Sep 26, 2023

साल्ट ट्रेडिङले भ्यानबाट टोल टोलमा इन्डक्सन चुलो र स्यानिटाइजर बेच्दै, २६ सय ५० मै चुलो पाइने

May 28 , 2020

काठमाडौं। खाद्य कम्पनीको स्टक सकिएपछि बजारको माग धान्न साल्ट ट्रेडिङ कर्पोरेसनले इन्डक्सन चुलो बेच्न थालेको छ।

सरकारी कम्पनी  कर्पोरेसनले लकडाउनको समयमा उपभोक्ताको माग अनुसार दैनिक उपभोग्य सामानका साथै इन्डक्सन चुलो समेत बिक्री गरिरहेको जनाएको छ। सुरुका दिनमा उपत्यकाभित्र बिक्री गरिरहेको खाद्यान्न यतिबेला उपत्यका बाहिर पनि बिक्री भइरहेको छ ।

कोरोना भाइरसका कारण गत महिना बजारमा ग्यास अभाव हुँदा उपभोक्ताहरु इन्डक्सन चुलोप्रति आकर्षित भएका थिए।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग स्टक भएका चुलो सबै बिक्री भएपछि पनि उपभोक्ताबाट लगातार माग आइरहेको थियो।

लकडाउनको समय भएका कारण बजार बन्द भएपछि साल्ट ट्रेडिङले माग बढी भएको ठाउँमा लगेर बिक्री-वितरण गर्न लागेको कर्पोरेशनका सहायक महाप्रबन्धक पकंज जोशीले बताए ।

हाल कर्पोरेशनमा दैनिक रूपमा आउटलेट र घुम्ती सेवाबाट खाद्यान्न, इन्डक्सन, स्यानिटाइजर  र ग्यास बिक्री गरिरहेको छ । हाल बिक्री गर्न लागेको इन्डक्सन चुलो यसअघि खाद्य कम्पनीले बिक्री गरेको भन्दा सस्तो रहेको सहायक महाप्रबन्धक जोशीले जानकारी दिए ।इन्डक्सन  चुलोको २६ सय ५० रुपैयाँमा बिक्री गरिरहेको उनले बताए। इन्डक्सन चुलोका लागि आवश्यक प्रेसर कुकर, कराही र सस प्यान समेतको सेट पनि बिक्रीमा राखिएको छ।

कर्पोरेशन २ सय ५० रुपैयाँमा १ सय ५० एमएलको स्यानिटाइजर बिक्री गरिरहेको छ । ‘यतिबेला यहीँ उत्पादन भएको स्यानिटाइजर बिक्री गरिरहेका  छौं । केहि दिनमा विदेशबाट समेत आयात गर्ने योजना छ,’ उनले भने।  कोरोना भाइरसको सक्रमण बढ्न थालेपछि स्यानिटाइजरको माग आउन थालेको पाइएको छ।

पछिल्लो समय कर्पोरेशनमार्फत हुने बिक्री बढेको छ। साल्ट ट्रेडिङले लकडाउनको अवधिभर खाद्यान्नमा १० प्रतिशत छुट दिएर बिक्री गरिरहेको छ । तीनवटा भ्यानबाट घुम्ती सेवामार्फत बिक्री गर्दै आएको छ । लकडाउनका कारण खाद्यान्नको अर्डर बढ्न थालेको छ ।

मोबाइल भ्यानप्रति उपभोक्ताहरु सकारात्मक भएको कर्पोरेशनका बजार प्रबन्धक प्रज्वल प्रधानले बताए । उनका अनुसार एउटा भ्यानबाट दैनिक १ लाख सम्मको कारोबार हुने गरेको छ।

आउटलेट र घुम्ती सेवाबाट दैनिक १२ लाखभन्दा बढीको व्यापार हुने गरेको पनि प्रधानले जानकारी दिए । ‘यतिबेला राहतका लागि र खाना बनाएर खुवाउनका लागि संघ, क्लव तथा समुहबाट खाद्यान किन्न आउने गरेको छन् । धेरै परिमाणमा लैजाने हुनाले उनीहरुको लागि छुट्टै मूल्य तोकिएको छ,’ उनले भने।

Facebook Notice for EU! You need to login to view and post FB Comments!