May 28, 2023

बैतडीमा चार सय २५ को नमुना संकलन, डोटीमा स्वास्थ्य सामग्री पुग्यो

Apr 10 , 2020

धनगडी । क्वारेन्टाइनमा बसेका बैतडीका चार सय २५ जनाको थ्रोट स्वाब लिइएको छ । बिहीबार पुर्चौंडीको हाट, नकाली र गहताड र पञ्चेश्वरको कुलाउमा गरी चार ठाउँमा पुगेर स्वास्थ्य टोलीले नमुना संकलन गरेको हो ।

स्वाबको परीक्षण काठमाडौँमा हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । पुर्चौंडी नगरपालिकाको हाटमा एक सय ५९, नकालीमा ७१ र गहताडमा एक सय १३ जनाको थ्रोट स्वाब संकललन गरिएको हो ।

यस्तै पञ्चेश्वरको कुलाउमा ८२ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । पञ्चेश्वरमा मेलौली नगरपालिकाको क्वारेन्टाइनमा बसेका चार र शिवनाथ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १२ गरी ८२ जनाको स्वाब संकलन गरिएको हो ।

कोभिड–१९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा हेलिकोप्टरमार्फत स्वाब संकलनका लागि टोली बैतडी आइपुगेको हो । स्वाब सङ्कलनमा महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रयोगशालाका कर्मचारी, नेपाली सेनाका स्वास्थ्यकर्मी र स्थानीयस्तरका स्वास्थ्यर्मीको सहभागिता थियो ।

उता डोटीमा स्वास्थ्य सामग्री जिल्ला आइपुगेको छ । कोरोना भाइरसको नियन्त्रण अभियानमा संलग्न चिकित्सकका लागि स्थानीय सांसदको पहलमा पाँच लाख मूल्य बराबरको स्वास्थ्य सामग्री निःशुल्क प्रदान गरिएको हो ।

स्वास्थ्य सामग्री यहाँका नौ वटा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई वितरण गर्ने तयारी गरिएको छ । जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका चिकित्सक टोलीलाई पर्याप्त स्वास्थ्य सामग्री नहुँदा समस्या भएको थियो । डोटी पुगको स्वास्थ्य सामग्रीमा सेनिटाइजर २०० थान, पिपिइ (पर्सनल प्रोटेक्टेड इक्युपमेण्ट) ११० सेट, सुजकभर एकहजार जोडी, क्याप एक हजार जोडी, ग्लोब्स एकहजार २०० जोडी र मास्क एक हजार थान छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!