‘ओली समूहका केही उच्छृङ्गल कार्यकर्ता अवज्ञा गर्न खोज्छन्, हामी उनीहरुलाई सम्झाएर पठाउँछौं’

प्रचण्ड-नेपाल समूहको नेकपाले आज गरेको आमहड्ताल कर्णालीमा पनि जारी छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँगै प्रदेशका विभिन्न जिल्ला सदरमुकाममा पसलहरु बन्द गरिएको छ ।
सार्वजनिक तथा निजी यातायात पनि ठप्प छन्। अत्यावश्यक तथा परीक्षामा सहभागी हुन जाने विद्यार्थी चढेका गाडी भने चलिरहेका छन्। सुर्खेतको वीरेन्द्रनगरमा केही अटोरिक्सा तथा मोटरसाइकल पनि फाट्टफुट्ट चलेका छन्।
सुर्खेतमा भइरहेको हड्ताललाई भने ओली समूहका केही कार्यकर्ताले अवज्ञा गर्न खोजेको नेकपा प्रचण्ड-नेपाल समूहका जिल्ला सचिव कृष्ण जिसीले बताए। उनीहरूले सामाजिक सञ्जालमा स्टाटस लेखेर, बन्दकर्ता बसेको ठाउँबाट मोटरसाइकल तथा सवारी साधन चलाएर अवज्ञा गर्न खोजेको जिसीले बताए।
‘ओली समूहका १/२ जना उच्छृङ्खल व्यक्तिले बन्दको अवज्ञा गर्न खोजे, हामीले उनीहरूलाई सम्झाएर पठाएका छौं,’ उनले भने, ‘त्यो समूहको धेरैजसो व्यक्तिबाट त राजनीतिक व्यवहार नै भएको छ, केहीले उच्छृङ्खल कार्य गर्न खोजे।’
हड्ताललाई प्रहरी, प्रशासन तथा आम नागरिकले पनि सहयोग गरेको जिसीले बताए।‘हामीलाई जनताले पनि सहयोग गर्नुभएको छ, हामीले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेकाले प्रशासनबाट पनि कुनै हस्तक्षेप अहिलेसम्म भएको छैन,’ उनले भने ।