Sep 30, 2023

काठमाडौं छिर्‍यो सलह, पाकिस्तान जाने बाटो खोज्दै थप सामग्री

Jun 28 , 2020

गत शुक्रबार पर्सा, बारा र रूपन्देहीमा देखिएको सलह कीरा ३ दिनभित्र १२ जिल्लामा फैलिएकोे नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले जानकारी दिएको छ । आइतबार सलह कीरा काठमाडौं र ललितपुरमा समेत देखिएको नार्कले जनाएको छ ।

ललितपुर र काठमाडौंमा देखिएको सलह कीरा काभ्रेतिर उडेर पसेको नार्कका मुख्य वैज्ञानिक हरिप्रसाद उप्रेतीले जानकारी दिए । नार्कका महानिर्देशक उप्रेतीका अनुसार भारतबाट ३ लाखको संख्यामा सलह कीरा नेपाल प्रवेश गरेका थिए । यी कीरा २ समूह बनाएर दुईतिर नै बाटो बनाएर उडेको उनको भनाइ छ । एउटा समूह रूपन्देही हुँदै पश्चिमतिर र अर्को समूह काठमाडौं हुँदै पूर्वी जिल्लातिर उडेको नार्कले जानकारी दिएको छ ।

नार्कका अनुसार, बारा, तनहुँ, पर्सा, सिन्धुली, काभ्रे, पोखरा, रूपन्देही र तराईका केही जिल्ला हुँदै पहाडतिर २ समूहमा सलह कीरा फैलिइरहेको छ । नेपाल प्रवेश गरेको सलह कीरा पाकिस्तान जाने बाटो खोजिरहेको नार्कले बताएको छ । नेपालमा वर्षात् भएका कारण धेरै दिन सलह कीरा टिक्न नसक्ने नार्कको अनुमान छ ।

१५ दिन अथवा वर्षात् भइरहे १ सातामा उडेर अन्य सुरक्षित क्षेत्र खोज्दै सलह कीरा जाने नार्कको अनुमान छ । अन्य देशमा ७ देखि १० करोडको समूहमा आएर बाली सखाप पार्ने सलह कीरा नेपालमा भने ३ लाखको हाराहारीमा मात्र प्रवेश गरेको नार्कको भनाइ छ । नेपालमा करिब लाखको समूहमा मात्र आएकाले नियन्त्रण गर्न सकिने नार्कका निर्देशक उप्रेतीले बताए ।

‘नेपालमा पानी परिरहेकाले सलह कीरा धेरै टिक्दैन । अहिले डराउनैपर्ने अवस्था छैन । घरायसी औषधि प्रयोग गरेर पनि नियन्त्रण गर्न सकिन्छ’, उनले भने, ‘सलह कीरा घरायसी विषादी प्रयोग गरेर धुवाँ लगाएर तथा ड्रम बजाएर नियन्त्रण गर्न सकिन्छ । यस विषयमा नार्कले सलह कीरा फैलिएको क्षेत्रमा जानकारी गराएको छ ।’

सलह कीराले धेरै नोक्सानी नपुर्‍याउने उनको भनाइ छ । सलह गत शुक्रबार भारतबाट नेपालको तराईका जिल्ला हुँदै पहाडी जिल्लाहरूमा समेत प्रवेश गरेको थियो । सलह कीरालाई बिहान विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरूको भनाइ छ । साँझ एक ठाउँमा गएर बस्ने र बिहान ८-९ बजेपछि मात्र बाली खान खेतमा पस्ने भएकाले बिहान ५-६ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरूले बताएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह कीरा प्रवेश गरेका जिल्लाबाट हटलाइन फोनबाट जानकारी लिने भएको छ । कृषिमन्त्री घनश्याम भुसालले सलह कीरा प्रवेश गरेको क्षेत्रमा तत्काल विषादी छर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!