Mar 28, 2023

मेडिकल सामग्री ल्याउन सोमबार वाइडबडी चीन पठाउने सेनाको तयारी

Apr 30 , 2020

नेपाली सेनाले चीनबाट ल्याउन लागेको स्वास्थ्य सामग्री मंगलबारसम्म नेपाल आउने भएको छ। चीनबाट स्वास्थ्य सामाग्री ल्याउने एजेन्ट तयार भइसकेकाले कुनै प्राविधिक समस्या नआए सोमबार सामान लिन वाइडबडी जहाज पठाउने सेनाको तयारी छ। चीनबाट स्वास्थ्य सामग्री ल्याउन फ्ल्यास फ्रेट लजिस्टिक छनौट भएको सूचना चीन पठाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

‘शुक्रबार मे-१ चीनमा सार्वजनिक विदा, शनिबार नेपालमा विदा अनि आइतवार चीनमा विदा हुने भएकाले सोमबार मात्रै हाम्रो काम सुरू हुन्छ,’ सैनिक प्रवक्ता पाण्डेले भने,’भन्सार प्रक्रियाका लागि कहिलेकाहीँ ७२ घण्टासम्म समय लाग्न सक्छ। हामीले त्यसका लागि समय छोट्याउन आग्रह गरेका छौं।’ भन्सार प्रक्रियामा समय लाग्यो भने स्वास्थ्य सामग्री ल्याउन अझै १ साता लाग्न सक्छ। वैशाख २२ गते पहिलो फ्लाइट पठाउने आफूहरूको  तयारी रहेको समेत प्रवक्ता पाण्डेले बताए।

‘हामीले स्वास्थ्य सामाग्री ल्याउनका लागि २२ गते २ वटा फ्लाइट पठाउने योजना बनाएका छौ,’ उनले भने,’हामी तयार भएपछि चिनियाँ सप्लायर्सले ग्वान्जाओमा स्वास्थ्य सामाग्री पठाइदिन्छ। उसले छिटो सामान ल्याउन चार पटक फोन गरिसकेको छ। यहाँको प्रक्रिया मिलाउन परेकाले समय लागेको हो।’

ग्वान्जाओमा ल्याइसकेपछि अतिरिक्त शुल्क तिर्न पर्ने भएकाले सेनाले अहिले त्यहाँसम्म ल्याउन भनेको छैन। चीनबाट ल्याइने सामाग्री भने तयारी अवस्थामा रहेका छन्। पहिलो चरणमा ३६ देखि ४० टनसम्म सामग्री ल्याउने र बाँकी सामग्री आवश्यकताका आधारमा स्थल र हवाइ मार्गबाट ल्याउने सेनाको तयारी छ। सेनाले पहिलो चरणमा पिपिई, एन-९५ मास्क र पिसिआरका लागि किट्सलगायतका सामग्री ल्याउन लागेको छ।

सेनाले ३ सय ४१ टन स्वास्थ्य सामग्रीका लागि चिनियाँ सरकारी स्वामित्वको सिनो फर्मासँग सम्झौता गरिसकेको छ। स्वास्थ्य सामग्रीका लागि सेनाले १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर (करिब २ अर्ब नेपाली रुपैयाँ) पठाइसकेको छ। चैत १६ गतेको मन्त्रिपरिषदको बेठकले जिटुजि प्रक्रियाद्वारा स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो।

Facebook Notice for EU! You need to login to view and post FB Comments!