काठमाडौंका यी १६ ठाउँबाट निस्किँदैछन् जुलुस

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेपाल कम्युनिष्ट पार्टीले राजधानीका १६ स्थानबाट दरबारमार्गमा जुलुस एकीकृत गर्ने भएको छ।
स्वयंसेवक परिचालन कमिटीका अध्यक्ष महेश बस्नेतका अनुसार बिहान ११ बजेदेखि १६ वटै ठाउँबाट जुलुस निस्किँदैछ।
ती सबै ठाउँबाट जुलुसमा आउने सवारीसाधनलाई व्यवस्थापन गर्न दरबारमार्ग तथा आसपासका क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार दिउँसो १ बजेसम्म जुलुस निस्किने हुँदा ट्राफिक व्यवस्थापनमा असहज हुने देखिएको छ।
दरबारमार्गमा आमसभा रहेकाले त्यहाँ सवारीसाधन सञ्चालन हुने सम्भावना न्यून रहेको महाशाखा प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए।
‘केशरमलदेखि दरबारमार्ग, जयनेपाल हलदेखि घन्टाघरसम्म सवारीसाधन चल्न सक्दैनन्, बाँकी स्थानमा चल्छन्,’ अधिकारीले भने।
यता, पुतलीसडक-शंकरदेव सडकमा पनि सवारीसाधन चल्छन्। जुलुस सुरू भएपछि भित्री बाटोबाट गाडीहरू पठाउने व्यवस्था मिलाइएको अधिकारीले बताए।
सभाका लागि तयार गरिएका तीन हजार स्वयंसेवक वाकिटाकीसहित परिचालन हुने नेता बस्नेतले बताए।
‘भरसक हामी सवारीसाधन अवरोध नहोस् भन्नेतर्फ लाग्छौं तथापि सभामा मानिसहरूको भीड बढी रहने भएकाले अवरोध पुग्न सक्छ,’ बस्नेतले भने।
स्वयंसेवकले फोहोर सफा गर्छन्। फोहोर नगर्ने कुरामा बढी ध्यान दिएर सभा व्यवस्थापन गरिने बस्नेतले बताए।
१६ वटै ठाउँबाट आउने जुलुस दरबारमार्गको चार लेन सडकमा बस्ने छ।
आमसभाका मुख्य वक्ता प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा छन्।
जुलुस अनुशासित र सभ्य तरिकाले निस्किने बस्नेतले बताए। ‘जुलुसका नारा हामीले लिखित रुपमा दिएका छौं। सम्य नारा छन्। कसैको विरूद्धमा छैनन्,’ उनले भने।
जुलुसमा तीन लाख जनसंख्या उतार्ने योजना रहेको बस्नेतले बताए।
कहाँबाट कसको जुलुस निस्किन्छ?
बस्नेतका अनुसार बागबजारबाट सबै सम्पर्क मञ्चका सहभागीहरूको जुलुस निस्किन्छ।
प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी, खेलकुद महासंघ र प्रेस संगठनका कार्यकर्ताहरूको जुलुस निस्किन्छ।
महेन्द्र शालिकपूर्वबाट जनजाति महासंघ घटकका संगठनहरूको जुलुस निस्किन्छ।
यस्तै, घन्टाघरबाट मुस्लिम समुदायका सहभागीहरूको जुलुस निस्किन्छ। नेपाल एयरलाइन्सको कार्यालय अगाडि ललितपुर जिल्लाको, त्रिपुरेश्वरमा चितवन, धादिङ र सोही बाटो भएर आएने सबै सहभागीहरूको जुलुस छ।
गौशालामा भक्तपुर, माइतीघरमा दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली जिल्लाबाट आउनेको जुलुस, पुतलीसडकमा सबै जनवर्गीय संगठनको, लैनचौरमा नुवाकोट र रसुवा जिल्ला, सोह्रखुट्टै नयाँ रोडमा मकवानपुर भीमफेदीको बाटोबाट आउनेको जुलुस छ।
यसैगरी, टेकुबाट काठमाडौं क्षेत्र नम्बर ९ र १०, वसन्तपुरमा क्षेत्र नम्बर ८, सोह्रखुट्टेमा क्षेत्र नम्बर ६ र ७, ज्ञानेश्वरमा क्षेत्र नम्बर ३, ४ र ५ तथा पुरानो बानेश्वरमा क्षेत्र नम्बर १ र २ को जुलुस निस्किने बस्नेतले बताए।