Sep 27, 2023

‘ब्रिटेनस् गट ट्यालेन्ट’मा भीम निरौलाको ‘सन्डे मर्निङ लभ यू’ले गर्‍यो कमाल(भिडिओ)

Apr 26 , 2020

सात वर्ष अगाडि अक्टुवर १२ मा रिलिज भएको बेलायत निवासी नेपाली भीम निरौलाको ‘सन्डे मर्निङ’ गीत त्यति बेला खुबै भाइरल भएको थियो। सो गीत गायकीका कारणले भन्दा पनि त्यसको मनोरञ्जक पक्षका कारण दर्शकमाझ चर्चित बनेको थियो। सो गीतबाट रातारात चर्चामा आएका निरौला पुनः सोही गीतका कारण सात वर्षपछि चर्चामा आएका छन्। यसपटक यो चर्चा उनलाई बेलायतमा संचालन हुने रियालिटी शो ‘ब्रिटेनस् गट ट्यालेन्ट’को मञ्चले दिलाइदिएको छ।

आफूभित्र रहेका विभिन्न प्रतिभा प्रस्तुत गर्ने पाइने शो को १४ औं संस्करणमा सहभागी बनेका भिम निरौलाले त्यहाँ आफ्नो प्रस्तुतिबाट सबैलाई मनोरञ्जन दिन सफल भएका छन्। कार्यक्रमले निरौलाको प्रस्तुतिलाई आफ्नो आधिकारिक फेसबुक पेजमा छुट्टै ५ मिनेट बढीको क्लिप बनाएर पोस्ट गरेको छ।

सो पोस्टमा मानिसहरूले उनको गीतले दिने मनोरञ्जनलाई मनपराएको प्रतिक्रिया दिएको देख्न सकिन्छ। उनको यस गीतमा शोका संचालक, निर्णायक तथा उपस्थित दर्शक सबैले भरपुर मनोरञ्जन लिएको देखाइएको छ। भीमले पनि आत्मविश्वासका साथ आफ्नो प्रस्तुति पेस गरेका छन्।

अडिसनमा उनलाई साथ दिन उनकी पत्नी साथै पुगेकी थिइन्। प्रस्तुति दिनुअघि कार्यक्रममा उनलाई एक निर्णायकले के गर्दै हुनुहुन्छ? भनेर सोधेको प्रश्नमा उनले ‘मैले मेरी पत्नीका लागि लेखेको प्रेमगीत गाउँदैछु’ भनेका छन्

पेसाले होटल म्यानेजर रहेका ५४ वर्षिय निरौलाले त्यसपछि ‘सन्डे मर्निङ लभ यू’ भन्दै गाउन सुरु गर्छन्। उनको आवाज सुनेपछि निर्णायकमध्येका एक सिमन क्वेलले उनको गीतमा नाक खुम्च्याउँछन् र भीमले दोश्रो लाइन गाइनसक्दै आफ्नो अगाडी रहेको बजर बजाउँदै आफूलाई प्रस्तुति मननपरेको जनाउ दिन्छन्।

शोमा प्रतियोगीको काम मननपरे निर्णयकले बजर बजाएर मन परे-नपरेको संकेत गर्छन्। त्यसपछि पनि निरौलाले आत्मविश्वासका साथ आफ्नो प्रस्तुति जारी राख्छन्। तर व्यवसायिक गायकी नभएको गीतले दिने मनोरञ्जनको बाटोबाट उनी धेरैबेर अछुतो रहँदैनन् र हास्दै गीत रमाइलो लागेको प्रतिक्रिया उनको अनुहारमा देखिन्छ।

त्यसपछि शोका अर्का निर्णायक डेभिड वालियम्स आफ्नो कुर्सीबाट उठेर निरौलाको प्रस्तुतिमा रातो बत्ती बाल्ने सिमनकोमा पुग्छन् र जिस्काउन थाल्छन्। यसैगरी शोका अन्य दुई निर्णायक अमान्दा होल्डेन र एल्सा डिक्सनले ताली बजाएर गीतको मजा लिन्छन।

त्यसपछि कार्यक्रम संचालकले गीत गाइरहेका भिमलाई डोर्याउँदै निर्णायक भएको ठाउँमा लग्छन्। त्यहाँ सुरुमा उनले सिमनसँग हात मिलाउँछन्। त्यसपछि अन्य निर्णायकले पनि उनको गीतको तालमा नाच्दै पालैपालो उनीसँग हात मिलाउँछन्।

दर्शकदीर्घाबाट पनि यो मनोरञ्जनको खुराकका लागि राम्रो ताली बर्सन्छ। प्रस्तुति सकिएपछि सबैभन्दा पहिलो प्रतिक्रिया सिमनले दिन्छन्।

‘जति म तिमीलाई माया गर्छु त्यति नै म रेडियोमा यसलाई बजाएको कल्पना गर्न सक्दिन’ भन्ने प्रतिक्रिया दिन्छन् र उनको यो प्रतियोगितामा शोकी निर्णायक एल्साले सिमनलाई बिचमा काट्दै ‘त्यो टपक्प टिपिने खालको थियो’, भन्छिन्।

त्यसपछि सिमनले भिमलाई सोध्छन्, ‘मंगलबार, बुधबार, शुक्रवार, शनिबार, आइतबार, सोमबार के भयो?’

‘सबैदिन माया भयो, सँधै माया नै भयो’, भीमले जवाफ दिए।

उनको यो जवाफले दर्शकदीर्घाबाट ठूलै ताली बटुल्यो।

त्यसपछि बोलेकी शोकी अर्की निर्णायक अमान्दाले मेलेडी पनि आफ्नै हो भनेर सोध्छिन्। भिमले ‘हो’ भन्छन्।

त्यसपछि उनले मेलोडी मिठासपूर्ण भएको प्रतिक्रिया दिन्छिन्।

यसैगरी निर्णायक डेभिडले ब्रिटिस जनताले उनलाई मनपराउने प्रतिक्रिया दिए।

शोका दुई निर्णायकले अर्को चरणका लागि छानिएको जानकारी दिएपछि अर्की निर्णायक एल्साले सिमनको ‘नो’ले केही हुन्न दर्शकहरूले पनि मनपराइसके, तिमीले राम्रो गर्‍यौं भन्छिन्।

सिमन उनलाई छनौट गरिएकोमा आश्चर्य प्रकट गर्छन र दर्शकदीर्घातीर फर्कदै ‘तपाईंहरूलाई लाग्छ यो गीतबाट उसले जित्छ?

त्यसपछि डेभिडले उनलाई जिस्काउँछन्।

‘मलाई लाग्थ्यो तिमीलाई संगीतको बारेमा थाहा छ, तिमी संगीतको व्यापारको ठूलो खेलाडी हौं जस्रो लाग्थ्यो। सबैले यसलाई मनपराउँछन्।’

‘तिमीहरूको दिमाग गयो जस्तो छ’, सिमनले जवाफ फर्काउँछन्।

त्यसपछि डेभिस, एल्सा र अमान्डाले सिमनलाई सोही गीत गाउँदै जिस्काउँछन्।

उनको गीतले दर्शकलाई राम्रै मनोरञ्जन दिएको हुनुपर्छ, त्यसैले त उनी मञ्चबाट बाहिरिएपछि पनि पूरै दर्शकदीर्घाले गाउँछ, ‘आइ वाना लभ यू एभ्री डे।’

पछिल्लो विवरण अनुसार भीमको सो गीतको भिडिओलाई ६० लाख बढी पटक हेरिसकिएको छ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!