सभामुखको रिटमा संवैधानिक निकायमा नियुक्त सबै विपक्षी, आइतबार पेशी

सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा नियुक्ति भएका सबैलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन्।
संसदीइ सुनुवाइ नगरी अख्तियार लगायतका संवैधानिक निकायको नियुक्ति बदर गर्न माग गर्दै उनले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।
‘राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, संवैधानिक परिषद्का सचिव रहने मुख्य सचिव लगायत नियुक्ति भएका सबैलाई मुद्दामा विपक्षी बनाइएको छ’, सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानले भने, ‘उहाँले नियुक्ति गैरसंवैधानिक भएको बताउँदै आउनु भएको छ।’
सभामुख सापकोटाले आजै सर्वोच्च पुगेर रिट दायर गरेका हुन्। रिटको पेशी आइतबारको लागि तोकिएको सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए।
सरकारले संवैधानिक निकायमा नियुक्तिका लागि अध्यादेश जारी गर्दै उपस्थितिको बहुमतले नियुक्ति गर्न सक्ने प्रावधान गरेको थियो।
उक्त अध्यादेशपछि प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख अनुपस्थित हुँदा समेत नियुक्ति गर्न सकिने व्यवस्था प्रधानमन्त्रीले मिलाएका थिए।
गत मंसिर ३० गतेको परिषद्ले विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेको थियो। उक्त बैठकमा सभामुख सापकोटा अनुपस्थित भएका थिए।
सभामुख सापकोटाले यसअघि नै प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश गैरसंवैधानिक भएको टिप्पणी गरेका थिए।