Mar 19, 2023

बुधबारका लागि डाकिएको संवैधानिक परिषद्को बैठक स्थगित

Feb 02 , 2021

संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि बैठक डाकेका थिए। बिहान ११ बजेका लागि डाकिएको बैठक साँझ ५ बजेका लागि सारिएको थियो।  तर साँझ पनि बैठक नबस्ने भएको हो।

‘भोलि बस्ने कुरा थियो। केही कारणले भोलि नबसेर अर्को दिन बस्ने हो कि भन्ने कुरा भैरहेको छ’, परिषद् सदस्य समेत रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सेतोपाटीसँग भने, ‘अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ।’

संवैधानिक परिषद्मा प्रधानमन्त्रीसँगै, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख र प्रमुख प्रतिपक्षीदलका नेता सदस्य रहन्छन्। हाल प्रतिनिधि सभाको उपसभामुख पद रिक्त रहेको छ।

गत मंसिर ३० प्रधानमन्त्री केपी शर्मा ओलीले कायम रहेका सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने गरि संवैधानिक परिषद् सम्बन्धि ऐनलाई अध्यादेश मार्फत् संशोधन गरेका थिए।

उक्त अध्यादेश विरुद्ध हाल सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ। त्यस्तै सभामुख अग्नि सापकोटाले अध्यादेश गैरसंवैधानिक भएको बताउँदै आएका छन्। उनी पछिल्ला संवैधानिक परिषद्को बैठकमा समेत सहभागि भएका छैनन्।