Sep 21, 2023

यसकारण ओलीले मानेनन् गृहमन्त्री बादलको लकडाउन खोल्ने प्रस्ताव

May 06 , 2020

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । लकडाउन कति दिन थप्ने भन्ने विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बसिरहेको हो । स्रोतका अनुसार आगामी जेठ ५ गतेसम्म लकडाउन बढाउने सरकारको तयारी छ ।

मंगलबार बालुवाटारमा कोरोना विशेष उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । पहिलो पटक प्रधानमन्त्री केपी ओली बैठकमा उपस्थित भएका थिए । बैठकमा मन्त्रीहरूले लकडाउनको मोडालिटीबारे आ–आफ्नो धारणा राखेका थिए । गृहमन्त्री रामबहादुर थापा बादलले लकडाउनले अर्थतन्त्र धराशयी हुने भन्दै केही खुकुलो पारेर जानुपर्ने प्रस्ताव गरेका थिए । गृहमन्त्रीको प्रस्तावमा केही मन्त्रीले समर्थन जनाएका थिए ।

स्रोतका अनुसार तर प्रधानमन्त्री ओलीले गृहमन्त्री बादलको प्रस्ताव ठाडै अस्वीकार गरेका थिए । उनले तत्काल लकडाउन खोल्न नसकिने धारणा राखेका थिए । छिमेकी भारतले लकडाउन बढाइरहेकाले नेपालले पनि जारी नै राख्नुपर्ने उनको तर्क थियो । प्रधानमन्त्री ओलीले नै त्यस्तो विचार राखेपछि अन्य मन्त्रीले प्रतिवाद गरेनन् ।

प्रधानमन्त्रीले लकडाउनले तत्काल अर्थतन्त्रमा संकट देखिए पनि खोल्नै नहुने धारणा राखेका थिए । त्यसैले आगामी जेठ ५ गतेसम्म १० दिन लकडाउन थपिने तयारी छ । जेठको पहिलो साता मात्रै लकडाउनको मोडालिटी बनाउने विषयमा गृह मन्त्रालयले जुटेको छ । गृह मन्त्रालयले ग्रिन, एल्लो र रेड जोन छुट्याएर लकडाउन खुकुलो पार्ने प्रस्ताव तयार गरे पनि प्रधानमन्त्री ओलीको निर्देशनपछि रोकिएको छ ।