Mar 31, 2023

बाबा रामदेव र आचार्य बालकृष्णविरुद्ध मुद्दा दर्ता

Jun 28 , 2020

भारतको राजस्थानको राजधानी जयपुरमा एक वकिलले बाबा रामदेव, आचार्य बालकृष्णसहित अन्य व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेका छन् ।

जयपुरका एसीपी अशोक गुप्ताले उनीहरूविरुद्ध मुद्दा परेको जानकारी दिएका हुन् । उनले भने, ‘हामीलाई विनाकुनै परीक्षण कोरोना भाइरसको औषधि विकसित गरेको दाबी गरेकोमा बाबा रामदेवकाविरुद्ध उजुरी प्राप्त भएको छ ।’  यसअघि जून २६ मा राजस्थानको स्वास्थ्य विभागले पतञ्जलिको औषधि कोरोनिललाई लिएर जयपुरको एनआईएमएस अस्पताललाई एक पत्र पठाएको थियो ।

अधिकारीहरूले शुक्रबार सो पत्रमा अस्पताल प्रशासनसँग कोरोना भाइरसका बिरामीमा पतञ्जलिको औषधि ट्रायल गरेको बारेमा स्पष्टीकरण मागेको थियो । जयपुरका मुख्य चिकित्सा एवं स्वास्थ्य अधिकारी डा.नरोत्तम शर्माले बुधबार पत्र पठाएर ३ दिनभित्र स्पष्टिकरण दिन भनिएको बताएका छन् । अस्पताल प्रशासनले यसबारेमा सरकारलाई कुनै जानकारी दिएन भने ट्रायलका लागि अनुमतिसमेत मागेको थिएन ।

उनले नेसनल इन्स्टिच्युट अफ मेडिकल साइन्स (एनआईएमएस) ले जवाफ पर्खिरहेको बताइएको छ । राजस्थान सरकारले कोरोनिललाई औषधिको रूपमा प्रयोग गर्न आयुष मन्त्रालयको स्वीकृति प्राप्त नभएसम्म प्रयोग नगरिने स्पष्ट पारेको छ ।  पतञ्जलिले एनआईएमएस विश्वविद्यालयसँग मिलेर औषधि बनाएको दाबी गरेको छ । मंगलबार औषधि लञ्च गर्दा कोरोनाका बिरामीमा यो औषधिले ३ दिनमा ६९ प्रतिशत र ७ दिनमा शतप्रतिशत निको हुने दाबी गरेको थियो ।

यद्यपि आयुष मन्त्रालयले सो औषधि लन्च भएको केही घन्टामा नै प्रतिबन्ध लगाएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!