काठमाडौंमा निर्माण हुन लागेका चार नयाँ सहरको डिपिआर तयार, आठ आनाभन्दा घटी कित्ताकाट गर्न नपाइने

काठमाडौं उपत्यकाभित्र निर्माण हुन लागेका चारवटा नयाँ सहरको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको छ । काठमाडौं उपत्यका भौतिक विकास समितिले चारवटा नयाँ सहर निर्माणको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको जनाएको हो ।
समितिको आइतबार बसेको १३औँ बैठकले दुईवटा नयाँ सहर (काठमाडौं नैऋत्य र काठमाडौं हरित) को डिपिआर स्वीकृत गरेको छ । बाँकी दुई सहर (काठमाडौं ईसान र काठमाडौं आग्नेय)को यही २५ जेठ मा बस्ने १४औँ बैठकले स्वीकृत गर्ने काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए । समितिको २५ जेठको बैठकले डिपिआरलाई स्वीकृत गरिसकेपछि मन्त्रिपरिषद्को बैठकमा पेस हुनेछ । मन्त्रिपरिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा जानेछ ।
काठमाडौं उपत्यकाभित्र चारवटा आधुनिक नयाँ सहर निर्माण हुने भएपछि त्यस क्षेत्रको जग्गा कित्ताकाटमा प्राधिकरणले केही मापदण्ड तयार गरेको छ । न्यूनतम आठआनाको कित्ताकाट गरी खरिद–बिक्री गर्न सकिनेछ भने सोभन्दा कमको कित्ताकाट गर्न पाइने छैन । चारवटा आयोजनामध्ये एक लाख रोपनी क्षेत्रफल भएको काठमाडौं ईसानको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न १२ कारोड रुपैयाँ विनियोजन भएकोमा भ्याटबाहेक सात करोड खर्च भएको तिवारीले बताए । उनका अनुसार बाँकी तीन परियोजनाको अध्ययनका लागि दुई–दुई करोड रुपैयाँ विनियोजन गरेकोमा भ्याटबाहेक एक करोड ४० लाख खर्च भएको छ ।
काठमाडौं ईसान (पूर्व–उत्तर)को डिपिआर निर्माण फिनल्यान्डको हेलेन एन्ड कम्पनी र जेके एसोसिएट्सले गरेको छ । अन्य तीनवटा आयोजनाको डिपिआर निर्माण भने नेपाली कम्पनीले नै गरेका हुन् । चारवटा परियोजनामा काठमाडौं ईसान (पूर्व–उत्तर), काठमाडौं आग्नेय (पूर्व–दक्षिण), काठमाडौं नैऋत्य (दक्षिण–पश्चिम) र काठमाडौं हरित सहर (उत्तर) रहेका छन् । जसमध्ये काठमाडौं ईसानको क्षेत्रफल एक लाख रोपनी छ भने अन्यको १० हजार रोपनी छ । यो परियोनामा पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म, पश्चिम क्षेत्र जोरपाटी क्रिकेट स्टेडिगम, मूलपानी, गोठाटार हुँदै मनोहर पुल भक्तपुर जाने पुरानो बाटोसम्म, उत्तरतर्फ साँखु बजार र साँखु जाने मूल सडक र दक्षिणतर्फ भक्तपुर पुरानो बाटोमा पर्ने नेपाल सैनिक प्रतिष्ठान, खरिपाटीलगायतको ठाउँसम्म छ ।
काठमाडौं आग्नेयको कुल क्षेत्रफल १० हजार रोपनी रहेको छ । यो आयोजनामा पूर्वतर्फ अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सूर्यविनायक वनलाई बाहिर पार्दै जानेछ । पश्चिमतर्फ खहरेखोला, बालकोट बिरुवा सडक, पानीट्याङ्की, अमरनगरलगायतका ठाउँ रहेको छ । उत्तरतर्फ अरनिको राजमार्गको सिमाना रहेको छ भने दक्षिणमा भक्तपुरको रानीकोट जंगलको छेउसम्म रहेको छ ।
काठमाडौं नैऋत्यको कुल क्षेत्रफल पनि १० हजार रोपनी रहेको छ । यसको पूर्वमा छ्यासीकोटदेखि फर्सिडोल, बागमती नदीको झोलुंगे पुलसम्म, पश्चिममा बागमती नदी, उत्तरमा साबिकको सैंबु गाविसको सिमाना, दक्षिणमा बागमती नदीसम्मको क्षेत्र रहेको छ । काठमाडौं उत्तरको कुल क्षेत्रलफल पनि १० हजार रोपनी रहेको छ । यो योजनाको पूर्वमा सामाखुसी, टोखारोड हुँदै बाइपाससम्म, पश्चिममा काभ्रेस्थली बाइपास जाने मूलसडक, उत्तरमा सपनातीर्थ, मालुङ हुँदै काभ्रेस्थली र दक्षिणमा ग्रिनल्याड चोकदेखि मनोरथ हुँदै महादेव खोलासम्म समावेश गरिएको छ ।