Oct 17, 2021

कोरोनाको हटस्पट बनेको भारतीय तरकारी बजार

May 19 , 2020

मे ५ मा दक्षिण भारतको एक जिल्ला कलेक्टर भरत गुप्ताले चेन्नई सहरमा रहेको विशाल तरकारी बजार कोयाम्बेदु अस्थायी रुपमा बन्द हुँदैछ भन्ने कुरा थाहा पाए । कारण थियो, बजारका केही मजदुर र विक्रेतामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि हुनु र यहाँबाट आसपासका अन्य क्षेत्रमा पनि संक्रमण फैलिनु ।

गुप्तालाई यो बजारको बारेमा राम्रो जानकारी थियो । किनकि, आन्ध्र प्रदेशमा रहेको उनको चिट्टोर जिल्लाबाट सधैं किसानहरूले टमाटर ट्रकमा हालेर तमिलनाडुमा रहेको यो बजारमा पठाउने गर्थे ।

अहिले भने गुप्तालाई उक्त बजारमा तरकारी पुर्‍याउन जाने ट्रकका चालक र त्यसमा रहने सहयोगीको चिन्ता छ । उनीहरूले तरकारी ट्रकमा हाल्ने र निकाल्ने काम गर्थे ।

कहिलेकाहीँ पैसाको हिसाब गर्ने मानिस पनि उनीहरूको साथमा हुन्थे । उनीहरू प्रत्येक दिन बेलुका सात बजे हिँड्थे र भोलिपल्ट दिउँसो चिट्टोर आइपुग्थे ।

मे ६ मा चिट्टोरका अधिकारीहरूले अप्रिल २० देखि बजारमा रहेका सबैको परीक्षण सुरु गरे । कोयाम्बेदुमा तरकारी पुर्‍याउने अन्य जिल्लाका मानिसहरूमा पनि कोरोना भाइरसको परीक्षण सुरु भयो । बुधबारसम्म चिट्टोरमा कोयाम्बेदुसँग जोडिएको ४३ संक्रमित भेटिए ।

तामिलनाडुमा भने यो बजारबाट दुई हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । यो संख्या राज्यमा देखिएको समग्र संक्रमित संख्याको एक तिहाइ हो ।

५३ हजारभन्दा बढी निको हुन बाँकी बिरामी रहेको भारत करिब दुई महिनादेखि लकडाउनमा छ । तर, यो अवधिमा पनि किराना पसल र खाद्य बजार भने खोल्न दिइएको छ ।

अहिले यस्तै बजार भारतमा कोरोना फैलाउने केन्द्र बन्न पुगेका छन् । तरकारी बजारबाट भाइरसको संक्रमण फैलिनुमा जिम्मेवार को हो त ? भारतमा यस विषयमा चर्चा सुरु भएको छ । यद्यपि तरकारी बजारमा सरकारले तोके बमोजिम सामाजिक दुरी कायम राख्ने र नियम पालना नभएको र बजार नियमनमा पनि धेरै चुनौती रहेको खुलेको छ ।

पहिलो संक्रमित

चेन्नईको मुटुमा ६५ एकडमा फैलिएको कोयाम्बेदु एसियाकै सबैभन्दा ठूलो बजारमध्येको एक हो । यो बजारमा होलसेल र खुद्रा पसलले अन्न बिक्री गरिरहेका हुन्छन् । यो बजारमा फलफूल, तरकारी र फूल किन्न दैनिक हजारौं ग्राहक आइपुग्छन् । त्यसका साथै त्यहाँ पसलका मालिक, ट्रक चालक र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरू हुन्छन् । औसतमा यो बजारमा एक लाख मानिस जम्मा हुन्छन् ।

चेन्नई सहरका एक वरिष्ठ अधिकारी डी कार्तिकेयन सहरमा पर्याप्त सावधानी अपनाइएको तर यो महामारी एक ठाउँबाट फैलिएपछि सहरभरि फैलिने बताउँछन् । उनका अनुसार यो बजारमा लकडाउन सुरु भएको एक महिनापछि अप्रिल २४ मा पहिलो संक्रमित भेटिएका थिए । ५४ वर्षीया उनी तरकारी विक्रेता थिइन् । उनी अत्यधिक मानिसको चाप हुने पुलियान्थोपेमा बस्थिन् । त्यहीँबाट अहिले चेन्नई भारतको कोरोना भाइरसको हटस्पट बन्न पुग्यो ।

कार्तिकेयनका अनुसार यो संक्रमण उनलाई कसरी भयो भन्ने स्पष्ट हुन सकेको छैन । अहिले उक्त संक्रमण सोही बजारबाट फैलिएको हो कि बाहिरबाट आउने मानिसबाट फैलिएको हो भन्नेमा बहस चलिरहेको छ । ‘यो अहिले कुखुरा र अण्डाको बहस जस्तै भएको छ । कुन पहिला आयो ?’ कार्तिकेयन भन्छन् ।

परीक्षण

महिलाको परीक्षणपछि उनीबाट भाइरस सारेका ४५ संक्रमित फेला परे । जसमध्ये चारजना बजारभित्र काम गर्ने मानिस थिए । त्यसपछि बजारभन्दा बाहिर एक पसल सञ्चालन गर्दै आएका एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण देखियो । उनलाई पछ्याउँदै थप एक सय मानिसमा परीक्षण गरियो । जसमध्ये २५ जनामा संक्रमण पुष्टि भयो । उनीहरूमध्ये २० जना सोही बजारका दैनिक ज्यालादारीमा काम गर्ने मानिस थिए ।

यो घटनापछि दोस्रो चरणको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण सुरु भयो । ट्रक चालक, दैनिक ज्यालामा काम गर्ने मानिसहरू, फलफूल, तरकारी र फूल विक्रेताहरू, बजारमा समान लिन आउने र अन्यत्र लगेर बिक्री गर्ने मानिसहरू र बस तथा अटोरिक्सामा आउने मानिसहरूमा परीक्षण सुरु गरिएको थियो । यसैगरी परीक्षण बढाउँदै जाँदा पहिलो संक्रमित भेटिएको तीन सातामा संक्रमितको संख्या पनि बढ्दै गएको छ । यो बजारभन्दा दुई सय किलोमिटर टाढा रहेको चुड्डालेरो जिल्लामा कोयाम्बेदुमा काम गर्ने ११४ जनामा एकैदिन कोरोना भाइरसको संक्रमण पुष्टि भयो । अर्को, अरियालुर जिल्लामा भेटिएका तीन सय ४८ मध्ये ८० प्रतिशत कोयाम्वेदु बजारसँग सम्बन्धित थिए । जसमध्ये धेरै दैनिक ज्यालामा काम गर्ने मजदुर थिए ।

गत शुक्रबार यो बजार भ्रमण गरेका आन्ध्र प्रदेशका २८ मानिसहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

गत मे ८ मा तमिलनाडुका अधिकारीले बजारसँग जोडिएका एक हजार पाँच सय ८९ संक्रमित रहेको बताएका थिए । तर, त्यसको भोलिपल्ट यो संख्या बढेर एक हजार आठ सय ६७ मा पुग्यो । त्यसयता यहाँको केही अपेडेट आएको छैन । तर, अहिले तमिलनाडु १० हजारभन्दा धेरै संक्रमितसहित भारतको दोस्रो सबैभन्दा प्रभावित राज्य बनेको छ । यस्तोमा धेरै मानिसको मनमा बजार किन बन्द गरिएन ? भन्ने प्रश्न उब्जिएको छ ।

जिम्मेवार को ?

कार्तिकेयनका अनुसार यो बजार बन्द हुँदा धेरै किसानहरूको दैनिक जीवन प्रभावित हुन सक्थ्यो । किनकि यो बजारमा दैनिक पाँच हजार टन फलफूल र तरकारीको व्यापार हुन्छ । प्रत्येक दिन यो बजारमा तरकारी मात्र चार सय टन आउँछ । त्यसैले जोखिम भए पनि बजार बन्द गरिएन ।

अधिकारीहरूले बजारमा जोखिम न्यूनीकरणका लागि प्रयास भने गरेका थिए । त्यसका लागि उनीहरूले व्यापारीहरूसँग आफ्नो पसल सारेर व्यवस्थित गर्न निर्देशन दिएका थिए । तर, व्यापारीहरूले मानेनन् । कोयाम्वेदुका एक विक्रेताका अनुसार अप्रिल २५ मा यो बजारमा हजारौं मानिसको भिड लागेको थियो । जसका कारण बजारमा कतै हिँड्न सकिने अवस्थासमेत थिएन ।

अप्रिल २८ मा सरकारले सबै खुद्रा पसल बन्द गर्ने निर्णय गर्‍यो । साथै, अन्य अन्य स्थानको तरकारी र फलफूल बजार बन्द भएसँगै यहाँको भिड झनै बढ्यो । संक्रमणको संख्या बढ्दै गएपछि व्यापारीहरू निराश र दुःखी भए पनि तमिलनाडुले बाध्यात्मकरुपमा यो बजार बन्द गर्ने निर्णय गर्‍यो । त्यसपछि यो बजारका व्यापारीहरूलाई अन्य साना बजारहरूमा विभाजित भएर व्यापार गर्न निर्देशन दिइयो । तर, उनीहरू पुनः कोयाम्वेदु खोल्नुपर्ने माग गरिरहेका छन् ।

कोयाम्वेदुका तरकारी विक्रेता संघका प्रमुख जीडी राजासेकर लकडाउनको अवधिमा यो बजार सञ्चालन राख्नु नै गलत भएको बताउँछन् । उनले यसबारेमा आफूहरूले केही सुझाव दिएको भए पनि अधिकारीहरूले त्यसलाई बेवास्ता गरेको बताए ।

तमिलनाडुका मुख्यमन्त्री भने व्यापारीहरूले सरकारले दिएको भौतिक दुरी कायम राख्ने नियम पालना नगरेका कारण यो अवस्था सिर्जना भएको बताउँछन् । व्यापारीहरू भने बजारमा भौतिक दुरी कायम राखेर व्यापार गर्न सकिने ठाउँ नै नभएको तर्क गर्छन् ।

एसियाको सबैभन्दा ठूलो तरकारी बजारको रुपमा रहेको यो बजार अहिले चिन्ताको विषय बन्दै गएको छ । पछिल्लो समय बजारसँग सम्बन्ध रहेका मानिसहरूमा संक्रमण देखिने क्रम पनि बढ्दो क्रममा छ ।

स्रोत : बीबीसी