प्रदेशका सबै जिल्लामा विकास निर्माणको काम धमाधम चलिरहेको छः मन्त्री फुयाँल

मकवानपुर – वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले प्रदेशका १३ वटै जिल्लामा प्रदेश सरकारअन्तर्गत विकास निर्माणका काम धमाधम सञ्चालन भइरहेको बताएका छन् ।
त्रिभुवन राजपथको वैकल्पिक मार्गको रूपमा प्रदेश सरकारले निर्माण गर्दै गरेको सडक खण्डको अनुगमनका क्रममा रासससँग कुरा गर्दै मन्त्री फुँयालले मन्त्रालयले लकडाउनलाई अवरोधरहित विकास निर्माणका अवसरका रूपमा प्रयोग गरिरहेको बताए ।
लकडाउनका कारण युद्धस्तरमा काम गर्न नपाए पनि सामाजिक दूरी कायम गर्दै कामलाई निरन्तरता दिइएको मन्त्री फुँयालको भनाइ छ । वर्षायाम शुरु भएसँगै बाढी आउन सक्ने र धेरै काम भइसकेका योजनामा क्षति पुग्न सक्ने भएकाले सडक, ड्याम, पुल, पुलेसालगायत आयोजनाको निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने उनले बताए ।
निर्माणाधीन आयोजनाको प्राविधिकसहित टोलीले निरन्तर अनुगमन र निरीक्षण भइरहेको बताउँदै मन्त्री फुँयालले आफूसमेत बरम्बार अनुगमनमा निस्कने गरेको उल्लेख गरे । कतिपय आयोजनाको निरीक्षण र अनुगमनमा मुख्यमन्त्रीसमेत जानुभएको उनले जानकारी दिए । उनले लकडाउनका कारण बाहिरबाट आएका अधिकांश श्रमिक घर गएको भए पनि स्थानीय श्रमिकले अवसर पाएको बताए ।
सो अवसरमा मन्त्रालयका यातायात पूर्वाधार निर्देशनालयका प्रमुख सहदेव भण्डारीले लकडाउनले विकास निर्माणका काममा समस्या पारे पनि आयोजनाको कामलाई निरन्तरता दिइएको बताए । सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर आवश्यक सामग्रीको आपूर्ति गर्नुका साथै अन्य जटिलता चिरेर काम भइरहेको उनले जानकारी दिए ।
त्यस्तै पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख पुष्कर पोखरेलले हेटौँडाको राप्ती तटमा निर्माणधीन सडक तथा ड्यामको ‘लञ्चिङ’ को काम बर्खाअघि कुनै पनि हालतमा सक्नुपर्ने भएकाले काम सञ्चालन गरिएको बताए ।यसैबीच वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कमजोर बनाउन प्रतिपक्षसँगै पार्टीकै जिम्मेवार नेताहरु लागेको आरोप लगाएका छन् ।
आज रासससँग कुरा गर्दै नेकपाका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री ढुङ्गेलले कसैले चाहँदैमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नआउने बताए । ‘देशमा स्थिरता नचाहने केही व्यक्ति तथा समूहले के–के गर्दा सरकारलाई कमजोर बनाउन सकिन्छ, के–के गर्दा प्रधानमन्त्रीको कद होचो देखाउन सकिन्छ, त्यहीँ–त्यही गरिरहेका छन् तर सम्पूर्ण नेपाली जनताको आशा र भरोसाका केन्द्र ओलीको कद झन्–झन् उच्च हुँदैछ’, उनले भने ।
मन्त्री ढुङ्गेलले यो सरकारको पालामा जस्तो विकास कसैको पालामा पनि नभएको भन्दै भए देखाउन चुनौती दिए । नेकपा युवा नेताहरुलाई अपहरणकारीको आरोप लगाएको प्रति असन्तुष्टि जनाउँदै मन्त्री ढुङ्गेलले पूर्वमन्त्री डा सुरेन्द्र यादवलाई अपहरण गरिएको भनेर राजनीतिक मसला बनाउन खोजिएको बताए । मन्त्री ढुङ्गेलले वर्तमान समय आग्रह र पूर्वाग्रहबाट माथि उठेर सबै दल र नेतृत्व तथा आम नेपाली कोरोना भाइरसविरुद्ध अभियानमा एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखे । (रासस)