्नो स्वास्थ्यमा ख्याल नगरेकोमा अहिले उनलाई पश्चाताप लागेको छ।

डोटीको जोरायल गाउँपालिकाकी कल्पना भट्ट पनि पोषण गृहमै छन्। उनको बच्चालाई पनि कुपोषण देखिएको छ।

गत वर्ष वैशाखमा उनले छोरालाई जन्म दिएकी थिइन्।

‘जन्मेको ९ महिना पुगेपछि शरीरमा दाना आउने र ज्वरो आउन थाल्यो,’ उनले सुनाइन्।

त्यसबेला उनले गाउँकै स्वास्थ्य चौकीमा बच्चाको समस्या देखाइन्।

‘त्यहाँबाट डाक्टरले दिएको मल्हमले केही दिन सञ्चो भयो तर फेरि त्यही समस्या दोहोरिन थाल्यो,’ उनले भनिन्।

उनले पनि दिउँसो काममा जानुपर्ने भएकाले घरमा बच्चालाई हेर्ने समय बिहान बेलुका मात्रै मिल्ने गरेको बताइन्।

‘घाँस-दाउरामा जानुपर्छ, घरको काम गर्नुपर्छ, फुर्सद नभएर बच्चाको स्याहार गर्न सकिएन,’ उनले भनिन्।

गत पुसमा  दिदीको घर कञ्चनपुर पुगेकी उनले बेलौरीको स्वास्थ्य चौकीमा चेकजाँच गराएपछि बच्चालाई कुपोषण भएको थाहा पाइन्। लगत्तै पुस १५ गते प्रादेशिक अस्पतालको पोषण गृहमा उनी पुगेकी थिइन्।

गृहमा केही दिनको बसाइपछि बच्चाको तौल बढ्नुका साथै स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको उनले बताइन्।

कैलालीको कैलारी गाउँपालिका ‘के’ गाउँ भितरियाकी हंशिका चौधरी पनि बच्चालाई कुपोषण देखिएपछि प्रादेशिक अस्पतालको पोषण गृहमै भर्ना भएकी छिन्।

गत वर्षको चैत १२ गते गाउँकै स्वास्थ्यचौकीमा उनले छोरो जन्माएकी थिइन्।

घरमा तागतिलो खानेकुरा भएन। उनको बाबुलाई पनि ज्वरो आउने, तौल कम हुने, रुने, गाला खुम्चिनेजस्ता समस्या देखिन थालेका उनले बताइन्।

यस्ता लक्षण देखिएपछि उनले सेती प्रादेशिक अस्पतालमा ल्याएकी थिइन्। बच्चालाई कुपोषण भएको थाहा पाएपछि उनी १९ दिनदेखि अस्पतालको पोषण गृहमै छिन्।

अहिले प्रादेशिक अस्पतालमा कुपोषण देखिएपछि बच्चासँगै २० आमा भर्ना भएर उपचाररत् छन्। उनीहरूले स्वास्थ्यकर्मीको सल्लाहअनुसार बच्चाको स्याहार र आफ्नो खानपान गरिरहेका छन्।

कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले गाउँपालिकामा कुपोषित बच्चाहरू देखिएको बताए। उनले गाउँपालिकाले दुई ठाउँमा पोषण उपचार केन्द्र स्थापना गरेर पोषणयुक्त खान दिने गरिएको बताए। यसबाहेक कुपोषणबाट बच्चालाई बचाउन अरू काम सरकारी पक्षबाट भएको छैन।

सुदूरपश्चिममा जनचेतना र पौष्टिक आहारको कमीले बालबालिका कुपोषणको सिकारमा पर्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ।

नेपाल सरकारले पाँच वर्षमुनिका बालबालिकालाई कुपोषित हुन नपरोस् भनेर पोषण भत्ता कार्यक्रम लागू गरेको भए पनि प्रदेशका बालबालिकामा कुपोषण देखिने क्रममा कमी आउन सकेको छैन।

अधिकांश महिलाहरू घरको काममा बढी समय दिने तर बच्चाको हेरविचारमा कम समय दिने भएकाले बालबालिकामा कुपोषण देखिन थालेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

चालु आर्थिक वर्षको छ महिनामा मात्र सेती प्रादेशिक अस्पतालमा ४८ जना कुपोषित बालबालिका भर्ना भएका थिए। जसमध्ये २८ जना निको भएर डिस्चार्ज भएको सेती प्रादेशिक अस्पतालको पोषण पुन:स्थापना गृहकी प्रबन्धक गीता बिष्टले बताइन्।

आर्थिक वर्ष २०७५/७६ मा १ सय ४७ कुपोषित बच्चासहित आमा भर्ना भएर निको भई घर फर्किएको उनले बताइन्। त्यस्तै, गत आर्थिक वर्ष २०७६/७७ मा  १ सय १० जना निको भएर घर फर्किएको बिष्टले जानकारी दिइन्।

उनले अस्पतालमा आएका बालबालिकामा मध्यम कुपोषण, शीघ्र कुपोषण र निम्न कुपोषण गरी तीन प्रकारका कुपोषण देखापर्ने गरेको बताइन्।

‘पाँच वर्षमुनिका बालबालिका कुपोषणको जोखिममा छन्,’ उनले भनिन्।

गर्भवती हुँदा आमाले पोषिलो खाना नपाएमा र बच्चाले जन्मेको छ महिनासम्म आमाको दूध राम्ररी खान नपाएर बढी कुपोषित हुने गरेको बताइन्।

‘ग्रामीण क्षेत्रका महिलालाई कामको बोझ, गरिबी र पोषणबारे जानकारी नभएर पनि बच्चामा कुपोषण देखिने गरेको छ,’ उनले भनिन्।

पोषण गृहको तथ्यांक हेर्दा विपन्न परिवारका बच्चामा कुपोषण बढी देखिएको छ। यसरी बच्चामा कुपोषण भए-नभएको थाहा नपाएका कतिपय आमाहरू पोषण गृहमा आउँदैनन्।

कुपोषणबारे थाहा नपाएर उपचार नगरे कुपोषित बच्चालाई विभिन्न रोगले सजिलै समात्न सक्ने उनले बताइन्। रोग प्रतिरोधात्मक शक्ति कम भएकाले निमोनियाजस्ता रोग लाग्ने जोखिम हुन्छ।

उनीहरूको ज्यानसमेत जाने खतरा हुने उनले बताइन्। उनले बच्चामा कुपोषण देखिए अस्पतालको पोषण गृहमा आउन आग्रहसमेत गरिन्।

कुपोषणका लक्षणहरू

बालरोग विशेषज्ञ डाक्टर प्रदीप मिश्रका अनुसार कुपोषण भएका बच्चामा मुख्यत: तौल नबढ्नु अथवा भएको तौल घट्दै जानु र बच्चाले खान मन नगर्नु जस्ता लक्षण देखिन्छन्।

उनका अनुसार लक्षण दुई प्रकारले थाहा पाउन सकिन्छः

जाँचेरः बच्चाको तौल, उचाइ, पाखुराको मोटोपन आदि नापेर कुपोषण थाहा पाउन सकिन्छ। उमेर अनुसार बच्चाको तौल र उचाइ ठिक तरिकाले बढेको हुनुपर्छ।

देखेरः देखेरै पनि बच्चा एकदम सुकेको, अनुहार वा शरीरका केही अंग मात्र फुकेको, पुड्कोपन आदिबाट पनि कुपोषण भएको थाहा पाउन सकिन्छ।

सेती प्रादेशिक अस्पतालको पोषण गृहमा भर्ना भएका कुपोषित बच्चा र आमालाई के गरिन्छ?

  • आमा र बच्चालाई पौष्टिक आहार दैनिक सात पटकजति खुवाइन्छ।
  • समय-समयमा बच्चा र आमाको चेकजाँच गरिन्छ।
  • स्तनपान र बच्चाको स्याहारसुसारबारे स्वास्थ्यकर्मीद्वारा जानकारी दिइन्छ।
  • निको नहुञ्जले पोषण गृहमा बस्न पाइन्छ।
  • यस्ता गृहमा बस्न र उपचार गर्न पैसा लाग्दैन।