Oct 22, 2021

बाबुरामको मृत्यु हुँदा एउटा पनि भेन्टिलेटर थिएन, १५ दिनमै राखिए चार वटा

Apr 14 , 2020

कोरोना संक्रमणको आशंकामा बुटवलको अस्थायी कोरोना आइसोलेसन अस्पतालमा भर्ना भएका रूपन्देहीको सैनामैना बस्ने बाबुराम थापा क्षेत्रीको चैत १६ गते मृत्यु भयो।

उनलाई चैत ६ गते दुबईबाट आउँदा नै सामान्य ज्वरो थियो। लामो समय ज्वरो नबसेपछि उनको ट्राभल हिस्ट्रीलाई समेत हेरेर कोरोना संक्रमणको आशंकामा चैत १३ गते आइसोलेसनमा भर्ना गरिएको थियो।

आइसोलेसनमा भर्ना गरिएपछि औषधि चलाए पनि उनलाई निको हुनुको साटो स्वास्थ्य अवस्था झनै बिग्रँदै गयो। १६ गते बिहान श्वासप्रश्वासमा समस्या देखिँदै गएपछि आइसियूयुक्त अस्पतालमा लैजाने तयारी गर्दागर्दै बिहान ११ बजेतिर उनको मृत्यु भयो।

१५ दिनपछि उक्त अस्पतालको अवस्था बदलिएको छ। अहिले कोही बिरामीलाई बाबुरामको जस्तै अवस्था आयो भने अन्त लैजानु पर्ने चिन्ता छैन।  त्यहाँ अहिले चारवटा भेन्टिलेटरसहित आठ आइसियू बेड तयार भएका छन्।

कसरी तयार भेन्टिलेटरसहितका आइसियू बेड?

बुटवल रामनगरस्थित धागो कारखाना १२ वर्षदेखि बन्द थियो। ठूलो खाली जग्गासहितको भौतिक संरचना, पूर्वपश्चिम राजमार्गकै छेउ, एकान्त र हरियाली वातावरणबीचमा रहेकोले सोही स्थानमा कोरोनाको आइसोलेसन अस्पतालको निर्माण थालियो।

बुटवल उपमहानगरपालिकाको अगुवाइमा चैत ७ गते दिउँसो सुरू गरिएको एक सय बेडको आइसोलेसन अस्पताल बनाउने काम दुई दिनमै सकियो।

आइसोलेसन अस्पताल बनेपछि १० गतेदेखि नै कोरोना शंकास्पद बिरामी राख्न थालिएको थियो। सोही क्रममा चैत १३ गते  बाबुराम उक्त अस्पतालमा भर्ना भएका थिए।

दुबईबाट आएको उनको ट्राभल हिस्ट्री र उनमा देखिएका लक्षणका आधारमा कोरोना आशंका गरिएको भए पनि स्वाब परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आयो। उनलाई कोरोना पुष्टि नभए पनि उनको जस्तो अवस्थाका बिरामी जोकोहीलाई भेन्टिलेटर आवश्यकता पर्न सक्थ्यो। अझ कोरोना संक्रमितलाई त मुख्य रूपमा श्वासप्रश्वासमै समस्या हुने गर्छ।

प्रदेश सरकारले कोरोना अस्पतालको लागि दुई करोड रुपैयाँ दिएको थियो। पैसा भए पनि आइसियूको लागि बेड, भेन्टिलेटर, मनिटर, सक्सन मेसिन, डिफ्युलेटरलगायत उपकरण खरिद गर्न तत्काल सम्भव थिएन।

एकातर्फ देश लकडाउनमा थियो भने अर्कोतर्फ लाखौं मूल्यका उपकरण  किन्न टेण्डरमा जाँदा महिनौं पर्खिनुपर्थ्यो।

लुम्बिनी प्रादेशिक अस्पतालको ६ बेडको आइसियूमा दुइटामात्र भेन्टिलेटर थिए। कोरोनाको महामारी फैलिए भेन्टिलेटरको सहयोगमा उपचार गर्नुपर्ने अवस्था आउन सक्थ्यो। प्रादेशिक अस्पतालका बेड र भेन्टिलेटर आइसोलेसनमा ल्याउँदा अस्पतालमा अरू बिरामीलाई समस्या हुन्थ्यो।

आइसोलेसन अस्पतालको प्राविधिक नेतृत्व लिएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको तनाव बढ्दै थियो।

रकम खर्च गरेर भए पनि आइसियू निर्माण गर्न नसकेर छटपटिएको अवस्थामा अस्थायी भए पनि चारवटा भेन्टिलेटरसहितको आइसियू निर्माण गरिदिने दाता भेटिए।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले बुटवलसहित दाङको लमही र पाल्पाको तानसेनमा मिर्गौलाको डायलासिस सेन्टर चलाउँदै आएको छ। स्याङ्जाको वालिङमा पनि डायलासिस सेन्टर सञ्चालनको तयारी गरिएको थियो। भेन्टिलेटर, बेड, मनिटरलगायतका उपकरण बुटवल आइसकेका थिए।

मुटु अस्पतालका अध्यक्ष एजाज आलमले वालिङको लागि ल्याइएका चारवटा भेन्टिलेटरसहित आठ बेड तत्कालका लागि उपलब्ध गराउने बचन दिए।

‘विश्व कोरोनाको महामारीको अवस्थामा गइरहेको र नेपाल पनि अत्यन्त जोखिममा रहेकोले अहिले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणसँगै संक्रमितको उपचार गर्नु पहिलो प्राथमिकता हुन्थ्यो,’ आलमले भने,‘त्यही भएर हामीले हाम्रा सामान अस्पताललाई दिने निर्णय गर्‍यौं।’

आलमले नै आइसियू निर्माणको डिजाइनदेखि निर्माणको लागि अगुवाइ गरे। धागो कारखानाको भवनमा पहिलेदेखि नै पर्याप्त हल तथा कोठा थिए।

वर्षौंदेखि बन्द रहेकाले भित्ता तथा भुइँ मक्किएको हलमा आइसियू संचालन गर्नु उपयुक्त हुन्नथ्यो। त्यसलाई टायल, जिप्सन र रंगरोगन लगाएर चिटिक्क बनाइयो। यी सबै काम गरी उपकरण जडानसहित वातानुकुलित आइसियू कक्ष एक साताभित्रै निर्माण पूरा भयो।

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले आइसियू निर्माणमा उपकरणसहित दुई करोडभन्दा बढी लागत लागेको बताउँछन्। आइसियूका लागि एक करोड तीस लाखभन्दा बढीका उपकरण अस्थायी रूपमै भए पनि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले उपलब्ध गराएको छ।

‘खातामा भएको पैसा समेत खर्च गरेर उपकरण खरिद गर्न सक्ने अवस्था थिएन, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले गरेको सहयोगले नै आइसियू निर्माण गर्न सफल भइयो,’ भट्टराईले भने।

अहिले धागो कारखानाको पूर्वतर्फको भवनमा १ सय बेडको आइसोलेसन अस्पताल सञ्चालन गरिएको छ भने पश्चिमतर्फको भवनमा आइसियू निर्माण गरिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार आइसियू र आइसोलेसन अस्पतालमा रूपन्देहीका दर्जन बढी संघसंस्थाले आर्थिक तथा भौतिक सहयोग गरेका छन्।

आइसोलेसन अस्पतालमा ३० वटा शौचालय निर्माण व्यवसायी संघ रुपन्देहीले बनाइदिएको छ। विभिन्न ३७ वटा व्यवसायिक संघसंस्थाले २५ हजारदेखि ५ लाख रुपैयाँसम्म गरी ४१ लाख ४६ हजार रुपैयाँ सहयोग गरेका छन्।

बुटवलमा मात्र होइन प्रदेश ५ का अन्य कोरोना आइसोलेसन अस्पतालमा अहिले ११ भेन्टिलेटरसहित २३ बेडसहितका आइसियू बनाइएका छन्। आवश्यकता अनुसार आइसियू बेड थप्न सकिने प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले बुटवल, भैरहवा, दाङ र नेपालगञ्जका अस्पतालमा भेन्टिलेटरसहित आइसियू बनाइएको जानकारी दिए।

नेपालगञ्जको सुशिल कोइराला प्रखर क्यान्सर अस्पताललाई कोरोना अस्पतालको व्यवस्थापन तथा संयोजनसहितको जिम्मेवारी समेत लिएका मन्त्री चौधरीले नेपालगञ्जमा दुइटा भेन्टिलेटर र ६ वटा मनिटरसहितको आइसियू तयार गरिएको जानकारी दिए।

उनका अनुसार दाङको बेलझुण्डीमा दुइटा भेन्टिलेटरसहितको आइसियू र भैरहवा भीम अस्पतालमा तीन वटा भेन्टिलेटरसहित ५ बेडको आइसियू तयार भएको छ।

‘हामी सबैको पहिलो प्रयास सकभर निर्माण गरिएका संरचना र उपकरणहरू कोरोनाको कारण प्रयोग गर्न नपरोस् भन्ने नै हो, कतै फैलिइहाल्यो भने पनि कहाँ उपचार गर्ने भन्ने चिन्ताबाट थोरै भए पनि मुक्त भएका छौं,’ उनले भने।