एसईईको नतिजा साउनको दोस्रो साता

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउनको दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षा गर्न सम्भव नभएपछि विद्यालयको मूल्याङ्कनलाई आधार मानेर बोर्डले नतिजा सार्वजनिक गर्न लागेको हो ।
‘मूल्याङ्कन गर्न बोर्डले कार्यविधि बनाइसकेको छ,’ परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘विद्यार्थीको मूल्याङ्कन विवरण छिटो आयो भने साउनको दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेका छौँ । साउनभित्रमा प्रमाणपत्र दिने भनिएको हो ।’
‘२० गतेभित्र विवरण पठाउनू’
अहिलेसम्म विद्यालयले मूल्याङ्कन विवरण नपठाएको अध्यक्ष पौडेलले बताए ।
‘जिल्ला विकास तथा समन्वय इकाइलाई यो महिनाभित्र र विद्यालयलाई यही २० गतेभित्र विवरण पठाउन भनेका छौँ,’ उनले भने, ‘काठमाडौंकै विद्यालयले आजभोलि नै पठाए हुने । अहिलेसम्म पठाएका छैनन् । विद्यालयले जति छिटो पठाउँछन्, त्यति नै चाँडो नतिजा सार्वजनिक हुन्छ । विद्यालयले पठाउन ढिला गरे नजिता पनि ढिलै हुन्छ ।’
बोर्डलाई डाटा इन्ट्री गर्न, रुजु गर्न र ग्रेड तयार गर्न समय लाग्ने भएकाले छिटो मूल्याङ्कन गरेर पठाउन उनले आग्रह गरे ।
क्वारेन्टाइन भएका विद्यालयले के गर्ने ?
झण्डै ४ हजार विद्यालयलाई क्वारेन्टाइन बनाइएको छ । क्वारेन्टाइन रहेका विद्यालयलाई मूल्याङ्कन गर्न समस्या भएको छ ।
‘४ हजार विद्यालयलाई क्वारेन्टाइन बनाइएको छ । क्वारेन्टाइन बनाइएका विद्यालयमा छिर्न पाइँदैन । विद्यार्थीको रेकर्ड विद्यालयमा हुन्छ । प्रमुख जिल्ला अधिकारीलाई समन्वय गरेर फाइल झिकेर मूल्याङ्कन गरेर पठाउन आग्रह गरेका छौँ,’ उनले भने । यो वर्ष एसईईका ४ लाख ८२ हजार ७ सय ७ सय विद्यार्थी छन् ।