Sep 23, 2023

कोरोना कोषकाे १ करोड रक्सीमै स्वाहा !

Jul 06 , 2020

मुगुको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापालले कोरोना कोषमा जम्मा भएको १ करोडभन्दा बढी रकम रक्सी खाएर हिनामिना गरेको आरोप लागेको छ ।

स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको रकम हिनामिना गरेको भन्दै गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले जिल्ला प्रशासन कार्यालयमा उजुरी पेस गरेका छन् ।

गाउँपालिका अध्यक्ष शाहीले कोरोना महामारी नियन्त्रणका लागि गाउँपालिकामा गठन भएको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा प्रदेशबाट १५ लाख, गाउँपालिकाबाट ७५ लाख, छायानाथ सहकारीबाट ५० हजार, किर्डाक शाखाबाट ३ लाख तथा अन्य निकायको सहयोगसहित १ करोडभन्दा बढी रकम जम्मा भएको थियो ।

गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख धान्य बुढा र लेखापाल जिरबहादुर बुढाको मिलेमतोमा रकम हिनामिना भएको र आइतबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा पेस गरिएको सोरु गाउँपालिकाका अध्यक्ष शाहीले जानकारी दिए ।

विकास निर्माणको रकममा पनि हिनामिना

काम नै नभएको नक्कली योजना बनाएर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत र लेखापालले सोरु गाउँपालिका– ८ तारापानी–नुवाकोट–रुम सडक खण्डको कुनै काम नै नगरी उपप्रमुख राज्यलक्ष्मी बमलाई ९ लाख २१ हजार रकम भुक्तानी दिन चेक तयार गरेको र उक्त चेक आफूले जफत गरी प्रशासनमा पेस गरेको प्रमुख शाहीले बताए ।

सो सडक निर्माणका लागि गाउँपालिकाले ०७६/०७७ मा १५ लाख बजेट विनियोजन गरेको र उपप्रमुख बमले ४ लाख अग्रिम पेश्की लिएको सोही रकमअनुसारको काम नै नगरी बाँकी ९ लाख २१ हजार भुक्तानी लिन खोज्दा चेक जफत गरिएकाे अध्यक्ष शाहीले जानकारी दिए ।

विपदकाे रकम रक्सीमा खर्च

विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतले रक्सीमा खर्च गरेको पाइएको अध्यक्ष शाहीले बताए ।

‘गाउँपालिकाको अर्डर स्लीपमा रक्सी मगाएको अर्डर स्लीप भेट्टाएँ,’ उनले भने, ‘चम्चा, थाल र रक्सीमा खर्च दुरुपयोग भएको छ ।’

[ SOURCE ]

Facebook Notice for EU! You need to login to view and post FB Comments!