Sep 19, 2023

अपहेलना मुद्दामा प्रचण्डलाई पनि बोलायो सर्वोच्चले

Feb 03 , 2021

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सात दिन भित्र अदालतमा उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ।

अधिवक्ता समिर हायूले दर्ता गरेको अदालतको अपहेलना मुद्दामा बुधबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले अध्यक्ष प्रचण्डलाई बाटोको म्यादबाहेक सात दिन भित्र अदालतमा उपस्थित भएर लिखित जवाफ दिन आदेश दिएको हो।

विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अदालतमा मुद्दा दर्ता भएको थियो।

प्रचण्डले सर्वोच्चमा मुद्दा परेका कारण धैयर्तापूर्वक बसेको बताएका थिए।

‘हामीले धैर्यतापूर्वक सर्वोच्चले संविधानको मर्म र भावना अनुसार लोकतन्त्रको मर्म र भावना अनुसार, यो देशको जनताको भावना र आवश्यकता अनुसार गर्छ भनेर भरोसा गरेर बसेका छौं’, प्रचण्डले भनेका थिए, ‘जरूरी पर्‍यो भने म आज विराटनगरबाट भन्दैछु। देशैले सुने हुन्छ, जरूरी पर्‍यो भने हामी संसदको बैठक बस्छौं र यस्ता अपराधीहरूलाई कारबाही गर्छौं। संविधानले हामीलाई संसदको बैठक बस्ने अधिकार दिएको छ। केपी ओलीलाई विघटनको अधिकार दिएको छैन।

संविधानको अधिकार प्रयोग गरेर केपी ओलीले गरेको असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याउन सभामुखले सदनको बैठक आयोजना गर्ने हामी उपस्थित हुने र केपीलाई कारबाही गर्नेसम्म जान सकिन्छ। तर म के भन्छु त  सर्वोच्चले सही नै फैसला गर्छ भन्ने विश्वास छ। सर्वोच्चले सही नै फैसला गर्छ भन्ने विश्वास भएकाले अहिले नै बसिएको छैन। जरूरी पर्‍यो भने त्यो विकल्प नेपाली जनतासँग छ।’

प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दामा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भैरहेको छ।

अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरेको भन्दै अधिवक्ता हायुले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।

सर्वोच्चले यसअघि नै प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुङ्गानालाई अदालतको अपहेलना मुद्दामा आफैं उपस्थित भएर जवाफ दिन आदेश दिइसकेको छ।

यो पनि

 

प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीशलाई आफैं अदालत आएर जवाफ दिन सर्वोच्चको आदेश

Facebook Notice for EU! You need to login to view and post FB Comments!