Oct 26, 2021

वार्षिक ११ अर्ब बढीको कारोबार गर्ने निम्बस पनि खाद्यान्नको अनलाइन व्यापारमा

Apr 07 , 2020

नेपालमा खाद्यान्न तथा कुखुराको दाना उत्पादनमा सक्रिय व्यवसायिक संस्था निम्बसले अनलाइन कारोबार सुरू गरेको छ।

कुखुराको दाना बनाएर उत्पादनमूलक उद्योग सुरू गरेको निम्बस प्रालि अहिले चामलबाहेक सबै खाद्यान्नको उत्पादन तथा व्यापारमा संलग्न छ।

खाद्यान्नमा चामलबाहेक सबै वस्तु आफैं उत्पादन गर्ने निम्बसले अनलाइनबाट उपभोक्तालाई विक्री गर्ने गरी निम्बस बजार डटकम सञ्चालनमा ल्याएको छ।

वर्षमा ११ अर्ब बढीको कारोबार गर्ने यो कम्पनीले ८ सय जनालाई रोजगारी दिएको छ।

यो समूहले  आफ्ना उत्पादनको वितरण सिधै गर्न अनलाइन कारोबारको योजना बनाइरहेको थियो।  यस्तो कारोबार २०७७ सालदेखि सुरू गर्ने पूर्वनिर्धारित योजना थियो।

निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया कोरोनाका कारण आगामी वर्षको दसैंअघि सुरू गर्ने योजना यही वर्षको चैतदेखि सुरू गर्नु परेको बताउँछन्।

‘हामीले आगामी आर्थिक वर्षको सुरूदेखि बजारमा जाने सोचिरहेका थियौं। तर कोरोनाले अगाडि नै सुरू गर्न बाध्य बनायो,’ बगरियाले भने।

सरकारले कोरोना संक्रमणको जोखिमबाट बच्न यात्रा तथा भीडभाडलाई कम गर्ने रणनीति लिएपछि पसलमै पुगेर उपभोक्ताले किन्न पनि पाउने अवस्था कम भयो। सरकारले लक डाउन नै घोषणा गरेपछि त झनै मानिसको आवतजावत ठप्पै भयो।

यसको सही विकल्प अनलाइन बजार हुने बगरियाले ठाने।

अनलाइन साइट बनाउने काम भइरहेकै थियो। यसअघि नै ढुवानी तथा अन्य कामका लागि गाडी तथा चालक पनि थिए।

‘अनलाइनमा जाने सही समय यही हुन्छ भन्ने लाग्यो। हाम्रो वेबसाइट त पूर्ण छैन। तर पनि ग्राहकको अर्डर लिने र डेलिभरीका लागि हामीले यसैबीच प्रणाली खडा गर्‍यौं,’ बगरियाले भने।

निम्बस बजार डटकम उनको ई-कमर्स साइटको ठेगाना हो। यसमा गएर उपभोक्ताले आफूलाई चाहिएको सामग्री अर्डर गर्न सक्छन्। अर्डर गरेपछि त्यसको ढुवानी घरसम्म हुनेछ।

‘सोचेभन्दा अगाडि नै ल्याउनु पर्दा निम्बस बजार जसरी आउनेवाला थियो, त्यसरी त आएन। तर पनि न्यून गुनासो आउने गरी हामी काम गर्छौं,’ उनले भने।

कोरोनाका कारण छिटो आएको उनको यो साइटबाट दाल, चामल, तेल, साबुन र मास्क पाइन्छ।

कोरोनाका कारण अनलाइन व्यापारमा छिटो आए पनि अर्बौं लगानीमा निर्माणाधीन कोल्ड स्टोरेज तथा अन्य विस्तार काम भने पछाडि धकेलिएका छन्।

निम्बसमात्र होइन कृषिमा महत्वकांक्षी योजना बनाइरहेको गोल्यान समूहले पनि आफ्ना उत्पादनलाई अनलाइन तथा फोनको माध्यमबाट अर्डर लिएर डेलिभरी गर्न थालेको छ।

माटो ब्रान्डमा तरकारी तथा फलफूल विक्री गरिरहेको गोल्यान समूहले आफ्ना नजिकका स्टोरबाट डेलिभरीको सुविधा दिइरहेको छ।

अहिले उसले भ्यान प्रयोग गरेर केही निश्चित ठाउँमा तरकारी बेच्ने काम गरिरहेको छ।

कोरोना संक्रमणको जोखिम बढेपछि कृषि उत्पादकमात्र होइन तरकारी तथा खाद्यान्नको व्यापारमा अनलाइन ट्रेण्ड बढिरहेको छ।

बजारमा खाद्यान्नको व्यापार गर्न भन्दै अनलाइन प्लेटफर्म विकास गरिरहेका तर सुरू नगरेका कैयौंले यो बीचमा अनलाइन कारोबार सुरू गरेका छन्।

देशभर आफ्ना चेन भएका ठूला स्टोरहरूले पनि अनलाइन कारोबार यहीबेला अघि बढाएका छन्।

बिग मार्टले दराज डटकमसँगको साझेदारीमा अनलाइन कारोबार गरिरहेको छ भने सेल्सबेरी तथा भाटभटेनीले पनि लिमिटेड अनलाइन कारोबार अघि बढाएका छन्।

विश्वव्यापी रूपमै लकडाउनका कारण अनलाइन कारोबार बढ्ने, सम्पर्कविहीन व्यवसाय फस्टाउने भविष्यवाणी भइरहेका छन्।