Oct 17, 2021

६ हप्तापछि स्पेनका सडकमा खेल्न थाले बालबालिका

Apr 27 , 2020

कोरोना भाइरसका कारण स्पेनमा निकै कडा लकडाउन लगाइएको थियो। तर ६ साता देखि जारी लकडाउन कोरोनाको संक्रमण कम भइरहँदा त्यहाँ लकडाउन पनि खुकुलो पार्न थालिएको छ।  यसरी खुकुलो भइरहेको लकडाउनको फाइदा आइतबार स्पेनका बालबालिकाले उठाए।

स्पेनले ६ हप्तापछि बालबालिकालाई बाहिर खुल्ला स्थान आउने अनुमति दिएपछि उनीहरूले त्यसको फाइदा उठाएका हुन्।  खुल्ला भएपछि उनीहरू कोही पैदल त कोही साइकल, त कोही स्केटबोर्ड र स्कूटरहरू लिएर पहिलेझैं बाहिर खेल्न निस्केका हुन्। स्पेन कोरोना भाइरसको विश्वव्यापी महामारीले बढी ग्रस्त देशहरू मध्येको एक हो।

तर महिना दिनदेखि संक्रमणका कारण दैनिकरुपमा हुने मृत्यु कम भइरहेको छ। मार्च १४ मा सरकारले आपतकालिन अवस्था घोषणा गरेपछि अधिकांश सार्वजनिक चहलपहल र आर्थिक गतिविधि बन्द रहँदै आएका छन्। यसपछि आइतबार मात्रै पहिलोपटक स्पेनले १४ वर्ष मुनिका बालबालिकालाई घर बाहिर निस्कने अनुमति दिइएको हो। अनुमति जारी भएसँगै उनीहरु म्याड्रिडका सडकहरुमा घुम्न थालेका हुन्।

तर बाहिर निस्कदा उनीहरुले अनिवार्य मास्कको प्रयोगसँगै सामाजिक दुरीलाई समेत ध्यान दिनुपर्नेछ। यसका लागि उनीहरुका अभिभावकले ध्यान पुर्याउनु पर्नेछ। हाल उनीहरुलाई दैनिकी एक घण्टामात्रै त्यसरी बाहिर बस्ने अनुमति दिइएको छ। उनीहरु खेल्दा र डुल्दा आफ्नो घरको एक किलोमिटर भित्र रहनुपर्नेछ।

स्पेनका विद्यालयहरू भने सबै बन्द छन्। स्वास्थ्य मन्त्री साल्भाडोर ईल्लाले परिवारहरुले सामान्यतया सामाजिक दुरीका नियमहरूको पालना गर्दैछन् तर उनले आउँदो दिनमा सरकारको निर्णय अनुसार र आवश्यक भएमा थप ‘मापदण्ड समायोजन’ गर्ने बताए। स्पेनमा कोरोना संक्रमित संख्या हालसम्म २ लाख ७ हजार ६३४ पुगेको छ भने संख्या २३ हजार १ सय ९० जनाको मृत्यु भएको छ। मृत्यु संख्याका आधारमा स्पेन संयुक्त राज्य अमेरिका र इटाली पछि तेस्रो स्थानमा छ।