May 31, 2023

प्रचण्ड-नेपाल समूहको आमहड्ताललाई लिएर प्रहरीको ‘क्वीक सेक्युरिटी प्लान’

Feb 03 , 2021

तोडफोड र आगजनी भए पक्राउ गरी कारबाही गर्ने

प्रहरीले नेकपा प्रचण्ड- नेपाल समूहले आह्वान गरेको आमहड्ताललाई लक्षित गरी आकस्मिक सुरक्षा योजना बनाएको छ।

सबै जिल्ला प्रहरी कार्यालय, राजधानी उपत्यकामा परिसरहरूले आवश्यक सुरक्षा योजना बनाएका हुन्।

सुरक्षा योजनामा प्रहरीको परिचालन अत्यधिक रहेको छ। बन्दका क्रममा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न साबिकको भन्दा प्रहरी जनशक्ति बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

कार्यालयका अनुसार साबिकको भन्दा पैदल, मोबाइल, पिकेट गस्ती बढाइएको छ।

शान्तिपूर्ण वातावरणमै आमहड्ताल सम्पन्न होस् र सर्वसाधारणले शान्ति सुरक्षा र अमनचयनको प्रत्याभूत गरून् भन्ने उद्देश्यबाट प्रहरी परिचालन हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले बताए।

त्यसअनुसार उपत्यकाका तीन वटै जिल्लास्थित सुरक्षा प्रमुखहरूलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन भनिएको छ।

‘राजनीतिक पार्टीको विरोध आन्दोलनका क्रममा शान्तिपूर्ण प्रदर्शनमा बाधा पर्ने छैन, जबरजस्ती बन्द गराउने, आगजनी र तोडफोड भए प्रहरीले नियन्त्रणणमा लिएर कारबाही गर्छ,’ पालले भने, ‘कुनै पनि धनजनको क्षति नहोस् भन्नेतर्फ प्रहरी सचेत छ।’

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार उपत्यकामा रानीपोखरीले र अन्य ठाउँमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयले सुरक्षा योजना बनाएका छन्। त्यसमा केन्द्रको आवश्यक निर्देशन छ।‘शान्तिपूर्ण रूपमा आमहड्ताल सम्पन्न गराउनेतर्फ सुरक्षाकर्मीहरू रहन्छन्, नागरिकको मौलिक हक र स्वतन्त्रतालाई बाधा पर्ने काममा प्रहरीले हस्तक्षेप गर्छ,’ कुँवरले भने।